डा. सोमबहादुर भन्छन् : दिदीले खर्च नपठाएको भए...

|

झापा (दमक) : मोरङको बयरवनमा २०२८ मंसिर ६ मा जन्मिएका सोमबहादुर धिमालको बाल्यकाल अरू दौंतरी जस्तै बित्यो। बुवा मानबादुर र आमा वीरनीमायाका ४ छोरा र ३ छोरीमा जेठा हुन् उनी।

परिवार परम्परागत खेतीपाती गर्ने भएकाले सानैदेखि उनी त्यही काममा लागे। दमकको कृष्णमन्दिर उत्तर उनका हजुरबुवाको थातथलो थियो । तर त्यहाँबाट बयरवन पुगेको उनीहरूको परिवार बसाइँ सरिरह्यो। बयरवनबाट बेलबारी हुँदै मोरङकै हसन्दह आएपछि  उनले अमरसिंह प्रस्तावित माविबाट ८ कक्षा उत्तीर्ण गरे। धिमाल समुदायमा पढ्ने चलन नभएका बेला उनी दिदीको आग्रहपछि काठमाडौं पुगे।

काठमाडौंमा मजदुरी गर्दै पढेका उनले २०४९ सालमा प्रथम श्रेणीमा एलएलसी पास गरे। एसएलसी पास गरेपछि उनमा थप अध्ययन मोह बढ्यो। त्यसबेलासम्म विवाह गरिसकेका उनले शिक्षण गर्दै अध्ययन अघि बढाए।

अंग्रेजी र ग्रामीण विकासमा स्‍नातकोत्तरपछि पनि उनमा अध्ययन मोह रोकिएन। त्यसपछि युनिभर्सिटी अफ अमेरिकाको आइएफटिएस कलेज जर्मनीबाट अनलाइन कोर्स गरे अप्लाइड ल्याङ्वेस्टिक अर्थात् व्यावहारिक भाषा विज्ञानको। गत वर्ष हुलाकबाटै विद्यावारिधिको प्रमाण पत्र आएपछि उनी धिमाल समुदायबाट धेरै पढ्ने पहिलो व्यक्ति बने।

दिदीको प्रेरणाले पढे

त्यो जमानामा अरु धिमाल केटाकेटीको जस्तै थियो उनको पनि जीवन। खेतीकिसानी गर्ने परिवार, धेरै सन्तान। सानैदेखि खेतीको काम गरे उनले। ८ कक्षासम्म पढेपछि धेरै धिमाल विद्यार्थी स्कुल जान छोड्थे। उनले पनि त्यही गरे। ‘त्यसबेला दिदी जानकी काठमाडौं हुनुहुन्थ्यो। उहाँले नै १ सय २० रुपैयाँ पठाइदिनुभएछ’, अध्ययन छोडेपछिका दिन सम्झिँदै उनले भने, ‘धन्‍‍न! दिदीले पैसा पठाएर बोलाउनुभयो। त्यसबेला भाडा ५० रुपैयाँ लाग्थ्यो काठमाडौंको। त्यही पैसा लिएर काठमाडौं गइयो।’

काठमाडौँ खाल्डोमा पसेसँगै उनको जीवनमा ‌संघर्षको अर्को पाटो खुल्यो। उनको संघर्षको समयमा मात्रै होइन, अहिले पनि धिमाल युवा घरमै बस्न मन पराउँछन्। अहिले पनि सहर पस्नु हुँदैन, जागिर खानुहुँदैन, विदेश जानुहुँदैन भन्‍ने मनोविज्ञान रहेको उनी सुनाउँछन्। आफ्नो जीवन भोगाइको दर्शन  सुनाए, ‘तर म त भन्छु, दुःख पाइयो भने सहर पस्‍नु, संघर्ष गर्न जानिन्छ। संघर्षले नै जीवन सफल र बलियो बनाउँछ, यो मेरो अनुभवले बताएको हो।’

१० रुपैयाँमा ढुंगा बोके

काठमाडौं आएपछि जीवनको कथाले अर्कै मोड लिएर अनेक घुम्ती र खुट्किलामा ठक्कर खायो। बिरानो सहर आइपुगेका उनी साथीसँग डेरा बसे। आम्दानी केही थिएन। दिदीहाँ पनि सधैँ बस्ने कुरा भएन। उनी बेखर्ची र बेरोजगार भएका बेला अन्तर्राष्ट्रिय विमानस्थल बन्दै थियो।

