प्रजिअ भन्छन्- वैदेशिक रोजगार, गरिबी र प्रविधिको दुरुपयोग मुख्य कारण

|

पाँचथर : जन्मेपछि मृत्यु निश्चित छ। तर ‘कहिले’ भन्ने चाहिँ अनिश्चित छ। यद्यपि, मानिस सम्भवतः सबैभन्दा बढी मृत्युदेखि नै डराउँछन्। बचाइदिन बारबार भगवानसँग प्रार्थना गर्छन्। तर केही मानिस जानीजानी आफ्नो जीवनको अन्त्य आफैँ गर्न चाहान्छन् र अन्ततः आत्महत्या गर्छन्। सुदूरपूर्वको पहाडी जिल्ला पाँचथरमा यसरी आत्माहत्या गर्नेको तथ्यांक उल्लेख्य देखिएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अनिलकुमार पौडेल चालू आर्थिक वर्षको जेठ १२ गतेसम्म २८ जनाले आत्महत्या गरेको बताउँछन्। उनका अनुसार झुण्डिएर २५ जना र विष सेवन गरेर ३ जनाले आत्माहत्या गरेका छन्। यसअघि, आर्थिक वर्ष २०७२\०७३ मा २७ जना, २०७३\०७४ मा ४९ जना र २०७४\०७५ को १० महिनाको तथ्यांकअनुसार ३३ जनाले आत्महत्या गरेको देखिन्छ। यस तथ्यांकलाई विश्लेषण गर्दा मासिक सरदर ३ जनाभन्दा बढीले आत्महत्या गर्दै आएको देखिन्छ।

आत्महत्याको मुख्य कारण वैदेशिक रोजगार, आर्थिक विपन्नता र प्रविधिको दुरुपयोग

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुरारी बस्तीले आत्महत्याको मुख्य कारण वैदेशिक रोजगार, आर्थिक विपन्नता, प्रविधि (सामाजिक सञ्जाल) को दुरुपयोग र आपसी आर्थिक लेनदेन देखिएको बताउँछन्। ‘म कसका लागि बाँचेको छु? मेरो जन्म पटकपटक हुन्छ कि हुँदैन? अरू कसरी बाँचेका छन्?’ प्रजिअ बस्तीले भने, ‘आफूलाई नै प्रश्न गर्दै भौतिक सुखसयलको सोच त्यागेको खण्डमा सहज जीवनयापन हुन सक्छ।

यहाँ त आत्महत्या अति नै भो।’ गीतमा प्रयुक्त वाक्य ‘अर्को जुनी लिउँला’ भनेजसरी कसैले अर्को जुनी लिँदैनन्। यो धुव्रसत्य हो। तर, जीवनप्रति वैरागिएर निराश हुने,जीवनमा बाँच्नुको आवश्यकता नठान्ने र समाजमा सहयोगविहिनताको महसुस गरी डिप्रेसनको शिकार भएर अन्नतः आत्महत्या गर्नु विल्कुल ठिक होइन।'

मनोरोग विशेषज्ञहरूका अनुसार आत्महत्या गर्ने वा गर्न प्रयास गरेकामध्ये ९५ प्रतिशतसँग कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ। बाँकी ५ प्रतिशतले भने एक्कासि सिर्जना भएको तनावपूर्ण अवस्था र तनावसँग लड्न नसकेर आत्माहत्या गर्छन्। विशेषतः मानसिक रोग बढ्दै जाँदा आत्मालाई हानी गर्ने सोच आउने, भावनात्मक रुपमा परिवर्तन आउने र त्यसपछि आत्माहत्या योजना बनाउने गर्छन्।

त्यस्ता मानिसलाई आत्माहत्याको मुखबाट बचाउन मनोरोग विशेषज्ञहरू घरपरिवारका सदस्यले सकारात्मक सोचहरू विकास गर्ने, दैनिक रूपमा मर्निङ वाक गराउने, मनोरञ्जनात्मक कार्यमा भुलाउने र सकिने काम गराउँदा आत्माहत्याको सोच हट्ने सुझाउँछन्। ‘मानसिक रोग लागेपछि विकल्प मृत्यु होइन, विकल्प त उपचार हो। उपचार गर्दै परिवारका सदस्यले निगरानीमा राखेर सकारात्मक सोच विकास गराउनेसँगै जीवनको मुल्य सिकाउनुपर्छ।’ मनो–सामाजिक परामर्शदाता राजेन्द्र काफ्लेले भने, अमूल्य जीवनलाई केही घटनाक्रमले विक्षिप्त बनाए पनि अरू विकल्पलाई सोच्नुपर्छ।’

नेपाल प्रहरीले वार्षिक रूपमा प्रकाशन गर्दै आएको वार्षिक प्रतिवेदनअनुसार मुलुकभर आर्थिक वर्ष २०७२\०७३ मा ४ हजार ६ सय २० जना, २०७३\०७४ मा ५ हजार ९४ जना र २०७४\०७५ मा ५ हजार ३ सय ४६ जनाले विभिन्न कारणले आत्महत्या गरेको देखिन्छ। आत्माहत्या न्यूनीकरणको क्षेत्रमा सक्रिय संस्था टीपिओ नेपालका अनुसार सन् १९९० को दशकको तुलनामा आत्माहत्या मुलुकमा ६० प्रतिशतले बृद्धि भएको छ।

यसले गर्दा सरकारले आत्महत्या न्यूनीकरणका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यकता रहेको मनो–सामाजिक परामर्शदाता काफ्ले बताउँछन्। ‘बाँच्ने कसरी? किन बाँच्ने? यो सिकाउनुपर्छ नागरिकलाई।’ उनले भने, ‘अब तीन तहकै सरकारले अभियानकै रूपमा आत्माहत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न जरूर छ।’ प्रहरी प्रतिवेदनअनुसार आत्महत्या गर्नेमा पिरतीमा धोका खाएर उदास भएकादेखि दीर्घ रोगीसम्म छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.