फिचर

पौरखले फेरिएको छविलालको ‘छवि’
SHARES

वेद बाँसबाट मनग्य आम्दानी

जेठ २५, २०७६

    ‘आहा ! कस्तो राम्रो वेदको कुर्ची।’ धनगढीको एक होटेलमा सजाएर राखिएको वेद बाँसबाट निर्मित कुर्ची र टेबल देखेर एक जनाले प्रतिक्रिया दिए। ‘कसले बनाएको ?’ उनले सोधे।

    ‘छविलालले बनाएका हुन्, उनी अपाङ्ग छन्’ होटेल सञ्चालकले भने। हिँडडुल गर्न पनि अरूको सहारा चाहिने एक व्यक्तिले अरूलाई सहारा दिने यस्ता राम्रा सामग्री कसरी बनाउँछन्, मनमा जिज्ञासा पलायो। छविलालको सीप र मेहनत नियाल्न धनगढीदेखि पुग्यौँ उनको घरसम्म। 

    पूर्वपश्चिम राजमार्गको करिब ५० किलोमिटर कुदेपछि प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा पुगिन्छ। त्यसको १ किलोमिटर पूर्व उनै परिश्रमी छविलालको घर भेटियो। राजमार्गसँगै रहेको सानो टहरोमा उनले तीन प्रकारको व्यापार चलाइरहेका रहेछन्। ‘का लैजाइना हो ?’ उनले आफ्नै भाषामा एक ग्राहकलाई सोध्दै थिए। फाट्टफुट्ट ग्राहकहरूको चहलपलह थियो। दुई हात र दुई खुट्टाले भुइँमा टेकेर छविलाल यता–यता गरिरहेका थिए।

    ‘यसरी हिँड्दा गारो हुँदैन ?’ अर्का ग्राहकले सोधे। ‘गारो भए पनि के गर्नु हजुर गुजारा चलाउनै पर्‍यो’ उनले भने। यो प्रतिउत्तर बाटै उनलाई परेको समस्या अनुमान लगाउन सकिन्थ्यो तर, उनको मेहनत र जाँगर भने असामान्य थियो।

    ‘...त्यसपछि टेक्नै नसक्‍ने भए

    वि.सं २०४३ मा कैलालीको पथरैयामा जन्मिएका छविलालले आफू सपाङ्ग भएको थाहासम्म पाउन पाएनन्। उनले थाहा पाउँदा उनी दुई खुट्टा र दुई हातको सहारामा चल्ने भएका थिए।

    घण्टौसम्म कसेर बोक्दा रक्तसञ्चार हुन नपाउँदा उनी अपाङ्ग भएको उनका आफन्तहरू बताउँछन्। उनी पनि यही भन्छन्। ‘करिब २ वर्षको हुँदा मेरो जेठो दाइ बिरामी हुनुभएको थियो अरे, आमाले मलाई पिठ्युँमै बोकेर पथरैयाबाट मुनुवा, मुनुवाबाट फेरि पथरैया लिएर घरमा राखेदेखि मेरा दुवै खुट्टा चल्न छाड्यो अरे’ उनले आफूले सुनाएको कुरा हामीलाई सुनाउँदै भने,  ‘आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न पाउनु भएन अरे, अनि म यस्तो भए अरे।’

    सानैमा दुबै खुट्टा गुमाएर साहाराविहीन भएका छविलाल त्यो बेला पूर्ण बेसहारा भए, जब उनकै बुवाको निधन भयो। कमैया काम गरिरहेका बेला गोरु गाडाले किचेर उनको बुवाको ज्यान गएको थियो।

    ‘सायद बुवा भइदिएको भए मेरो उपचार हुने थियो होला, बिचरी आमालाई त दुई छाक टार्नकै लागि पसिना बगाउन फुर्सद थिएन’ उनले भावुक हुँदै भने, ‘केही उपचार भएको भए कालिचरण सर जत्तिको हिँड्न सक्ने त हुने थिए।’ 