सीप त केही थिएन। तापनि पेट त पाल्नै पर्‍यो। त्यसैले एयरपोर्ट निर्माणस्थलमा केही महिना ढुंगा बोके। चपरी काट्ने-बोक्ने पनि काम गर्नुपर्थ्यो। दिनको १० रुपैयाँ हाजिरा थियो। दिनभर चर्को घाममा बढी श्रम गर्न गाह्रो भइरहेको थियो। त्यसपछि साथीकै सल्लाहले उनले विकल्प खोजे। विकल्पमा भेटियो गलैँचा बुन्‍ने काम। गलैँचा बुन्दा त्यहीँ बस्ने व्यवस्था थियो। त्यहाँ महिनाको ४ सयसम्म कमाइ भयो।

गलैँचा बुन्दा बुन्दै २०४७ सालमा दमकको बाह्रघरेबाट गएकी रत्नदेवी धिमालसँग भेट भयो। छोटो समयमै प्रेम बस्यो र विवाह भयो। गतिलो आम्दानी नभएको बेला विवाहपछि दुईजनाको जिम्मेवारी आयो। तर, श्रीमती पनि मजदुरी गरेर भए आम्दानी गर्ने भएकाले केही राहत भयो। 

‘मैले विवाह गरेपछि श्रीमतीले थप अध्ययनका लागि उत्प्रेरित गरिरहिन्, त्यसैले बिहान बेलुका काम गर्दै दिउँसो पढेर एसएलसी सकियो', उनले सुनाए, 'त्यसपछि शिक्षकको जागिर खान थालेकाले अलिक सहज भयो।’ संघर्षपछि सुरु भएका केही सजिलो दिनहरुबारे सुनाउँदा उनको अनुहारमा एकाएक कान्ति छायो।

विवाहपछि परिवार, अध्ययन, रोजगारी एकसाथ चलिरह्‍यो। २०५० सालमा जेठी छोरी मोनालिसा जन्मिएपछि श्रीमतीले घर सम्हालिन्। उनी पूर्णकालीन विद्यार्थीसँगै श्रमिक बने। यो क्रम एमए सकिन्जेल चल्यो। ‘पढाउने मान्छे भएपछि बीएड पनि गरौँ लाग्यो। बीएड गरियो। पिजिडी आरडी कोर्स पनि गरियो, यो बीए र एमएबीचको कोर्स थियो', उनले सुनाए, 'त्यसपछि समाजशास्त्रमा एमए सकेँ, अनि त  झन्झन् पढ्ने मोह बढ्यो। त्यही भएकाले व्यवहारिक भाषा विज्ञानमा पिएचडी गर्न सकेँ।'

समुदायकै पहिलो

कुनैबेला पूर्वी नेपालको जंगललाई मानव बसोबासयुक्त बनाएको धिमाल जातिसँग प्रशस्तै जमिन हुन्थ्यो। झापा-मोरङको भूमिपुत्र बताउने यो समुदायमा जमिनमाथि दर्बिलो पहुँच भए पनि लामो समय टिक्न सकेन। तीनपुस्ता हुर्किंदै गर्दा त्यो जमिन-सम्पत्ति आफ्नो रहेन। अहिले धेरै धिमालहरू भूमिहीन छन्। आर्थिक-सामाजिकरूपमा पछि परेका छन्।

ढुंगाको काप फोरेर उम्रिएको पीपल जस्तो आफ्नै संघर्ष र मिहिनेतले विद्यावारिधि गरे पनि समुदायलाई फर्केर हेर्दा अझै सन्तोष मान्दैनन् उनी। ‘संघर्ष गरियो, दुःख गरियो। पढियो। खुसी लाग्‍ने भइगयो। तर, अझै हाम्रो समग्र समुदाय, त्यसभित्र पनि धिमाल समुदायपछि परेको छ भनेर दुःख लाग्छ’, सिंगो समुदाय अझै पिछडिएको अवस्थामा रहनु पर्दाको चित्त दुखाई उनले सुनाए।

