|

सिन्धुली : धरान–चतरा–सिन्धुली–हेटौँडा (मदन भण्डारी) राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–८ स्थित खोरभन्ञ्याङमा सोमबार बिहान भेटिएको शंकास्पद बस्तु नक्कली बम भएको पुष्टी भएको छ । 

सिन्धुलीको दुधौलीस्थित खोरभन्ञ्याङमा सकेट बम जस्तो देखिने शंकास्पद बस्तु नक्कली ‘होक्स’ भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

दुईवटा सकेटबम जस्ता देखिने शंकास्पद बस्तुमा रातो कालो तार जोडिएको र बन्द सफल पारौं जस्ता लेखिएका पर्चा पनि भेटिएपछि प्रहरीले बमको आशंका गरेको थियो । 

उक्त शंकास्पद बस्तु उदयपुरस्थित बेलसोतबाट आएका नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा नक्कली बम भएको पुष्टि भएको सिंहले बताए । 

सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेको छ । शंकास्पद बस्तु भेटिएपछि स्थानीयमा त्रास छाएको थियो ।  

बन्दको दिन जिल्ला सदरमुकाम माढीबजार तथा बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा आंशिक प्रभाव परेको छ । बन्दले जिल्लावासीको जनजीवन प्रभावित भए पनि अहिलेसम्म अप्रिय घटना भएको छैन । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.