|

रुकुम : अहिले साढे दुई महिनाको रमझम र अभूतपूर्व यार्सा यात्राका लागि पूर्वरुकुम तयार भएको छ। जेठ १९ गते देखि यार्सा टिप्‍ने समय खुल्दै छ। एक महिनाअघि नै त्यस क्षेत्रमा ठूलो संख्यामा यार्सा सुरक्षाका लागि युवा स्वयंसेवक पाटनमा पुगिसकेका छन्।

अब सर्वसाधारण पनि जाने सुरसार गर्दै छन्। त्यसैले यतिबेला त्यस आसपास र छिमेकी जिल्लाबाट यार्सा संकलक र व्‍यापारीका उचाईमा चढ्दैछन्।यीसँगै यार्सा संकलन क्षेत्रको अवलोलन गर्नेको पनि लाम देख्ने समय आएको छ। त्यहीकारण यार्सा पाइने ठाउँ, त्यहाँको मौसम र वातावरण तथा यात्रा जोखिमबारे जान्‍न आवश्यक छ।

पहिलोपटक यार्सा क्षेत्र जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

- न्यानो कपडा अनिवार्य व्‍यवस्था गर्नुस्। जस्तै, ज्याकेट, पाइन्ट, ट्राउजर, उनीको टोपी,पन्जा, टेन्ट पाल, बाक्लो स्लिपिङ ब्याग, न्यानो हुने जुत्ता, म्याट्रेस, मास्क, हाइनेक, सुइटर, रेन कोट र छाता आदि।

- चिसो र बढी उचाईमा अक्सिजन कमीले लेक लाग्ने (हाई अल्टिच्युड), ज्वरो आउने, बान्ता हुने हुँदा आवश्यक औषधि बोक्नु आवश्यक हुन्छ।

- यार्सा फुकुवा हुनु केही दिन अगावै यार्सा बेस क्याम्प वरपर जानु उचित हुन्छ। जसले 'हाई अल्टिच्युड’का कारण बिरामी हुने समस्या धेरै कम हुन्छ।

- पेय पदार्थ बग्रेल्ती पाइने हुँदा सकेसम्म चिसोमा नपिएकै राम्रो। यदि लिनै परेमा स्थानीय अन्‍नको लिँदा उचित हुन्छ, त्यो पनि सीमित।

- भरपर्दा साथी र आफन्तसँग मात्र रहनु उचित हुन्छ।

- वनमा यार्सा टिप्न जाँदा आफूखुसी नगई सबैभन्दा बढी यार्सा पाउने र यार्सा पाइने ठाउँको थाहा पाएका व्‍यक्तिसँग संगत गर्नु राम्रो हुन्छ।

- सिजनभरी मनोरञ्जनका माध्यम थुप्रै हुने हुँदा त्यतापट्टि नभूली आफ्नो लक्ष्यतिर मात्र केन्द्रित हुन आवश्यक हुन्छ।

- वनमा यार्सा खोज्न छोडी हाँसीमजाक गरी समय खेर फाल्नु हुँदैन।

- होटलमा नास्ता गर्दा मूल्य बुझेर मात्र लिनुपर्छ। नत्र एकको दुई तिर्ने स्थिति नआउला भन्‍न सकिन्‍न।

नयाँ व्यापारी र लगानीकर्तालाई सुझाव

- कसैको अफवाह र हल्लै हल्लाको गफमा फस्नु हुँदैन।

- मान्छे चिनेर मात्र कारोबार गर्नुपर्छ।

- आफ्नो लगानी र सामान सुरक्षाको व्‍यवस्था गर्नुपर्छ।

- सुरक्षा निकाय र समितिसँग नियमित सम्‍पर्कमा रहनुपर्छ।

पर्यावरणलाई ख्याल

- आफ्नो क्याम्प र होटल वरिपरि फोहोर नगरौँ।

- हरेक पालछेउ हड्डी र सिसाजन्य वस्तु डम्पिङ गर्न खाल्डो खनौँ।

- वनमा जथाभावी आगो नलगाऔँ।

- वनमा यार्सा टिप्न जाँदा चाउचाउ र बिस्कुट खाएर खोललाई सुरक्षित स्थानमा जलाऔँ।

- वनमा भेटिएका बेवारिसे प्लास्टिकजन्य वस्तु संकलन गरी सुरक्षित ठाउँमा जलाऔँ

 पत्रकार र पर्यटक हुनुहुन्छ भने

- तपाईंले यार्सा क्षेत्र पुगेपछि कम्तीमा ५ दिन समय निकाल्नु उचित हुन्छ।

- एक दिन जंगला भञ्‍ज्‍याङ रेन्ज, जुन ठाउँ  कर्णाली प्रदेश र ५ नं. प्रदेशको सिमाना हो।

- एक दिन भित्रवन, एक दिन कुन्दला, एक दिन पुपाल, र एक दिन फूलबारी। यी ठाउँ यार्सा पाइने क्षेत्र हुन्। यार्सा संकलकसँग प्रत्यक्ष अनुभव साटासाट गर्न सकिन्छ। यी क्षेत्रमा रहेका अनगिन्ती हिमतालहरूको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।

कसरी पुगिन्छ यार्सा क्षेत्र?

- काठमाडौ खलंगा पश्चिम रुकुम वा रुकुमकोट पूर्वरुकुमसम्म सिधा ठूलो गाडी पिपलटुङ (ओखमा) त्यहाँबाट मैकोट हुँदै मैकोट, दुले, पुपाल गरी जम्मा ५ दिनको यात्रा।

- काठमाडौं, बाग्लुङ बुर्तिबाङ ठूलो गाडी) ढोरपाटन (जिप) बुजिख (पैदल सुरु), थाँकुर, पेल्मा, दुले, पुपाल हुँदै जम्मा ६ दिनको यात्रा।

- पोखरा, बेनी, दर्बाङसम्म ठूलो गाडी त्यही दिन जिपबाट मुना, ढोरपाटन, थाँकुर, पेल्मा, दुल हुँदै पुपालसहित ६ दिनको यात्रा।

५० प्रतिशत यार्सा संकलक रोल्पाका

रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, प्युठान, बाग्लुङ, म्याग्दी, पाल्पा, पोखरा, गोरखा, रसुवा, धादिङ, रामेछाप, दाङ, सल्यान, सुर्खेत, जाजरकोट, बैतडी, दैलेख आदि ठाउँबाट बर्सेनि यार्सा संकलक मैकोट पुपाल पुग्दछन्। 

यीमध्ये पचास प्रतिशत संकलक रोल्पाबाट मात्र आउने गर्दछन्। यी सवालहरूमा ध्यान दिन सकियो भने यार्सा क्षेत्रको जोखिमपूर्ण यात्रा र बसाई सुखद अनि यादगार रहनेछ।

(यार्सा व्यवसायी तथा स्थानीय जानकार भरतकुमार पुनसँगको कुराकानीमा आधारित)                          

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.