खुम्बुको विकासमा हिलारीको योगदान

|

सोलुखुम्बु : सन् १८४९ मा ब्रिटिस सर्बे अफ इण्डियाले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको निचोड निकालेको थियो। सोलुखुम्बुमा विश्वकै अग्लो शिखर रहेको यहाँका मानिसलाई पत्तो थिएन। त्यसैले सर्बे भएको सय ४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो।

सोलुखुम्बुको थामेमा जन्मिएका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेका थिए। त्यही माध्यमबाट एडमण्ड हिलारीसँग उनको भेट भएको बताइन्छ। एडमण्ड हिलारीले सगरमाथा चढ्ने प्रक्रिया अगाडि बढाएपछि तेञ्जिङलाई जन्मभूमि फर्कने अवसर मिलेको उनीहरूलाई बाटो देखाउने कान्छा शेर्पा सुनाउँछन्।

नेपाल सरकारबाट आरोहण अनुमति पाएपछि सन् १९५३ मे २९ का दिन थामेका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेकेका थिए। उनीहरूको पाइला शिखरमा पुगेसँगै सगरमाथाको चर्चा विश्वभरि भयो। त्यसपछि अहिलेसम्म विभिन्‍न कीर्तिमान कायम भएको छ।

आरोहण यात्रा सुरु भएको ६७ वसन्तसम्म ८ हजारभन्दा स्वदेशी र विदेशीले आरोहण गरेका छन्। पहिलोपटक शिखरमा जाने समूहमध्ये खुम्बु-पासाङल्हामु गाउँपालिका-३ नाम्चेका कान्छा शेर्पा पनि एक हुन्।

८७ वर्षीय शेर्पा त्यसबेला ‘हाई अल्टिच्यूड शेर्पा’का रुपमा गएका थिए। २० वर्षको उमेरमा तेञ्जिङ शेर्पा र एडमण्ड हिलारीका लागि बाटो बनाउँदै शिखर नजिक ७ हजार ८ सय मिटरसम्म पुगेका थिए। उनीहरू दुईजना मात्र हाइअल्टिच्यूड शेर्पा थिए। अन्य लो अल्टिच्युट शेर्पाको रुपमा थिए।

कान्छा शेर्पाका अनुसार भक्तपुरबाट चार सय भरियासहित आरोहणदलका ३५ सदस्यीय टोली नाम्चे हिँडेको थियो। चार सयमध्ये एकसय जनाको टोली एक-एक दिनको फरकमा हिँडेको थियो। शेर्पाले हाँस्दै सुनाए, 'काठमाडौंमा गाडी थिएन, भक्तपुरमा गाईवस्तु चर्थ्यो, अहिले भक्तपुरमा त टेन थाउजेन्ड घरहरू होलान् है !, यो त सपनाकै कुरा हो।'

बाटोमा कुनै होटल-पसल थिएन। शेर्पाले भने, 'मकैको छ्याङ र सातु खाँदै हिँड्नु पर्थ्यो। अहिले त जताततै होटल पसल, सुविधा राम्रो छ, त्यो बेला केही थिएन, निक्कै गाह्रो थियो।'

भक्तपुरबाट हिँडेको टोली १६ दिनमा नाम्चे पुगेको थियो। सगरमाथा प्रवेशद्वारा नाम्चे पुगेपछि चार सय भरियालाई दैनिक ५ रुपैयाँ ज्याला दिएर फर्काएपछि आधारशिविर प्रस्थान गरेको टोली ६ दिनमा आधारशिविर पुगेको शेर्पाले सुनाए। उनका अनुसार चार सय भरियाले बोकेकामध्ये २५ भारी पैसा मात्र थियो।

'नाम्चेबाट ३५ जना टोली आधारशिविर लाग्यौ, पाँच दिनमा त्यहाँ पुगेपछि बस्ने व्यवस्था मिलायौँ' सञ्चारकर्मीसँग मंगलबार नाम्चेमा भेटेको अवसरमा शेर्पाले ६६ वर्ष अघिको अनुभव सुनाए, 'क्याम्प एक पुग्न निक्कै कठिन भयो, बाटो खोज्दै जाँदा खुम्बु आइसफलमा ठूलो खर्पस भेटियो, हामीसँग भर्‍याङ थिएन, अनि नाम्चे फर्केर १० वटा सल्लाको रुख काट्यौँ, २० जनाले बोकेर उकालो लाग्यौँ, अनि काठको पुल बनाएर अगाडि जाने बाटो बनायौँ।'

त्यतिबेला सगरमाथा नामकरण गरिएको थिएन। स्थानीय भाषामा चोमोलोङ भन्ने गरेको शेर्पाले सुनाए। क्याप २, ३ हुँदै चारसम्म बाटो बनाएपछि, तेञ्जिङ र हिलारी शिखरतर्फ गएका थिए।

