|

दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिकासहित १० स्थानीय तह छन्। तीमध्ये  गढवा गाउँपालिका देउखुरी उपत्यकामा पर्दछ।  साबिकका गोबरडिहा, गंगापरस्पुर, गढवा र कोइलाबास मिलेर गढवा गाउँपालिका भएको हो। यो  गाउँपालिकामा ८ वटा वडा छन्।

समुद्री सतहबाट १९५ मिटरदेखि ८८५ मिटरसम्मको उचाईमा रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँची र कपिलवस्तु, पश्चिममा दाङकै राजपुर गाउँपालिका, उत्तरमा लमही नगरपालिका र राप्ती गाउँपालिका तथा दक्षिणमा भारतको बिहारसँग जोडिएको छ। यस गाउँपालिकामा विभिन्‍न जातजातिका मानिस बसोबास गर्दछन्। यो गाउँपालिकाको मुख्य आयस्रोत  कृषि नै हो। 

यो गाउँपालिकामा नेपालकै दोस्रो ठूलो कोइलाबास भन्सार पनि छ। जुन कुनै समयमा दाङसहित पहाडी र अन्य  जिल्लाका मानिसको व्‍यापारिक केन्द्र थियो। हिजोआज उक्त भन्सार नाम मात्रको छ। गढवा गाउँपालिका अध्यक्षमा तत्कालील एमालेबाट सहजराम यादव निर्वाचित भएका हुन्। यादव २०५४ सालमा नेकपा एमालेबाट तत्कालीन गोरवडिहा गाविस अध्यक्ष निर्वाचित भइ काम गरेका थिए। स्थानीय तहको निर्वाचन भएको दुई वर्षमा के कस्ता काम भए? के केस्ता समस्या भोग्‍नुपर्‍यो ? आदि विषयमा अध्यक्ष यादवसँग थाहाकर्मी विकाश डाँगीले गरेको कुराकानी :

तपाईंले कार्यभार सम्हालेको दुई वर्ष हुनै लाग्‍यो कस्तो अनुभव गरिरहनुभएको छ?

स्थानीय तहमा निर्वाचन भएको करिब २ वर्ष हुन लाग्यो। तर, म पहिले पनि गाविसको अध्यक्ष भएर काम गरेकाले धेरै समस्या भएन। तर, जनताले हामीबाट धेरै कुराको अपेक्षा गरेका हुन्छन्। कतिपय जनअपेक्षा पूरा गर्न नसक्‍दा हामीलाई नै नरमाइलो लाग्‍दो रहेछ। स्थानीय तहअनुसार जनशक्ति नहुँदा काम गर्न समस्या भएको छ।

२० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा जनताले भोगेका समस्यालाई चिर्दै करिब २ वर्षमै जनतामाझ् राम्रै काम गरेजस्तो लाग्छ। त्यस्तै, अहिले गढवा गाउँपालिका साबिकका ४ गाविस मिलेर बनेको छ। छुट्टाछुट्टै भूगोल र फरकफरक आवश्यकतालाई एकैठाउँमा राखेर सम्बोधन गर्नुपर्दा केही समस्या हुने गरेको छ। तर, कतिपय  विकास निर्माणका काम गर्दा मुद्दा पनि खेप्‍नुपरेको छ।

चुनावी घोषणापत्र कति कार्यान्वयन गर्नुभयो? कति बाँकी छन् र के कारणले पूरा नभएका हुन्?

हामीले  निर्वाचनमा जनतासामू गरेका प्रतिवद्धता यो दुई वर्षको अवधिमा क्रमिक पूरा गर्दै  गएका छौँ। तर, जनताले हामीसँग धेरै कुरा अपेक्षा गर्नुहुन्छ। हामीलाई यहाँको भौगोलिक बनावटलगायत अन्य कारणले समस्या भएको छ।

ती समस्या पनि हाम्रो कार्याकालसम्म समाधान हुनेछन्। पहिले बनाइएका सडक र बाटामा अहिले गुरुयोजनाअनुसार काम गर्दै छौं। हामीले निर्वाचनका बेला आफ्नो गाउँपालिकामा घोषणा गरेको सुत्केरी भत्तास्वरूप ३१ सय दिँदै आएका छौँ। त्यसैगरी,  जनताको सेवासुविधाका लागि ८ वटै वडा कार्यालय पायक पर्ने स्थानमा राखेर सेवा दिँदै आएका छौँ। गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र सडकका क्षेत्रमा पनि निर्वाचनको बेला गरेका प्रतिबद्धताअनुसार नै काम गरिरहेका छौँ। 

प्रत्येक वडामा स्वास्थ्य इकाइको भवन निर्माण अघि बढाएको छौँ। त्यसैगरी, गाउँपालिकाभित्र खानेपानीको समस्या समाधान गर्न बोरिङ भएका ठाउँमा पानी ट्यांकी निर्माण तथा पाइप विस्तार गर्न लागेका छौँ। बौद्धिक जनशक्ति अभावका कारण अन्य काम गर्न समस्या भएको छ।

जनप्रतिनिधिले जनताको सेवाभन्दा आफ्नो सेवासुविधामै केन्द्रित भएको आरोप छ नि?