उनलाई अचेल समुदायको जागरण र सशक्तीकरणमा काम गर्न मन छ।  केही व्यक्ति मात्र शिक्षित भएर समाज र राष्ट्र बन्दैन भन्‍ने उनी सबैलाई उच्चशिक्षा, आर्थिक विकास र सामाजिक जागरणको मूलप्रवाहमा ल्याउनुपर्छ भन्‍ने दर्शनबाट प्रेरीत छन्।

समुदायलाई हेर्दा

आफ्नो समुदाय अन्यभन्दा किन पछाडि पर्‍यो त? भनेर फर्केर हेर्दा उनका केही विश्लेषण छन्। ‘यहाँको जंगल ढालफाँड गरेर बसेका धिमालहरू उहिले जमिनदार थिए। अरूको भन्दा धेरै जमिन थियो। जमिनका मालिक थिए धिमाल', उनले भने, 'तर अहिले हेरौँन, कुन अवस्था छ। यसका केही कारण छन्। जस्तै,जग्गा बेचेर, ऋण काडेर विवाह गर्नुपर्ने, मेला जानुपर्ने, जात्रा मनाउनुपर्ने।'

'यो चलनले पनि हामीलाई गरिब बनायो’ उनले विश्लेषण सुनाउँदै थपे, ‘हाम्रो समुदायमा जागिर नखाने, गाउँ नछोड्ने, खेतीपाती मात्रै गरिरहने मनोविज्ञानले पनि माथि उठ्न दिएन। यी विविध कुराले धिमाल समुदायलाई पछि पारेको उनको ठम्याई छ।  

समुदायले के पायो?

उनी एक्लैले उच्च शिक्षा पाउँदैमा समुदायमा शिक्षाको पहुँच बलियो भएको पुष्टि हुँदैन। तर, समुदायको भाषा, कला, साहित्य, संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि  निरन्तर काम गर्दै आएको उनी बताउँछन्। ‘म मेरो समुदायका लागि के गर्छु भन्दा सकेसम्म गरिरहेकै छु। मैले गर्ने भनेको हाम्रो समुदायबारे बुझेका कुरा बुझाउने, लेख्ने, पढाउने नै हो। म यही काम गर्दै आएको छु’, आफ्नो समुदायप्रतिको दायित्व उनले सुनाए।

उनले २०६६ सालमा 'धिमाल इतिहास भाग १' पुस्तक लखेका छन्। त्यसपछि धिमाल जातिको चिनारी, अंग्रेजी भाषामा ट्रेडिसनल इन्स्ट्रिच्युट एण्ड कस्‍मरी ल (पम्परागत संस्था र प्रथाजनिक कानुन) भन्‍ने पुस्तक पनि आयो। यो उनको एमएको थेसिस पनि थियो, पछि पुस्तकको रूपमा आएको हो।

यस्तै 'धिमाल फुड कल्चर एण्ड फेस्‍टिबल' किताबमा उनले आफ्नो समुदायको खाना र संस्कारको अध्ययन गरी तथ्य सार्वजनिक गरेका छन्। उनले लेखेको 'धिमाल समुदायको संस्कार', 'संस्कृति तथा ओखती उपचार पद्धति' किताब प्रज्ञा प्रतिष्ठानबाट आएको छ। यस्तै, उनको पिएचडीको थेसिसलाई पनि अध्ययन गरेकै विश्वविद्यालयले किताब बनाएर प्रकाशित गरेको छ। ‘एक्सप्लोरिङ द रिलेसनसिप विट्विन ल्वाङ्वेज एण्ड कल्चर ईन धिमाल’ नाम दिएर उक्त किताब छापिएको हो।

उनी अहिले धिमाल भाषाको पाठ्यक्रम तयार पारिरहेका छन्। गोरखापत्रले प्रकाशन गर्ने 'धिमाल पेज'को पनि उनैले संयोजन गर्दै आएका छन्। ‘मेरो क्षेत्र भनेको लेखपढ र अध्ययन हो। यसको माध्यमबाट के कति गर्न सकिन्छ, लाग्दै आएको छु', उनले भने, 'तर मेरो समुदायको एक्लो पिएचडी भन्दा जति गर्व लाग्छ, त्योभन्दा बढी चिन्ता समुदायको शिक्षा, आर्थिक अवस्था र  सामाजिक चेतनाको अभाव देखेर लाग्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.