ऐतिहासिक तिलौराकोटको संरक्षणमा जुट्यो प्रदेश सरकार

|

 बुटवल : कपिलवस्तु नगरपालिका–६, तिलौराका मिठु बढाई केही दिनदेखि दंग छन्। भगवान् गौतम  बुद्धले २९ वर्ष बिताएको तिलौराकोटको ऐतिहासिक सम्पदा क्षेत्रको उजागार गर्दै प्रदेश सरकारले सम्वर्द्धनका काम सुरु गरेपछि स्थानीयहरूमा खुसियाली छाएको हो।

हजारौं वर्ष पुरानो र माटोमुनि दबिएर रहेको कपिलवस्तुको यो ऐतिहासिक सभ्यताको उत्खनन गरेर प्रचीन ऐतिहासिक सहरका रुपमा विकास गर्न प्रदेश–५, सरकार सक्रिय भएको छ।

प्रदेश सरकारले पहिलोपटक भव्य समारोहकाबीच मायादेवी प्रसूति उत्सव मनाएर यो कामको सुरुवात गरेको छ। ‘अब मुहार फेरिने भयो’ स्थानीय कलावती गिरी भन्छिन्, ‘हाम्रो ठाउँ पिछडिएको जस्तो लाग्थ्यो। यत्ति भव्य कार्यक्रम होला र यसरी सबैको नजरमा पर्ला भनेर सोचेकी थिइनँ।’

उनीसँगै दिवस मनाउन आएका बुहारी आरती, छिमेकीहरु संगीता भुसाल र कमला गिरीले तिलौराकोटको महत्व आफूहरूले समेत बल्ल थाहा पाएको बताए। ‘यस्तो राम्रो सम्पदा क्षेत्र रहेछ, पहिले त वस्तुभाउ चराउने र केटाकेहीहरूले खेल्ने ठाउँ थियो’ स्थानीय शिवकुमार कोहार आश्चर्य प्रकट गर्छन्। अहिलेको नयाँ कार्यक्रमले आफूहरुलाई औधी खुसी लागेको उनको भनाइ छ।

प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउँदै पहिलोपटक तिलौराकोटमा लुम्बिनीदेखि रथयात्रासहित मायादेवी प्रसूती उत्सव मनाएपछि ओझेलमा रहेको यो बस्तीमा खुसियाली र हर्ष छाएको हो।

मायादेवी प्रसूति उत्सवमा लुम्बिनी, बुद्धका मावली देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम र बुद्धसँग सम्बन्धित यस क्षेत्रका १० वटै स्थानबाट अगुवाहरु तिलौराकोटमा जुटेका थिए। यो नयाँ तरिकाको कार्यक्रमले धेरैलाई खुसी बनाएको बताउँदै वडा अध्यक्ष दिनेश यादवले कार्यक्रमलाई निरन्तरता दिने कुराले झन् उत्साह जागेको बताए।

पर्दाबाहिर आउँदै ऐतिहासिक तिलौराकोट

प्राचीन ऐतिहासिक सहरका रूपमा रहेको तिलौराकोट क्षेत्र उजागार हुँदै गएको छ। राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको यो ऐतिहासिकस्थल बौद्ध धर्मावलम्बीको निकै महत्वपूर्ण क्षेत्र मान्छन्। तिलौराकोट सन् १९९६ मा विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको थियो।

यही क्षेत्रको उजागार तथा संरक्षण सम्‍वर्द्धन गर्ने कामले तीव्रता पाएको छ। प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको यो ऐतिहासिक तिलौराकोट क्षेत्रको उत्खनन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रदेश सरकारको तयारी छ।

तिलौराकोटमा मायादेवी प्रसूति उत्सव मनाएर उक्त अभियानको सुरुवात गरिएको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी बताउँछन्।

सिद्धार्थ राजकुमार जन्मिएपछि खुसियालीमा दुई राज्यका अगुवाहरुले त्यहाँदेखि उनको दरबार तिलौराकोटसम्म उत्सव मनाउँदै रथयात्रा गरिएको थियो। प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत विभिन्न समितिहरू गठन गरी भ्रमण वर्षका विभिन्न कार्यक्रम गरेको छ। बुद्धजयन्तीका अवसरमा उद्घाटन भएको भ्रमण वर्षको अर्को महत्वपूर्ण कार्यक्रम प्रसूति उत्सव दिवस हो।

ऐतिहासिक सहर तिलौराकोट

शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट)मा ऐतिहासिक रूपाकृतिको सहरका रूपमा रहेका प्रमाणहरू फेलापरेका छन्। झण्डै सात वर्षदेखि भइरहेको अध्ययन अन्वेषणले पुरातात्विकस्थल तिलौराकोटको ऐतिहासिकता पुष्टि भएको छ। पाँचौँ शताब्दीमा आएका चिनियाँ यात्रीद्वय फायहान र साँतौँ शताब्दीमा आएका ह्वेगंसाङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका तथ्य भेटिँदै गएको छ।