    उनी आकाश तिर हेर्न थाले। सायद आँसु नझरोस् भनेर होला। यति बेलासम्म उनी भावुक बनिसकेका थिए। बोल्न नसक्दा नसक्दै पनि उनले भने, ‘सानोमा दुःख पाएर होला सर आज चार खुट्टाले टेकेर हिँड्नु परेको  छ।’ 

    पथरैया मुक्त कमैया शिविरमा जन्मे हुर्केका छविलाल अहिले घोडाघोडी नगरपालिका–१ स्थित मुक्त कमैया शिविरमा एक छोरा र श्रीमतीसँगै बस्दै आएका छन्।

    घरमा खानेकुरा नभएर भाकभोकै सुतेको पनि उनलाई याद छ, ‘पैसा पनि नहुने र सरकारले दिएको बलौटे जग्गामा खेती पनि नहुने भएर कैयौँ रात माड खाएर सुतेको थिए’, विगत सम्झिँदै छविलालले भने,  ‘अहिले घरपरिवार राम्रै चलेको छ, खर्चको समस्या हुन्न।’

    आफू अपाङ्गता भएका कारण समाजमा धेरै अपहेलना सहनु परेको उनको भनाइ छ। ‘ सबैले काम गरेर पनि साँझ बिहान छाक टार्न समस्या थियो’, विगत सम्झिँदै उनले भने, ‘दुवै खुट्टा काम नलाग्ने भएर पछि त झन् म बोझ मात्रै भए।’

    फेरिदै जीवन

    करिब १ दशक पहिले पुस्कल शाहले उनलाई १ हजार ४ सय रुपैयाँको सामान उपलब्ध गराइदिएका थिए। ‘तपाईँको केही योजना छ ?’ पुस्कल सरले सोध्नुभयो, ‘मैले त्यस्तो रहर त सुनाइन तर, उहाँले एउटा पसलबाट निःशुल्क सामान ल्याउने व्यवस्था गरिदिनुभयो।’ उनले भने, ‘त्यही १४ सयको सामानले आजसम्म जहान केटाकेटी पालिरहेको छुँ।’ 

    सुरुमा २५ हजार रुपैयाँ साना किसानबाट निकालेर कारोबार गरेका उनले त्यसपछि पटक–पटक लाख भन्दा बढिको कारोबार गरेका छन्। ‘सुरुमा २५ हजार त कति हो कति जस्तो लागेको थियो। अहिले महिना, दुई महिनामा त्यति किस्ता बुझाउँछु’ उनले भने, ‘अब करोडको कारोबार गर्ने धोको    छ। ’ 

    शारीरिक अशक्तता भए पनि उनलाई त्यो भान भने कहिल्यै भएन। सुरुमा ८ सय रुपैयाँ भाडा तिरेर उनले व्यापार सुरु गरेका हुन्। त्यसपछि अहिले आफ्नै घरमै पसल राखेका छन्।

    छविलालको धोको

    पुस्तौसम्म कमैया बसेका छविलालको परिवार मुक्त पछि पनि त्यो भन्दा सहज जीवन भने बाँच्न पाएनन्। सानैमा सहारा गुमाएपछि आहाराको लागि हरेक काम गर्न बाध्य छविलाललाई केही वर्ष यता भने सन्तोष मिलेको  छ।

    ‘सबैबाट एक्लिएपछि मेरो संसारमा केही छैन भन्ने लागेको थियो, मलिन अनुहारमा उनले भने, ‘उनी आएपछि मेरा जीवन फेरियो। ’ उनले उनी भनेर आफ्नी श्रीमतीलाई देखाए। श्रीमती लाजले पानी–पानी भइन्। ‘हो सर..’ छविलालले फेरि थपे, ‘अहिले उनले दोकान हेर्छिन्, मैले वेदबाँसका समान बनाउँछु। यसरी नै चल्दछ हाम्रो जिन्दगी।’

    आफन्तको विवाह खान गएका छविलालको त्यही गाउँकी तारासँग आँखा जुध्यो। दुवैले मन पराए। ३-४ महिना फोन संवाद भयो। त्यसपछि  विवाह।

