दुई देशबीच व्यापार बढ्ने विश्‍वास

|

सिन्धुपाल्चोक : २०७२ को विनाशकारी भुकम्पपछि बन्द तातोपानी नाका बुधबारबाट खुल्यो । लामो प्रयासपछि तातोपानी नाका सञ्चालनमा आएको हो। नाका सञ्चालन भएपछि दुई देशबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ।

उद्योग तथा वाणिज्यमन्त्री मातृका यादव, चीनको भन्सारका उपमन्त्री झाङ जिवेन र चिनियाँ राजदुत हाउ याङ जिले नाका सञ्चालनको घोषणा गरे । चारवटा कन्टेरनलाई मितेरी पुल पार गराएर नाका सञ्चालन भएको हो । तिब्बतको खासाबाट कन्टेनरमा ऊन नेपाल ल्याएर कारोबार सुरु गरियो।

‘समृद्धिको दरिलो आधार’

तातोपानी नाका मुलुकको आर्थिक समृद्धिको दरिलो आधार भएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले बताए । तातोपानी नाका बन्द हुँदा ठुलो नोक्सानी परेको यादवले बताए। उनले नेपाल–चीन नाका खुलेपछि भावनात्मक सम्वन्ध मजबुत हुने उनको भनाइ थियो।

नाका सञ्चालनपछि सिन्धुवासी मात्रै नभइ सिंगो मुलुक खुसी भएको उनले बताए। अर्थतन्त्र मजबुत बनाउन तातोपानी नाकाको भूमिका महत्वपूर्ण रहने दाबी गरे । 

आफ्नो पहलमा नाका सञ्चालन भएपछि सिन्धुवासीको समृद्धिको आधार तयार भएको सांसद अग्निप्रसाद सापकोटाले बताए । नाका सञ्चालनमा आएपछि आगामी दिनमा सिन्धुवासीले रोजिरोटीका लागि विदेशिन नपर्ने उल्लेख गरे । 

कार्यक्रममा नेपालबाट उद्योगमन्त्री यादव, सांसदद्धय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल शरद, मन्त्रालयकै उद्योग सचिव, वाणिज्य सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव र भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलगायत सहभागी थिए।

लामो कसरतपछि खुल्यो 

तातोपानी नाका लामा कसरत पछि खुलेको छ । भूकम्पपछि नेपाल–चीन सरकारी प्रतिनिधिबीच थुप्रै बैठक बसे । त्यसमध्ये महावाणिज्यदूत गोविन्दबहादुर कार्कीको पहलमा खासामा भएको बैठक सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

तिब्बतको सरकार उपप्रमुखको उपस्थिति रहेको बैठकमा चीन र नेपालका सबै तह र कार्यालयका सरकारी अधिकारी सामेल थिए । त्यतिबेलैको बैठकमा तातोपानी नाका खुल्ने संकेत मिलेको थियो । हरेक बैठकमा चिनियाँ पक्षले पुनर्निर्माण सकेपछि बनाउनुपर्ने नयाँ सुरक्षा रणनीति र प्रतिवद्धताबारे छलफल चलाउने गरेको थियो । 

चीनको मुख्य चासो सीमा सुरक्षामा नेपाली प्रतिवद्धता रहेको थियो । नेपाल सरकारले सुरक्षा चासोको बिषयमा प्रतिबद्ध भएपछि नाका सञ्चालनमा चिनियाँ पक्ष लागको थियो । नाकाबाट सुरक्षामा पर्नसक्ने खतरा चीनको मुख्य चासोको विषय हो । 

सीमामा हुने तस्करी र अपराधिक गतिविधि भन्दा स्वतन्त्र तिब्बतको आन्दोलनको भय चीनलाई छ । त्यसबिषयमा प्रतिबद्ध बनाउँन गृहमन्त्री आफै उपस्थित भएर सुरक्षा व्यवस्था प्रभावकारी बनाउँन निर्देशन समेत दिइसकेका छन् । 

रसुवागढी भन्दा नजिक

संघीय राजधानी काठमाडौँबाट तातोपानी नाका नजिकै छ। चीनले भूकम्पपछि रसुवागढीलाई प्राथामिकताका साथ हेरेको थियो । रसुवागढी नाका दुरीको हिसाबमा लामो र दीगो नहुने भएपछि चिनियाँ पक्षले पुन: तातोपानी नाका सञ्चालनमा पहल गरेको हो । 

तातोपानीबाट काठमाडौं एक सय १४ किलोमिटर दुरीमा छ । खासासम्म एक सय २६ किलोमिटर रहेको छ । रसुवागढीबाट काठमाडौँ एक सय ७० किलोमिटर छ । 

रसुवागढी केरुङ दुरी २६ किलोमिट छ । केरुङ रसुवागढी काठमाडौँ एक सय ९६ किलोमिटर रहेको छ । रसुवागढी नाकाभन्दा दुरीको हिसाबमा पनि तातोपानी नाका ७० किलोमिटर नजिक छ । 

तातोपानी नाका सञ्चालनको प्रमुख जड भनेको सडक हो । काठमाडौंबाट बाह्रबिसे ८८ किलोमिटर सडक राम्रो अवस्थामै छ। बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकमा समस्या हुने गरेको छ । चीनको सहयोगमा समस्या भएको सडक तीव्ररुपमा मर्मत भइरहेको छ।

अर्थतन्त्रमा सुधारको अपेक्षा

भूकम्पपअघि नाका सञ्चालनमा आउँदा दैनिक डेढ करोड राजस्व संकलन हुने गरेको थियो । फेरि खुलेपछि आएपछि दुवै देशलाई फाइदा पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य संघका सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले जनाए ।