बेलायतको डुर्‍हाम युनिर्भसिटी, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्वविद् र विशेषज्ञ संलग्न टोलीले गरेको उत्खनन, अध्ययन र अन्वेषणले तथ्यहरू फेलापरेका हुन्। उत्खननबाट व्यवस्थित सहर र घर पाइएका छन्। त्यस्तै, तिलौराकोटभित्र बुद्धकाल आसपासका बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानवबस्ती फेला परेका छन्।

ठाउँठाउँमा ठुल्‍ठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन्। १५ मिटर लम्बाइसम्म सुरक्षा पर्खाल भेटिएको छ। ५० मिटरसम्म जाने अनुमान गरिएको छ। यहाँ केही वर्षअघि जियोफिजिक्स (भू-भौतिक सर्भे) गर्दा ठूलो संरचना पाइएको कपिलवस्तुका पत्रकार मनोज पौडेलले जानकारी दिए।

तिलौराकोट कम्पाउण्डबाहिर रहेको कन्थक स्तूपमा पनि उत्खनन गरिएको थियो। यो ठाउँमा बेलायती कर्मचारी वाडेलले सन् १८९८ मा खनेको बताइएको छ। जहाँ इँट्टाभन्दा पहिले प्रयोग गरिने माटोको स्तूपहरू फेला परेका थिए।

कन्थक स्तूप राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गर्न दरबार छाडेर जादा सँगै लिएर गएको घोडा आधा बाटोबाटै फर्काइदिएपछि दरबार आउँदै गर्दा तिलौराकोटनजिकै घोडा कन्थक मरेको थियो।

त्यसैको सम्झनामा उक्त ठाउँको नाम कन्थक राखिएको बताइन्छ। तिलौराकोटको अनुसन्धानका क्रममा भूभौतिक सर्भे, ड्रोन फोटोग्राफी, टोपोग्राफी, फिल्ड वाकिङ्ग, सोसियो इकोनोमी र भिजिटर सर्भे गरिएको छ। बेलायती प्रयोगशालामा माटो, कार्बन डेटिङ्ग परीक्षण गर्दा प्राचीनतम भएको विवरण आएको हो।

बुद्धकालीन सभ्यताभन्दा पहिलेको बस्ती

भगवान् बुद्धको जन्म साढे २५ सय वर्ष अघि भएको इतिहासमा उल्लेख छ। तर त्यसअघि नै भगवान् गौतम बुद्धको बाल्यकाल र युवा अवस्था बितेको तिलौराकोटमा गाउँको स्वरूपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टि भएको पुरातत्वविद् बताउँछन्।

यहाँ इसापूर्व आठौं शताब्दी (२८ सय वर्ष) अघि नै मानव बसोबास भएको पाइएको छ। त्यस्को २ सय वर्षपछि इसापूर्व छैठौं शताब्दीमा सहरीकरण भएको प्रमाण भेटिएको छ। त्यतिबेला घर बनाउन इँटाको प्रचलनै थिएन। खरको छानो, माटोको घरका भित्ता, र काठबाँसको खाबो गाडेर घर बनाउन प्रचलन थियो। जुन यहाँ ठाउँ ठाउँमा त्यत्तिखेरको माटो र काठबाँसको प्वाल (पोस्ट होल) फेला परिसकेको छ।

२०१५ मा वैज्ञानिक कालक्रम निर्धारण गर्न संकलन गरिएको नमुनाले ईसापूर्व आठौं शताब्दीदेखि नै यहा मानव रहनसहन र बसोबास भएको प्रमाणित भएकोछ। तिलौराकोट उत्खननको हालसम्मको अन्वेषण र वैज्ञानिक परीक्षणले तिलौराकोट व्यवस्थित किल्लाबन्दीको सहर भएको डुर्‍हाम विश्वविद्यालय बेलायतका प्राध्यापक तथा प्रमुख पुरातत्वविद् डा.रवीन कनिङघमले विभिन्न ठाउँमा उल्लेख गरेका छन्।

सन् २०१३ देखि तिलौराकोटमा उत्खनन र अन्वेषण भइरहेको छ। पहिलो वर्ष लुम्बिनी विकास कोष र त्यसपछिबाट जापान सरकारको जापनीज फण्ड ईन ट्रष्ट (जेफिड)को सहयोगमा युनेस्कोमार्फत अध्यन अन्वेषण भइरहेको छ। सन् २०१९ देखि २०२१ सम्म तेस्रो चरणका लागि पनि समझौता भई काम थालिएको हो।  

सम्बन्धित समाचार यो पनि पढ्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.