|

पाँचथर : पाँचथरको आरूबोटेमा भएको नौजनाको हत्याकाण्डमा सुक्ष्म अनुसन्धान थालेको प्रहरीले हत्यामा संलग्नताको आशंका गरिएका मानबहादुर माखिमबाहेक अरू कसैको संलग्नता थियो कि थिएन भन्ने बलियो प्रमाण जुटाउन सकेको छैन।

स्थानीयले एकैजनाले दुई घरमा गएर ९ जनाको हत्या गर्न नसक्ने भन्दै अरू कसैको संलग्नताको दावी गरिरहेका बेला घटनाको अनुसन्धानमा रहेको प्रहरीले भने भरपर्दो कुनै सबुत प्रमाण जुटाउन नसकेको हो।

घटनाको अनुसन्धान प्रहरी उपरीक्षक उमा चतुर्बेदी नेतृत्वको केन्द्रीय अनुसन्धान ब्युरोसहित १ नम्बर प्रदेशको संघीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पाँचथरले संयुक्त रूपमा पाँच दिनदेखि गर्दै आएको छ।

पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले घटनामा मानबहादुरबाहेक अरूको संलग्नताबारे प्रमाण नभेटिएको बताए। उनले मानबहादुर झुण्डिएर मृत फेला परेको मिक्लाजुङको वडा नम्बर ८, हंसारिको मालबासे जंगलमा भेटिएको रगत लतपतिएको दापसहितको खुकुरी, टिसर्ट आदिलाई परीक्षणका लागि पठाइएकाले त्यसपछि थप भन्न सकिने बताए।

गत सोमबार राति मिक्लाजुङ ३, आरुबोटेका ७५ वर्षीय बमबहादुर फियाक, उनकै श्रीमती ७५ वर्षीया पुर्सीमायाँ फियाक, ४१ वर्षीय ज्वाइँ धनराज शेर्मा, उनकै श्रीमती ३६ वर्षीया जस्मिता फियाक शेर्मा, कान्छी छोरी २६ वर्षीया मनकुमारी फियाक माखिम, नातिनीहरू १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा, ८ वर्षीया इक्सा शेर्मा र १० वर्षकी आशिकाकुमारी खजुमको खुकुरी प्रहार गरी हत्या भएको थियो।

प्रहरीले हत्यामा संलग्नता बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको रहेको दावी गरेको छ। उनी पनि गत मंगलबार मृत फेला परेका थिए।

उक्त घटनामा १२ वर्षीया सीता खबुज भागे ज्यान बचाउन सफल भएकी छन्। भाग्ने क्रममा घाइते भएकी सीताको अहिले झापाको दमकस्थित अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.