‘नाका सञ्चालनमा नआउँदा दुवै देशकोे अर्थतन्त्रमा ठूलो नोक्सानी व्यहोर्न परेको छ । नाका बन्द भएपछि स्थानीयको रोजिरोटीसमेत खोसिएको थियो’, उनले भने, ‘नाका सञ्चालनमा नआउँदा सीमाक्षेत्रका सयौँ युवायुवती वैदेशिक रोजगारीका लागि बाहिरीएका छन्।’

नाका सञ्चालनपछि दुबै देशको आर्थिक समृद्धिका लागि सघाउ पुग्ने विश्वास लिएको अध्यक्ष श्रेष्ठको भनाई छ । नाका बन्द हुदा साना तथा ठुला व्यपारीहरुको गुजारमा समस्यामा परेका थिए । तातोपानी नाका बन्द रहँदा नेपाललाई मात्रै नभएर दुवै देशको अन्र्थतन्त्रमा ठुलो नोक्सानी परेको थियो । नाका सञ्चालनमा आएपछि देशको अर्थतन्त्र विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बन्दगाहबाट व्यापारिक कारोबार 

नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा निर्माण भएको सुख्खा बन्दगाहबाट व्यापारिक कारोबार हुने भएको छ । चीन सरकारको एक अर्ब २० करोड रुपैयाँ लगानीमा बन्दगाह निर्माण गरेका हो । 

बन्दरगाहमा भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोष्ट, बैङ्क, आवास निर्माण, ग्राउन्डलगायतको सम्पुर्ण सुविधा प्राप्त हुनेछ । 
बन्दरगाहको गोदामबाट १ सय ५८ ठूला कन्टेनर एकैचोटी राखेर जाँचपास गर्न सकिनेछ । बन्दरगाहको माथिल्लो क्षेत्रमा पार्किङ र बन्दरगाह जोड्ने पुलको निर्माण भएको छ । बन्दरगाह निर्माण २०६९ पुसबाट बन्दरगाह सुरु गरिएको थियो । 

सिमानामा चार वर्षपछि खुसी फर्कियो

तातोपानी नाका सञ्चालनमा आएपछि सिमावासिमा चार वर्षपछि खुसी फर्किएको छ । तातोपानी नाका सञ्चालनमा आएपछि सिमा क्षेत्रको माहोल परिवर्तन भएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । 

‘सुनसान रहेको सीमाक्षेत्रमा नाका सञ्चालनमा आएपछि यहाँका स्थानीयको माहोल नै परिर्वतन आएको छ।’ अध्यक्ष पौडेलले भने, ‘नाका सञ्चालन हुने खरपछि विस्थापित भएका होटल लगायतका अन्य व्यवसायी पनि आएको छ ।’ 

नाका बन्द भएपछि यहाँको स्थानीयको दैनीको गुजारमा समस्या परेको थियो । नाका सञ्चालनमा आएपछि खुद्रे व्यापार गरेरै भए पनि सहजै जिविका चलाउन सक्ने स्थानीयले आशा राखेका छन् । 

तातोपानी नाका सञ्चालनमा आउँदा सयौँको संख्यामा होटल पसलहरु सञ्चानल हुने गरेका थिए । नाका बन्दभ एपछि अहिले सबै सुनसान भएकोे थियो । तर, नाका सञ्चालनमा आएपछि सीमाक्षेत्रमा चहलपहल बढेको छ ।

प्राथामिकतामा तातोपानी नाका 

नेपाल सरकार र चिन सरकारका बिच सन् २०१५ नोभेम्बर ५ मा काठमाडौंमा नेपाल र चीन सरकारका भन्सार अधिकारीबीच थप सात नाका सञ्चालनमा ल्याउनने सहमति भयो । सम्भाव्यता अध्ययन गर्नेसहित २० बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । 

सहमतिअनुसार मुस्ताङको यारिङ, हुम्लाको हिल्सा, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्के र मुगुको नाग्चेलाग्मा नाकाको सम्भाव्यता अध्ययन गर्ने सहमति भइको थियो । तर, अहिलेसम्म त्यहाँको सम्भाव्यता अध्ययन समेत भएको छैन । 

नेपाल र चीन जोड्ने दुई नाका सञ्चालनमा छन् । तातोपानी र रसुवागढी । भूकम्पपछि बन्द तातोपानी नाका आज (बुधबार) बाट सञ्चालनमा आएको छ  । रसुवा–केरुङ नाका पहिल्यैदेखि चालु छ । 

साकार भयो चुनावी नारा 

नाका बन्द भएपछि देशमा तीन तहको निर्वाचन भयो । तिनै तहको निर्वाचनमा सीमाक्षेत्रका उमेद्वारको भोट माग्ने मुख्य हतियारको रुपमा तातोपानी नाकालाई लिएका थिए । 

सीमाक्षेत्रबाट पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपाल र स्थानीय तहमा राजकुमार पौडेल र निमफुञ्जो शेर्पा निर्वाचित भए । उनीहरु सबैले सिमाक्षेत्रमा तातोपानी नाका खुलाउँने भन्दै भोट माग्न जनताको घर दैलोमा पुगेका थिए । तर, अहिले उनीहरुले चुनावी नारा साकार भएको दावी गर्दै आएका छन् । 

उता, सिन्धुपाल्चोक प्रतिनिधि सभा १ बाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटाले प्रायः संसदको बैठकमा तातोपानी नाकाको बिषयमा कुरा उठाउने गरेका थिए । तातोपानी नाका सञ्चालन गर्न सांसद सापकोटाले जिल्ला तहदेखि नेतृत्व तहसम्म महत्वपूर्ण भूमिका खेलेका छन् । नाका बन्द हुँदा देशले ठुलो आर्थिक नोक्सानी परेको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.