'मे २९ को दिन दिउँसो १ बजे ओकेटोके बोकेको थियो। त्यसबाट भने हामी सक्सेस भयौँ, तिमीहरू क्याम्प २ मा बस्नु भने हामी सबै खुसी भयौँ' शेर्पाले भने, '२ घण्टामा क्याम २ मा उनीहरू आए। खुसीले अंगालो हाल्यौ, किस खायौ, सबै नाच्यौँ।' काठमाडौंदेखि हिँडेको ४५ दिनमा आरोहण सफल भएको थियो।

सात पटकसम्म बाटो देखाउने काम गरेका कान्छा चुचुरोमा जान मन भए पनि अनुमति नभएको कारण नपुगेको बताउँछन्। तेञ्जिङ र हिलारीले आरोहण सकेपछि नाम्चे झरेको टोलीले कान्छा शेर्पालाई त्यही छाड्यो। पैसा लिएर केही दिनमा आउँछु भनेको हिलारी पुनः नाम्चे आए। नाम्चे आएर कान्छालाई के कति दिए भन्‍ने थाहा छैन। उनको दैनिक ज्याला ८ रुपैयाँ थियो। तर, के कति पाइयो थाहा भएन।

कान्छाको सुझाव

६६ वर्षअघि सगरमाथामा हिउँ नै हिउँ थियो भने आधारशिविर घाँसे मैदान जस्तै थियो। तर अहिले एउटै पनि वनस्पति पाइँदैन। हिउँसमेत धेरै घटिसकेको छ।

सगरमाथामा जोकोही चढ्छन्, त्यसरी चढ्दा सगरमाथाको शाख घट्नेमा कान्छा शेर्पाको चिन्ता छ। सरकारले आरोहण रोक्नेभन्दा पनि सीमित मात्रमा अनुमति दिने व्यवस्था गर्दा यसको शाख जोगिने उनको सुझाव छ।

पैसाको लागि मात्रभन्दा पनि शाखलाई जोगाउन पनि ध्यान दिनुपर्ने उनको भनाई छ। सगरमाथाको बद्नाम गर्न विभिन्‍न क्रियाकलाप हुने हुँदा त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरि काम अगाडि बढाउनुपर्ने कान्छाको सुझाव छ।

भागेर दार्जिङ नगएको भए...

सामान्य परिवारमा जन्मेका कान्छा आर्थिक अवस्था कम्जोर भएकाले भागेर दार्जिलिङ तेञ्जिङको घरमा काम खोज्दै पुगेका थिए। घरबाट राति ९ बजे सातु चोरेर कपडामा पोको पारी कान्छासहित तीनजना ४ दिनको पैदल यात्रापछि दार्जिलिङ पुगेका थिए।

नेपाली भाषा राम्रो बोल्न नसक्ने कान्छासहितको टोलीले दार्जिलिङमा शेर्पा पोशाकका महिला भेटेर तेञ्जिङको घर सोधेर पुगेका थिए। कान्छाले तेञ्जिङकै घरमा काम पाए भने अन्य दुईजनाले अरूकहाँ।

'एक दिन तेञ्जिङले चोमोलोङमा जानुपर्छभन्दा त्यो कहाँ छ भनेर सोधेँ' कान्छाले भने, 'लौ तिमीलाई थाहा छैन, घरमाथि नै छ त त्यो भन्‍नुभयो, मलाई के भनेको हो? किन जाने होला भन्‍ने अचम्म लाग्यो।'

उनीहरुले हिमाल आरोहणको लागि आवश्यक बन्दोबस्तीको सामान न्यूजील्याण्डबाटै रेलमार्फत वीरगञ्जसम्म ल्याएका थिए।

खुम्बुको विकासमा हिलारीको योगदान 

के गर्न जाने होला ? किन जाने होला ? त्यस्तो ठाउँमा भन्‍ने लागेको कान्छा शेर्पा अहिले हिलारीलाई भगवान् सम्झन्छन्। हिलारीको कारण खुम्बुको विकास भएको उनको भनाई छ। हिलारीले खुम्बु क्षेत्रको शिक्षा, स्वास्थ्य तथा विमानस्थल निर्माणको काम गरेका हुन्।

लुक्ला, फाप्लु विमानस्थल निर्माण गरेका हिलारीले अस्पताल र क्याम्पससमेत स्थापना गरि सोलुखुम्बुको विकासमा टेवा पुर्‍याएका हुन्।

लुक्लासम्म आउनको लागि समस्या भएका कारण उनले सामान ढुवानी गर्नको लागि लुक्ला विमानस्थल निर्माण गर्न सहयोग गरे। त्यसैले लुकला विमानस्थलको नाम तेञ्जिङ हिलारी नामकरण गरिएको हो।

खुम्बु क्षेत्रमा आलु मात्र फल्छ। त्यस बेला जंगली कन्दमुल खाएर जीवन बिताउनुपरेको कान्छाले सुनाए। तर अहिले विकासले गति लिएको देख्दा उनलाई अचम्म लाग्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.