|

बागलुङका चारवटा नगरपालिकामध्ये पूर्वाधारबिना नै बनेको नगरपालिका हो जैमिनी नगरपालिका। जहाँ एक किलोमिटरसम्म पनि पक्की सडक छैन। नगरकै भवन बनाउनका लागि सार्वजनिक जग्गाको अभाव छ।

संघीय संरचनाअनुसार साबिक कुश्मिसेर, दमेक, राङखानी, पैयुथन्थाप, सर्कुवा, विनामारे, जैदी, छिस्ती र अर्जवा गरी ९ वडा गाविसलाई समेटेर १० वटा वडा बनाइएपछि जैमिनी नगरपालिका बनेको छ।

नगरपालिको समृद्धिको लागि विभिन्न विकासको योजना बनाइएका छन्। सबै वडामा सडकको सञ्जालसमेत नरहेको अवस्थामा बनेको यो नगरपालिकाले पहिलो प्राथमिकतामा सडकलाई नै राखेर दुईवर्ष काम गरिसकेको छ।

दुईवर्ष पहिले भएको स्थानीय तहको निर्वाचनमा जनताको मत पाएर निर्वाचित भएका नगर प्रमुखलगायत जनप्रतिनिधिले के गरे र के गर्दै छन्? जैमिनीको समग्र विकास र आगामी योजनाका विषयमा थाहाकर्मी तारानाथ आचार्यले नगरप्रमुख इन्द्रराज पौडेलसँग गरेको कुराकानी :

दुई वर्षको समयावधिमा के के काम गर्नुभयो?

हामीले दुई वर्षको अवधिमा धेरै काम गरेका छौं। विकासका सबै क्षेत्रमा केही न केही परिवर्तन भएका छन्। प्रमुख काम जैमिनी नगरपालिकाको केन्द्रलाई जिल्लाको सदरमुकाम जोड्ने सडकको स्तरोन्नति सुरु भएको छ। यो सडकको स्तरोन्नतिका लागि हामीले धेरै  प्रयास गयौं। अहिले काम चलिरहेको छ। अब हाम्रो नगरमा थोरै भए पनि पक्की सडक बनाइनेछ। 

केही समय पहिले जीर्ण अवस्थामा रहेको सडक केही परिवर्तन र सुधार भएको देख्न सकिन्छ। पहिलेको सडक हामी आएपछि नगरका विभिन्न वडामा रहेका सडकमा धेरै अन्तर छुट्याउन सक्नुहुन्छ तपाईँले। नगरपालिकाका प्रत्येक वडामा पुग्ने सडकको सुधारदेखि लिएर, पक्की नाली बनाउने काम भइरहेका छन्।

कतिपय सडकमा अस्थायी नालीको व्यवस्था गरेर वर्षातको भल कटाउने काम भएको छ। शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा समेत कैयौं कामहरू भएका छन्। जुन कुरा मैले भन्नुभन्दा यहाँका जनताले भन्नुभयो भने अझै प्रस्‍ट हुनुहुन्छ।

तपाईंको दुई वर्षको काम देखेर सर्वसाधारण त निराश जस्तो देखिन्छन् नि?

काम गर्दै जाँदा सबैको चित्त त कहाँ बुझाउन सकिन्छ र? तर, पनि अहिलेसम्म नगरपालिको काम देखेर निराश भएको भने कोही पनि देखेको छैन। नगरवासीले अहिले विकासको अनुभव गरेका छन्, त्यसैले नगरपालिको कामबाट कोही निराश भएजस्तो मलाई लाग्दैन।

विनापूर्वाधारको नगरपालिकामा पूर्वाधार निर्माण प्राथमिकता भन्नुभएको थियो। कहाँ कहाँ बने पूर्वाधार?

हो मैले भनेकै थिएँ। हामीले पूर्वाधारमा प्राथमिकता दिन्छौं। भनेअनुरूप नै नगरमा पूर्वाधार निर्माण कार्य अघि बढिसकेको छ। जैमिनीको सेरा बजारमा ४ सय मिटर सडक पिचको काम नगरकै सक्रियतामा चलेको छ। सझेदारीमा अरू थप सडक पक्की हुँदै छन्।

विद्यालयहरूमा कक्षाकोठाको व्यवस्थापनको लागि योजनाहरु अघि बढिरहेका छन्। अहिले नगरप्रमुख भएको २ वर्षको अन्तरालमा हुन सक्ने पूर्वाधार निर्माणको काम भइरहेका छन् र अझै ३ वर्ष कार्यकालसम्ममा जैमिनीमा आवश्यक भौतिक पूर्वाधार निर्माणको योजना बनाई योजना सम्पन्न गर्नतर्फ विशेष ध्यान पुर्‍याइएको छ।  

सामुदायिक विद्यालय र शैक्षिक सुधार कार्यक्रमका लागि के कस्ता योजना बनाउनुभएको छ?

