कम्पनी भन्छ : मन्त्रालयले हचुवामा निर्णय लियो

|

काठमाडौः तामझामकासाथ प्रधानमन्त्रीले उद्घाट गरेका बिजुली बस थन्किएका छन्। मापदण्ड र सम्झौता विपरीत पाइएपछि बिजुली बस नक्सालस्थित बीवाइडी कम्पनीको प्राङ्गणमा थन्किएका हुन्।

पेट्रोलियम सवारीबाट वाक्क राजधानीबासीलाई राहत दिन भन्दै ल्याइएका बिजुली बस गुड्नै नपाइ थन्किएका हुन्। बिजुली बस चलाउन सके एकातिर पेट्रोलियमा हुने खर्च जोगिन्छ भने मानिसको स्वास्थ्यमा पनि धुवाँले असर गर्ने थिएन। अहिले थन्किएका बिजुली बसको उद्घाट प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ६ गते उदघाटन गरेका थिए।

लुम्बिनीमा चलाउन भनेर ल्याइएका पाँचवटा बस चिनियाँ विद्युतीय बस निर्माता कम्पनी बीवाईडीको नेपालस्थित सम्पर्क बिवाइडीको  कार्यालय नक्सालमा राखिएको छ। लुम्बिनी विकास कोषले पर्यटकको आवतजावतमा सहजताका लागि उक्त बस ल्याएको थियो ।

एसीयाली विकास बैंकको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो। बीवाइडी कम्पनीसँग पर्यटन मन्त्रालयले १० करोडमा पाँचवटा बस किनेको थियो।

बिजुलीबाट चल्ने बस वातावरणीय दृष्टिले सुरक्षित र भरपर्दो मानिन्छ। तर प्रमले उद्घाटन गरेका बस अहिले कम्पनीमा अलपत्र छन्। यी बस काठमाडौँका सडकमा गुड्नेबारे अन्योल छ। 

उदघाटन भएपछि काठमाडौंमा बिजुली बस कुद्ने अनुमान गरिएको थियो । उदघाटनको ६ महिना बितिसक्दा पनि बिजुली बस कम्पनीमै थन्किए। मापदण्ड विपरीत र प्राविधिक त्रुटी भएको जनाउँदै सरकारले नै ती बिजुली बस सञ्चालनमा रोक लगाएपछि यस्तो अवस्था आएको हो। यी बस लुम्बिनीमा पूर्वाधार तयार नहुन्जेल साझा यातायातले काठमाडौंमा चलाउने गरी निर्णय भएको थियो ।

मापदण्ड विपरीत

पर्यटन मन्त्रालयले तोकिएको मापदण्डभित्र नपर्दा बिजुली बस सञ्चालनमा रोक लगाएको हो। काठमाडौंमा चिनियाँ बिजुली बस गुडाउने सम्झौता भएको थियो। तर भारतमा ‘एसेम्बल’ गरिएको बस ल्याएको पाइएपछि पर्यटनले रोकेको हो। बिजुली बसमा मन्त्रालयले १७ वटा कमजोरी देखाएको छ । 

'हामीले गरेको सम्झौता अनुसारको मापदण्डमा यी बस परेनन्', पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने, 'नेपालले तोकेको मापदण्ड पुरा नगरेपछि यी बस गुड्न दिने कुरो भएन।'

उनका अनुसार बसमा धेरै प्राविधिक त्रुटी छन्। 'मन्त्रालयले उक्त बस ग्रहण गरेको छैन', उनले भने, 'प्राविधिक टोलीले त्रुटी देखेको छ।१७ वटा त्रुटीलाई हटाएर मात्रै चलाउन सकिने भनेका छौँ।'

बसमा देखिएका त्रुटी अझैसम्म नसच्याइएको उनले बताएका छन्। यी बस चीनमै नबनेका, तौल,ब्याट्री र कुर्सीमा समेत समस्या रहेका उनले बताए। सम्झौताबिपरित ल्याएका बिजुली बस त्यहीकारण मन्त्रालयले जिम्मा लिन नसकेको उनले बताए। 

बिवाइडी कम्पनी के भन्छ?

नेपालमै पहिलोपटक ल्याइएका हुन् विद्युतीय बस। बिजुली बस नचलाएर नेपालले ठूलो अवसर गुमाइरहेको दाबी बीवाइडी कम्पनीका नेपालस्थित प्रतिनिधि साहिल श्रेष्ठले गरेका छन्। 'नेपालमा बिजुली बसको मापदण्ड मापन गर्ने केही संयन्त्र छैन', उनले भने,'बिजुली बसको मापदण्डको मापन गर्ने विज्ञ को छ त यहाँ ?' सम्झौता अनुसार बिजुली बसको मापन नगरिएको उनको दाबी छ। मन्त्रालयबाट आएका प्राविधिक टोलीले परीक्षण गरेर मात्रै प्रधानमन्त्रीले उद्घाटन गरेको दाबी उनले गरे।

मन्त्रालयले भने जस्तो बसको ब्याट्रीमा कुनै समस्या नरहेको उनी बताउँछन्। 'बसको महत्वपूर्ण भाग ब्याट्री हो, यी बसका ब्याट्री कसरी कमजोर भए?,' उनले प्रश्न गरे, 'ब्याट्रीमा शतप्रतिशत चार्ज छ। अहिले पनि मजाले बस चलिरहेको छ ।'

मन्त्रालयले कम्पनीलाई जानकारी नदिइ बसको परीक्षण गरेको श्रेष्ठको दाबी छ। कम्पनीको प्रतिनिधि नराखी एकलौटी परीक्षण गरेकोमा उनले आपत्ति जनाए। 

भारतबाट तेस्रो पक्षका सवारीसाधन परीक्षण प्रतिनिधि आउँदा पनि मन्त्रालयका अधिकारी नआएको उनले गुनासो गरे। कम्पनीले नेपालमा ल्याएका बसमा कुनै समस्या नरहेको जिकिर उनले गरे।

'चीनबाटै ल्याएका बस हुन्। तीन माहिना भन्सारमा बसेका थिए। नटमा खिया लागेको थियो', उनले भने, 'सिट परिवर्तन गरिदिन्छौँ भन्दा पनि मन्त्रालय मानेन।'

नटमा खिया लाग्दैमा त्यसलाई त्रुटी भन्‍न नसिकने उनले बताए। 'नटमा खिया लाग्दा कसरी त्रुटी हुन्छ?,' उनले भने,'भुक्तानी ढिलो गर भन्दा पनि मन्त्रालय मानिरहेको छैन।'

अहिलेसम्म यी बसको रकम नै नपाएको उनले बताए। बस सञ्चालन गर्न पर्यटन मन्त्रालयमा कम्पनीले पत्र पठाइसकेको छ। 'एक हप्तामा केही निर्णय देलान् भन्‍ने आशमा छौँ', श्रेष्ठले भने। थन्किएका बसलाई निजी कम्पनीले काठमाडौंमा चलाउन खोजिरहेको पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.