उद्योगमन्त्रीले बुधबार उद्घाटन गर्ने

|

सिन्धुपाल्चोक : विनाशकारी भूकम्पपछि बन्द तातोपानी नाका चार वर्षपछि खुल्ने भएको छ । नाका औपचारिकरुपमा भोली (बुधबार) बाट सञ्चालन ल्याइने तयारी भइरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृका यादवले नाकाको उद्घाटन गर्ने भएका छन् ।

नाकामा सामान लिन ४ वटा कन्टेनर खासा गइसकेको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले थाहाखबरलाई जनाए । ‘नाका सञ्चालनका लागि तीव्र गतिमा काम भएको छ। सुरुमा ऊन ल्याएर नाखा खुल्ला भएको घोषण गरिनेछ’, पौडेलले भने। 

दशजना सामान लोड गर्ने मजदुरसहित चारवटा कन्टेनर सामान लिन खासा पुगेको अध्यक्ष पौडेलले बताए । ‘नेपाल–चीन मितेरी पुल निर्माण भइसक्न बाँकी नै छ। अहिले पुलमुनिको कच्ची सडक हुँदै कन्टेनर खासा गएका छन् । बुधवार ती कन्टेनर ऊन लिएर नेपालमा नाका खुल्नेछ,’ उनले भने ।

तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर नाका क्षेत्रमा काम सुरु भसकेको छ । नाका नखुल्दा नाकासँग आश्रित हजारौं स्थानीय, व्यापारी, व्यवसायी र मजदुरको रोजिरोटी खोसिएको थियो । जुरे पहिरोबाटै ठप्प भएको नाका चार वर्षपछि खुलेको छ । 

नाकासँग आश्रित भएकाहरुको जनजीवन पुनः सुचारु हुनेछ । दैनिक दुई करोडभन्दा धेरै राजस्व संकलन हुने नाका बन्द भएपछि हुँदा अर्बौंको राजश्व गुमेर देशलाई घाटा परिरहेको छ । 

नाकाबाट जीवन निर्वाह गर्दै आएका साना ठूला व्यवसायी, मजदुर, व्यापारीसमेत चार हजार भन्दा बढी प्रत्यक्ष मारमा परेका थिए । नाका आसपास करोडौंको लगानीमा खोलिएको होटल अहिले विस्तारै लयमा फर्कर्दै छ । 

नाका बन्द हुँदा यो मार्ग हुँदै चीनको मानसरोबर भ्रमणमा जाने विदेशी पर्यटक शून्यमा झरेका थियो । तातोपानी धारामा स्थान गर्ने, बन्जी जम्प गर्ने, र्‍याफ्टिङ गर्ने आन्तरिक र बाह्य पर्यटकहरु आउने घटेका थिए । तर, नाका सञ्चालनमा आएपछि सिमाक्षेत्रमा खुसी छाएको छ । नाकामा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा चहलपहल सुरु भइसकेको छ । 

तातोपानी, कोदारी लिपिङ तीनैवटा बजारका पुराना व्यवासायी फर्कन थालेका छन् । चिनियाँ कम्पनी चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी (सिआरसीसी) ले अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुक्खा बन्दरगाह र कोदारी राजमार्ग अन्तर्गगतको सडक निर्माण गरिसकेको छ । तातोपानी नाका सञ्चालनमा आएपछि सिन्धुवासिको मात्रै नभएर सिंगो मुलुकको आर्थिक अवस्थामा सुधार आउनेछ । 

यो नाकाबाट यसअघि सुन र रक्तचन्दन तस्करीसहितका अवैध क्रियाकलाप हुने गरेका थिए । तर, अब अपराधिक क्रियाकलाप हुन नदिन शनिबार नाका क्षेत्रमै पुगेर गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

तातोपानी नाका सञ्चालनको लागि पछिल्लो चारणमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटाले पहल गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.