    ‘उहाँको पनि बुहाँ नाइ मेरो पनि नाइ, हामी दुवैको वेदना उस्तै’ विवाहको कारण भन्दै उनले भने, ‘ हामी दुवै दुःखमा हुर्किए हौँ, अहिले केही सुख भएको छ।’ 

    छविलाललाई श्रीमतीको नाममा ठुलो पसल चलाउने त्यो भन्दा ठुलो धोको छ। ‘आज मैले सामान ल्याउने पसलहरुमा भोलि मैले सामान बेच्ने रहेछ छ।’ उनले आफ्ना रहर बताउँदै गए, ‘यो पसल ठुलो बनाउँछु, श्रीमतीको नामबाट पसलको नाम राख्छु , अनि धेरै व्यापार गर्छु।’

    छविको यो कुराले सँगै बसेकी उनकी श्रीमती भावुक भइन्। ‘खै यस्तो सपना देख्नुहुन्छ यो सपना मात्रै हुने हो की ? यो जुनीमा त दुःखले नछोड्ला जस्तो छ’ ताराले भनिन्। ‘भइहाल्छनी। तपाईँहरूका दिन एक दिन पक्कै फेरिन्छन्’, मैले ढाडस दिए। दुवै दम्पती मुस्कुराए।

    वेद बाँसबाट मनग्य आम्दानी

    नेपाल अपाङ्ग सङ्घबाट सिलाइ कटाइको तालिम लिएका छविले वेद बाँसको पनि तालिम लिएका छन्। ४ वर्ष पहिले उनले सहकारीबाट रु २५ हजार रुपैयाँ ऋण निकाले र आफ्नै घरमै वेतबाँसका सामान बनाउन थाले। कस्मीर वेद बास उद्योग सञ्चालन गरेका छविलाई अहिले वेतबाँसका सामान बनाउन भ्याइ नभ्याई छ।

    उनले वेतबाँसका मुढा, फुल्दानी, चुरा स्टेण्ड, ¥याग, कुर्सी, टेबल, ह्याङ्गर लगायतका सामान बनाउँछन्। २ सय ५० देखि रु ३ हजारसम्ममा ती समाग्रीहरु उनले बेच्ने गरेका छन्।  छविलाललाई सँगसँगै ताराले पनि सघाउने गर्छिन्। वेदको कुर्ची बनाइरहेका छविले भने, उनलाई पनि सबै कुराको सीप छ अब त हामी यसैबाट माथि उठ्छौँ की ?

    वेद किन्न केही टाढा जानु पर्दा उनलाई समस्या हुने गरेको छ। तर पनि जसो तसो गुजारा चलाइ रहेका छन्। उनले अहिले अन्य केहीलाई पनि रोजगारी दिएका छन्। छविले ४ जनालाई काममा राखेका छन्। ‘उनीहरूले बनाएका सामाग्री अनुसार मैले पैसा दिन्छु’ उनले भने , ‘अहिले मलाई माल पुराउन कठिन छ ।’

    उनले बनाएका मुढाहरू कैलालीसँगै कञ्चनपुरमा पनि खपत भइरहेको छ। उनी मासिक ३० हजार भन्दा बढी आम्दानी हुने गरेको बताउँछन्। ३० हजारले चल्छ त दैनिकी ? उनी भन्छन्, ‘हिजो सुक्को नहुँदा अपहेलना र तिरस्कारमा हुर्किनु परेको थियो, अहिले त सर्वस्व पुगेको आभास हुन्छ।’ 

    ताराले फुर्सदको समयमा माटाका खुत्रुके, घैँटो लगायतका सामान बेच्ने गर्छिन्। सिलाइ कटाइको तालिम लिएका छविले तारालाई पनि सिलाइकटाई सिकाएका छन्। लेखपढ गर्न नपाएको र आर्थिक अभावकाबिच हुर्किएको सम्झिँदै उहाँले छोरालाई निजी विद्यालयमा बढाइरहेका छन्। 

भानुभक्त आचार्य

आचार्य थाहा खबरका कैलाली समाचारदाता हुन् । इमेल : bhanuavenues@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]