मलाई त्यस्तो कुनै आरोप लागेको छैन। मैले नेपाल सरकारले दिएको सेवा सुविधाबाहेक अरु लिएको छैन। साँझ बिहान आफ्नो घरको आँटो रोटी खाएर नै जनताको सेवामा काम गर्दै आएको छु।

त्यस्तै, गाउँपालिकाको अध्यक्ष भइसकेपछि वडाका विभिन्‍न ठाउँमा जानुपर्ने भएकाले सरकारले उपलब्ध गराएको सवारीसाधन प्रयोग गरेको छु। त्योबाहेक अन्य कुनै सुविधा लिएको छैन।

 काम गर्दै जाँदा गाउँपालिकाको विकासमा बाधा र जटिलता के के पाउनुभयो? 

यहाँ धेरै खहरे खोला र ठुलो राप्ती नदी पर्दछ। त्यसमा कल्भर्ट, तटबन्धन गर्न नदीजन्य सामग्री आवश्यक पर्दछ। ती सामग्री हामीले नपाउँदा विकास निर्माणमा समस्या भएको छ। विकास गर्न प्रक्रिया पुर्‍याएर जंगलबाट ढुंगा गिट्टी ल्याउँदा हामीले अहिले सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका छौँ। 

कोइलाबास भन्सारलाई पहिलेकै अवस्थामा ल्याउन के गर्दै हुनुहुन्छ?

कोइलाबास भन्सार नेपालकै दोस्रो ठूलो भन्सारका रूपमा चिनिन्छ। अहिले उक्त भन्सार सुनसान छ। यो भन्सारलाई पहिलेकै अवस्थामा ल्याउन सडक निर्माण गर्दैछौँ। सडकको काम सक्नेबित्तिक्कै प्रक्रिया अगाडि बढाउने योजनामा छौँ। भन्सार पहिलेकै जस्तो अवस्थामा ल्याउन सक्यौँ भने गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बन्नसक्छ।

तपाईं गाविस अध्यक्ष भइसकेकाले पहिलेको र अहिलेको अध्यक्ष हुँदा के फरक पाउनुभो?

जतिबेला  म गाविसको अध्यक्ष भएँ। त्यतिबेला युनिटी थियो। काम गर्न बोझ हुँदैनथियो। अहिले ४ गाविस मिलाएर एउटा गाउँपालिका बनेको छ। क्षेत्रफलको हिसाबले पनि धेरै ठूलो भएकाले काम गर्न अलिक समस्या भएको छ। अधिकार पहिलेको तुलनामा अहिले धेरै पाएका छौँ। त्यहीअनुसार काम गर्न कर्मचारीको अभावले समेत समस्या भएको छ।

गाउँगाउँमा सिंहदरबार र जनतामा सबै अधिकार भन्‍ने थियो। त्यसरी जनतालाई महसुस भएको छ त?

हो, सिंहदरबारको अधिकार गाउँगाउँसम्म भन्‍ने कुरा थियो। त्यो गढवा गाउँपालिकाका नागरिकले अनुभूति गरेका छन्। किनभने पहिला नाता प्रमाणित गर्न जिल्ला प्रशासन पुग्‍नुपर्थ्यो, अहिले वडामै हुने गरेको छ।  यो पनि अधिकार गाउँमा आएको हो। त्यसैगरी जनताले आफ्ना गुनासा जनप्रतिनिधिलाई भन्न पाएका छन्। उनीहरूका समस्या गाउँमै समाधान हुने गरेका छन्। यी कारणले गर्दा सिंहदबारको अधिकार गाउँमा जनताले पाएका छन्।

तपाईंको कार्यकालमा यस गाउँपालिकामा थप  के कस्ता काम गर्ने योजना बनाउनुभएको छ?

मेरो कार्यकालसम्म गाउँपालिकाबाट कोइलाबास भन्सारसम्म जाने बाटो पिच गरी भन्सार सुचारु गरेर आम्दानीको स्रोत बढाउने योजना छ। त्यसैगरी, कालाकाटे-गढवा-राजपुर सडकलाई बाँकेको नेपालगञ्‍जसम्म जोडेर जनताको आयआर्जनमा महत्वपूर्ण टेवा पुग्‍ने भएकाले यसको निर्माण गर्ने योजना छ।

बड्कापथ सिँचाइ आयोजना बनाउने, गाउँघरका सडकको स्तरोन्‍नति गरी सबै टोल बस्तीहरूमा यातायात पुर्‍याउने योजना छ। त्यसैगरी यो कार्यकालमै गाउँपालिकामा राम्रो अस्पताल निर्माण गर्ने योजना छ। शिक्षातर्फ गोवरडिहामा कृषि प्राविधिक क्याम्पसको विकास गर्ने योजना सोचेको छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.