|

विराटनगर : सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेपछि विराटनगरका उद्योगी, व्यापारीहरूले मिश्रत प्रतिक्रिया दिएका छन्। बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषण सुनेपछि यहाँका उद्योगी व्यापारीहरूले शिक्षा, स्वास्थ्य, कृषि र ऊर्जामा सरकारले जोड दिएको बजेट राम्रो रहेको बताए।

पुरानै कार्यक्रमको निरन्तरताको रुपमा आएको बजेटमा पूर्व क्षेत्रका पुरानै कार्यक्रममा पनि पर्याप्त बजेट व्यवस्था नभएमा भने उनीहरूले गुनासो पोखे। शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिकलाई वृद्धा भत्ता, पूर्वाधार विकास जस्ता कार्यक्रमलाई बजेटले समेटेको कार्यन्वयनमा जोड दिएका छन्। स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने, कृषि र ऊर्जामा जोड दिने, विराटनगर विमानस्थलको स्तरउन्नती, प्रदेशको राजधानी विराटनगरमा २ हजार क्षमताको सम्मेलन केन्द्रको निमार्णमा प्राथमिकता दिने बजेटका कार्यक्रम राम्रो रहेको उनीहरूले बताए।

मोरङ व्यापार संघको पूर्वअध्यक्ष तथा उद्योगी महेश जाजुले समग्र रुपमा बजेट राम्रो रहेको बताए। उनले स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गरेको बताए। ‘स्वेदशी उद्योगहरूबाट उत्पादन हुने बस्तुहरू आयात गर्‍यो भने त्यस्तो वस्तुमा भन्सार वृद्धि गर्ने यो सरकारको राम्रो पक्ष हो,’ उनले भने, ‘जसले गर्दा स्थानिय उद्योगलाई सरकारले प्रोत्साहन गरेको देखियो।’

उनले उर्जा, कृषि र सडकलाई प्राथमिकता दिनु बजेटको सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिए। फाष्ट ट्रयाक निर्माण र विद्युत उत्पादनको सरकारी लक्ष्यले मुलुकमा औद्योगिकीकरणको वातावरण बन्ने र लगानी भित्रिने उनको भनाइ छ।

मोरङ व्यापार संघको पूर्वअध्यक्ष नन्द किशोर राठीले मेघा सिटी स्मार्ट सिटीको सहर बनाउने योजना अगाडि ल्याएको बजेट राम्रो रहेको बताए। ‘सरकारले ल्याएको बजेटमा कृषिलाई विविधीकरण गर्ने योजना ल्याउको छ। यो एकदम राम्रो कुरा हो,’ उनले भने।’ उनले भूमिको समस्याको सावधन हल गर्न आयोग गठन गर्ने सरकारको योजना राम्रो रहेको बताए।

मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष तथा युवा उद्यमी प्रकाश मुन्दडाले सरकारले ल्याएको बजेटले विराटनगरलाई उपेक्षित गरेको बताए। शिक्षा, स्वास्थ्य, कृषि र स्थानीय निकायलाई बलियो बनाउने गरी आएको बजेटको कार्यान्वयन प्रभावकारी रूपमा भएमा मुलुकको विकासले गति लिने उनको भनाइ छ। 

त्यस्तै, मोरङ व्यापार संघको सल्लाकार शंकरलाल अग्रवालले सडक, ऊर्जा, रेल्वे र कृषिमा जोड दिएको बजेट स्वागतयोग्य रहेको बताए। मोरङ व्यापार संघको महासचिव नवीन रिजालले सरकारले ल्याएको बजेट भोट मात्र फकाउने खालको बजेट आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.