महिला भन्छन्- अवसर पाए हामी पनि कम छैनौँ

|

रुकुम : १२ औँ गणतन्त्र दिवस मनाउने क्रममा सबैभन्दा अग्रभागमा रुकुमका महिलाहरू नै पञ्चेबाजासहित नाच्दै थिए। गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले खलंगादेखि सेरीगाउँ सम्म गरेको प्रभातफेरीमा जिल्लामा महिलाहरूलाई पञ्चेबाजा बजाउने जिम्मा दिइएको थियो।

यो मात्र होइन जिल्लामा हुने प्रभातफेरी, र्‍याली र अन्य सांस्कृतिक कार्यक्रमहरूमा महिलाहरूले बजाउने पञ्चेबाजा नै सबैको प्रमुख रोजाइ बन्दै गएको छ। विभिन्न शुभकार्यमा पुरुषले मात्रै बजाउँदै आएको पञ्चेबाजा केही वर्षदेखि रुकुम पश्चिमका महिलाहरूले पनि बजाउन थालेका हुन् भने उनीहरूको लोकप्रियता पनि दिन प्रतिदिन बढ्दै छ।  

पछिल्लो समय पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेकोमा रुकुमका महिलाहरू भने झनै उत्साहित छन्। महिलाले बाजा बजाउने र नृत्य समेत देखाउने गरेका छन्। मुसीकोट नगरपालिका १ सालघारीमा रहेको पञ्चेबाजा संरक्षण महिला समूहले यसको सम्पूर्ण जिम्मा लिने गरेको हो। २०७१ सालको फागुन महिनादेखि निरन्तररूपमा महिलाका काँधमा दमाहा र ट्याम्की, मुखमा सनही र नरसिंगा, हातमा छिल्लरलगायत बाजा छन्।

एक कार्यक्रमबारे १२ हजार

जब कुनै कार्यक्रम, अवसर, दिवश, मेला, पर्व, चुनाव जस्ता कार्यक्रममा स्थानीय सरकार, राजनीतिक दल, गैरसकारी तथा सामाजिक संघ संस्थाहरूले पञ्चेबाजाका लागि यी नै महिलाहरूलाई गुहार्ने गर्छन्। पञ्चेबाजा समूहकी अध्यक्ष हिरा परियारले महिला समूहबाटै पैसा संकलन गरेर बाजा खरिद गरेर बजाउन सुरु गरेको बताइन्। उनका अनुसार सुरुका केही दिनसम्म पुरुषहरूले बाजा बजाउन सिकाइदिएका थिए।

पञ्चेबाजा अब महिलाको आम्दानीको स्रोत पनि बनेको छ। एउटा कार्यक्रममा पञ्चेबाजा बजाएबापत १२ हजारसम्म लिने गरेका छन्। तर, त्यसमा कार्यक्रमको आर्थिक अवस्था हेरेर शुल्क लिने गरेको समूहकी अध्यक्ष परियारले बताइन्।

अवसर पाएपछि महिलाहरू पनि कम छैनन् भन्ने पुष्टि महिला पञ्चेबाजा समूहले गरेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए। महिलाले बाजा बजाउनै हुँदैन भन्ने मान्यता तोडेर पुरुषभन्दा उत्कृष्ट बाजा बजाएकै कारण उनीहरू सबैको रोजाइमा परेको उनको भनाइ छ। जिल्ला समन्वय समितिमार्फत हुने विभिन्न कार्यक्रमहरूमा यिनै पञ्चेबाजा समूहलाई नै बोलाउने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.