|

उदयपुर : दुईदशक अघि गाउँघरका चौतारा, पाटी, पौवा भनेपछि सार्वजानिक स्थलका रूपमा परिचित थिए। शहरीकरणसँगै बढ्दो आधुनिकीकरणले यातायातको विस्तार भएपछि परम्परागत पाटी, पौवा र चौतारा अपरिचित बन्दै छन्।

नेपालीको मौलिक संस्कृति बोकेका चौतारा, पाटीपौवा लोप हुँदै गएका छन्। त्रियुगा नगरपालिका ११ का ८० वर्षीय गंगाबहादुर बुढाथोकी भने, ‘चौतारमा बसेर गाउँको विकास निर्माण, गाउँकै झै झगडाका विषयमा पञ्चले चौतारामै बसेर मिलाउँथ्येँ। अहिले त्यो चलन पनि हटेको छ। अनि चौतारा, पाटी पौवा पनि खासै देखिँदैनन्।’

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत सडक यातायात विस्तार भएपछि पाटी, पौवा र चौतारा हराउँदै गएको रुपाटारका शिक्षक तोया बुढाथोकी बताउँछन। ‘चौतारा गर्मीयाममा आराम गर्न, गाउँमा हुने सभा वैठक आयोजना गर्न, बटुवाले बास बस्न प्रयोग हुन्थ्यो’, उनले भने,‘पछिल्लो समय यातायातको विकाससँगै चौताराहरू प्रयोगविहीन छन। हिजोआज भएका भत्काउन थालिएको छ।’

चौतारा, पाटी, पौवा प्रयोगमा आउन छाडेका छन। कारण पनि धर्म र संस्कृतिसँग जोडिएको वरपिपल रोप्ने र चौतारा बनाउने चलन पछिल्लो समय मासिँदै गएको अनुभव पनि उनै शिक्षकको छ। गाउँ गाउँमा सडक सञ्जाल जोडिएसँगै मृतक आफन्तको स्मरणमा चौतारा र पाटी पौवा निर्माण पनि हुन छाडेका छन। भरियाले भारी बोक्दा र बटुवाले बाटो हिड्दा बास बस्न प्रयोग गर्ने चौतारा अहिले यातायातको विकाससँगै लोप हुँदै गएको भन्दा फरक नपर्ला। 

संस्कृति विद् डाक्टर सोमप्रसाद खतिवडाले आधुनिक युग सुरु भएसँगै चौतारा, पाटी, पौवा हराउँदै गएको बताए। ‘नेपाली पन झल्काउने संस्कृतिको रुपमा पाटी, पौवा, चौतारा पनि हुन’, उनले भने, ‘आधुनिक युगा सुरु भएसँगै हराउँदै गएको छ। यसलाई संरक्षण गर्न राज्यले ध्यान दिए धेरै राम्रो हुने थियो।’ उनका अनुसार करिब पाँच हजार वर्ष अघि युरोपियन र अरेवियन व्यापारी नेपालको बाटो हुँदै तिब्बत तथा चीनसम्म व्यापार गर्न जाने चलन थियो।

खतिवडाले भने, ‘मानव सेवाप्रति अभिप्रेरित भई बाटोमा वरपिपल रोपेर चौतारा निर्माण गर्ने चलन सुरु भएको इतिहासमा भेटिन्छ।’


नेपालमा पनि झण्डै पाँचहजार वर्षअघिदेखि मृतकका आफन्तले मृतकको सम्झनामा चौतारा र पाटीपौवा निर्माण गर्न थालेको पाइन्छ। बटुवा आएर बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरण समेत हुने भएकाले चौतारामा बर पिपलका विरुवा रोप्ने चलन समेत रही आएको कथन छ।

चौतारामा हुने छलफल, भेला, बैठक, आमसभा अहिले सभाहल, सामुदायिक भवनको सभाकक्ष, वडा कार्यालयको भवनमा हुने गरेको छ। ‘चौतारामा हुने छलफल अहिले सामुदायिक भवनमा हुने गरेको छ’, स्थानीय पत्रकार होम बस्नेतले भने, ‘सामुदायिक वन समूह लगायतका विभिन्न सरकारी तथा गैर सरकारी निकायले गाउँ गाउँमा भवन निर्माण गरी दिएकाले पनि पाटी, पौवा, चौतारा हराउँदै गएका हुन। 

सडक नै दोषी

पछिल्लो समय जथाभावी सडक निर्माण हुँदा चौतारा, पाटी पौवा, ढुँगेधार तथा पानीका स्रोतलाई धेरै असर पुगेको छ। स्थानीय तहले विकास भन्दै जथाभावी सडक खन्दै जाँदा पुराना संस्कृति तथा परिचान बोकेका सार्वजानिक स्थल लोप हुँदै गएका हुन। सुस्ताउने चौतारी छैन।

घाँटी सुक्दा पिउने पानीको स्रोत सुक्यो। धान, मकै, गहुँ फल्ने खेत बाँझै छ। कुलोमा पानी आउन छाड्यो खोटाङ घर भई त्रियुगा नगरपालिका ११ मा बसोबास गर्ने अम्बिका कटुवाल भन्छिन, ‘गाउँमा सडक पुग्यो।सडक खन्दा पहिरो गएर पहाडको खेत सवै बाँझै छ। पहिरोले खेत पुरी गयो।’

गाउँका बुढापाका, भद्रभलादमी बसेर आराम गर्ने र सभा कचहरी गर्ने चौतारा सडक निर्माणका क्रममा मासिएका छन। कटारी नगरपाकिला ११ का विष्णु राउतले भने,‘सडक खन्दै गयो। अगाडि मन्दिर होस् वा विद्यालय, खानेपानीको मुहान होस् वा कुलो केही वास्ता गरिँदैन। त्यही भएकाले पुराना संरचना लोप हुँदै गए।' 

सडक खन्दा स्थानीय समुदायकै व्यक्तिहरू बसेर सडक खने पनि बचाउन खोज्दाखोज्दै पनि कतिपय स्थानमा समस्या भएको जनप्रतिनिधि स्वीकार्छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.