हाम्रो नगरमा मात्र नभएर नेपालका अधिकांश सामुदायिक विद्यालयहरूमा विद्यार्थी कम हुने र शैक्षिक गुणस्तर कमजोर भन्ने समस्या छ। बसाइँसराइ नै हाम्रो नगरको प्रमुख समस्या हो। बसाइँसराइका कारण गाउँ टोलमा नै मानिस नहुने समस्या छ।

विद्यायको गुणस्तर सुधारको लागि विभिन्न योजनाहरुमा काम भइरहेको छ। विद्यालयको गुणस्तर सुधारका लागि प्रमुख विद्यालयमा योग्य जनशक्ति खटाउने कामको थलानी गरिएको छ।

सामुदायिक विद्यालयमा शिक्षक आवश्यकता हुँदा शिक्षकहरुले नजिकको व्यक्ति वा आफन्तसमेत राख्ने गरेका पाइएकाले यसको सुधार थालिएको छ। योग्यता नपुगेको शिक्षक नियुक्त गर्दा भोलि बालबालिकालाई घाटा हुन्छ। यस कारणले शिक्षाको स्तर घट्नेसमेत हुन्छ।

त्यसैले शिक्षाको गुणस्तर सुधारको लागि विद्यालयहरुमा दक्ष जनशक्ति मात्र राख्ने योजना तथा कार्यक्रमहरु विद्यालय व्यस्थापन समितिका पधादिकारी र विद्यालयका प्रधानाध्यायापकहरूलाई दिँदै आइरहेको छौं ।

यसैगरी, विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि कक्षा ८ परीक्षा नगरपालिकाले लिने तय गरेका छौं। विद्यालयको शिक्षाको गुणस्तर, व्यवस्थापन र विद्यार्थाीको सिकाइलाई मध्यनजर गरेर नगरका विभिन्न विद्यालयलाई पुरस्कृत गर्दै आइरहेका छौँ।

जसमा अहिले नगरका ६ विद्यालयलाई पुरस्कृत गर्‍यौँ। यसैगरी नगरका विद्यालयको परीक्षाको प्रतिफल हेरेर धेरै विद्यार्थीहरु गणित विषयमा कमजोर भएको मूल्यांकन गर्‍यौँ। यसको सुधारका लागि शिक्षकहरूलाई गणित विषयको तालिमसमेत सञ्‍चालन गरेका छौँ। 

तपाईंको नगरपालिकामा सार्वजनिक लेखा समिति किन बनाउन किन सकिरहनुभएको छैन?

बनाउन बाँकी भनेका लेखा समिति र विधान समिति हुन्। यी दुई समिति नबन्नुको प्रमुख कारण भनेको राजनीतिक कारण हो। पहिले यही कारणले गर्दा केहि कुरामा सहमति हुन नसक्दा समिति बनाउन ढिलो भएको हो। अब भने छिट्टै नै समिति बनाउनेतर्फ ध्यान दिनेछौँ। न्यायिक समितिले भने अहिले पूर्णता पाइसक्यो। न्यायिक समितिले पूर्णता पाउन केही समय लागे पनि अहिले समिति पूर्ण भएको छ।

आउँदो वर्षको बजेट कस्तो बनाउनुहुन्छ? करै मात्रै उठाउने कि काम पनि गर्ने खालको हुन्छ?

अवको बजेट सबैखाले काम गर्नसक्नेगरी  ल्याउँछौँ। जनताले तिरेको कर जनताकै हितका लागि प्रयोग गरेका छौँ। बजेट निर्माण कस्तो बनाउने भन्ने सवालमा भने छलफल अझै जारी छ।

बाटो भत्काउँदा वातावरणीय परीक्षण गरेर वातावरण जोगाउनेगरी काम कहिले थाल्नुहुन्छ?

वातावरण संरक्षणको काम सुरु भइसकेको छ। सडक सञ्जाल गाँउ–टोलमा पुर्‍याउने क्रममा खनिने सडकले गर्दा दैविक प्रकोप निम्त्याउने गर्दछ। त्यसैले प्रकोपबाट बच्नका लागि सडकको निर्माण गरी सकेपछि वृक्षरोपणको कामलाई अगाडि बढाएका छौं।

सडकको विकासका लागि यस आर्थिक वर्षदेखि दिगो सडक विकास नामक योजना लागू भएको छ। जस कार्यक्रमअन्तर्गत जैमिनी नगरका १० वडाका मुख्य सडकलाई परेको बजेटमध्ये ८० प्रतिशत रकम सडकको स्तरोन्नतिका लागि खर्च गरिन्छ भने २० प्रतिशत रकम नयाँ सडक बनाउन खर्चने भन्ने छ। उक्त योजना लागू गर्न मुख्य उद्देश्य भनेकै सडकलाई दिगो बनाउने हो।

जैमिनीवासी सबैले सहज हिसाबले खानेपानी पाउने दिन कहिले आउला?

नगरपालिकाका विभिन्न वडाहरूमा खानेपानीको समस्या देखिएको छ। ४ र ५ वडामा लिफ्टिङ प्रणालीबाट खानेपानी आपूर्ति गर्न लागिएको छ। यसैगरी नेवा र नगरपालिकाको साझेदारीमा नगरपालिकाका विभिन्न वडाहरूमा खानेपानी सहज तरिकाले पुर्‍याउन काम गरिरहेका छौं। त्यसैले अबको छिट्टै जैमिनीवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने योजना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.