|

चितवन : विप्लवको नेपाल बन्दले साेमबार देशैभरको जनजीवन प्रभावित भइरहेका अवस्थामा चितवनमा बिहानै ठूलो संख्यामा सेतो टिसर्टधारीको र्‍याली निस्कियो।

बन्दले सवारीसाधन नगुड्दा खाली देखिएको नारायणगढको मुख्य सडकमा एकाएक र्‍याली निस्किँदा धरैजना अचम्मित बने। तर त्यो कुनै बन्दको समर्थन र विरोधमा नभई पत्रकारको पूर्वनिर्धारित कार्यक्रम थियो। प्रेस युनियन चितवनले आफ्नाे स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजतवर्षको सुभारम्भ कार्यक्रम वाकाथन र्‍याली निकालेको हो।

भरतपुरको चौबीसकोठीदेखि लायन्सचोक हुँदै पुलचोकसम्म वाकाथुन र्‍याली निकालेर युनियनले रजत वर्षको शुभारम्भ गरेको छ। प्रेस युनियनमा आवद्ध पत्रकारसँगै जिल्लामा क्रियाशील पत्रकारको बाक्लो उपस्थिति रहेको सो वाकाथुनमा प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती साह, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सयौँको संख्यामा सहभागिता रहेको थियो। 

युनियनले रजतजयन्तिको अवसरमा यसवर्षलाई रजतवर्षका रुपमा मनाउने घोषणा गर्दै वर्षभरिका विभिन्न कार्यक्रम सार्वजनिक गरिसकेको छ। कार्यक्रम सम्पन्न गराउन युनियनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा १५१ सदस्यीय मुल आयोजक समिति पनि गठन गरेको छ।

सोमबारबाट सुरु भएको रजतवर्ष अन्तर्गतका अन्य कार्यक्रमहरूमा जिल्लाका सरकारी निकायका सूचना अधिकारीसँग पत्रकारको अन्तरक्रिया, महिला पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण, अन्तरमिडिया फुटसल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, भ्रमण वर्ष २०२० लक्षित कार्यक्रम गर्ने, वातावरण संरक्षणसम्बन्धी सचेतना अभियान रहेका छन्।

यस्तै श्रमजिवी पत्रकारको अवस्था र कार्यान्वयन विषयमा अन्तरक्रिया, खुल्ला फोटो प्रतियोगिता, अग्रज पत्रकारलाई सम्मान, पत्रकारका लागि आँखा, दन्त परिक्षण, इच्छाकामना गाँउपालिकामा स्वास्थ्य सिविर, क्यान्सर सचेतना कार्यक्रम गरी रजत स्तम्भ अनावरण, स्मारिका विमोचनसँगै समापन गरिने युनियनले जनाएको छ।२०४८ साल जेठ १३ गत्ते केन्द्रीय समिति गठन भएको युनियनको जिल्ला समिति २०४९ सालमा स्थापना भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.