एक हजारजना अट्ने भवनमा पुस्तकालयदेखि संग्रहालयसम्म

|
संघीय संसद भवनको नक्सा

काठमाडौं : संघीय संसदको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। सहरी विकास मन्त्रालयले आइतबारदेखि संघीय संसदको आफ्नै भवन निर्माण प्रक्रिया अगाडि बढाएको हो।

भवन निर्माणको जिम्मा पाएको मन्त्रालयले टेन्डर आह्वान गरेर संघीय संसदको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए।

हाल संघीय संसदका राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएका छन्। जसको भाडा सरकारले वार्षिक १५ करोड रुपैयाँ तिरिरहेको छ।

पहिलो संविधानसभा २०६५ देखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद संचालन हुँदै आएको हो। सिंहदरबारभित्रको भवन संविधानसभा गठनपछि सानो भएको थियो। २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि विकल्पमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा प्रयोग भइरहेको हो।

संघीय संसद भवनको नक्सा

सिंहदरबारको पुतली बगैँचामा निर्माण हुने नयाँ संघीय संसद भवनको लागत करिब ६ अर्ब लाग्ने सहसचिव दवाडीले जानकारी दिए। उनले भने, 'तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित टेन्डर आह्वान भएको छ।'

राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना अन्तर्गत संसद भवन निर्माण हुन लागेको भएकाले थप बजेट आश्यक भए विनियोजन गरिने प्रवक्ता दवाडीले जानकारी दिए। संघीय संसद भवन निर्माणका लागि गत चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको थियो। नयाँ आर्थिक वर्षमा संघीय संसद भवनलाई 'विशेष भवन निर्माण आयोजना' अन्तर्गत राखिएको छ। निर्माण हुने संसद भवनको नक्सा डिजाइन गत पुस महिनामै पूरा भइसकेको थियो।

नयाँ भवनमा प्रिन्टिङ प्रेसदेखि बैठक हलसम्म

संघीय संसद भवन सुविधासम्पन्न हुने सहरी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले तयार पारेको नक्साअनुसार भव्य भवनमा राष्ट्रियसभा र प्रतिनिधिसभाका लागि दुई बैठक कक्ष रहने छन्। त्यसैगरी अन्य सुविधा प्रिन्टिङ प्रेसदेखि भिभिआइपीका लागि कार्यालयको सुविधा रहनेछ।

भवन निर्माणका लागि तयार पारिएको जमिनलाई चार क्षेत्रमा विभाजन गरिने योजना तयार भएको छ। जसको २७ प्रतिशत क्षेत्रमा भवन भौतिक संरचना, ४५ प्रतिशत क्षेत्रफल हरियाली र बाँकी क्षेत्रफलमा पानीको फोहोरा तथा सडक रहने छ।

राष्ट्रियसभाको बैठक कक्ष २९० मानिस अट्ने क्षमताको हुनेछ। त्यसैगरी प्रतिनिधिसभाका लागि भने ७०० मानिस अटाउने क्षमताको बैठक कक्ष रहनेछ।

संसद भवनमा पुस्तकलाय र संग्रहालय पनि निर्माण गरिने योजना तयार भएको छ। अहिले संसद भवनको व्यवस्थित लाइब्रेरी छैन। सांसदहरूका लागि संघीय संसद सचिवालय सिंहदरबारको दोस्रो भवनमा पुस्तकलाय छ। नयाँ भवनभित्रै संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका लागि व्यवस्थित कार्यालय उपलब्ध हुनेछन्। जसमा दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतकलगायतका प्रतिनिधिका लागि छुट्टाछुट्टै कक्ष पनि रहनेछन्।

संघीय संसद भवनको नक्सा

संघीय संसद भवनभित्रै संसदीय समितिका कक्ष पनि रहनेछन्। संसद सचिवालय पनि संसद भवनभित्रै रहनेछ। सुरक्षाकर्मीका लागि व्यवस्थित कक्ष निर्माण गरिनेछ। एक व्यवस्थित क्यान्टिन पनि संसद परिसरभित्रै रहनेछ।

संसद परिसर प्रवेशका लागि तीन ढोका हुनेछन्। जसबाट भिभिआइपी, सांसद र कर्मचारीलाई छुट्टाछुट्टै प्रवेशको व्यवस्था हुनेछ। पार्किङको सुविधा पनि पर्याप्त हुने गरी डिजाइन तयार भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.