जनप्रतिनिधि भन्छन् : थाहा छैन, स्थानीयको आरोप : हाम्रो भोटले खोला बेचे

|

विराटनगर : मोरङको लेटाङ नगरपालिको १ र ६ नम्बर वडामा पर्ने चुरे क्षेत्रबाट गैरकानुनीरूपमा ढुंगागिट्टी उत्खनन भइरहेको छ। कानुनअनुसार चुरे क्षेत्रबाट ठूला मेसिन लगाएर उत्खनन गर्न पाइँदैन।

तर, चिसाङ खोलामा रहेका आधा दर्जन बढी क्रसर उद्योगले आधा दर्जन बढी एक्स्साभेटर प्रयोग गर्दै त्यहाँ उत्खनन गरिरहेका छन्। यो विषयमा पटकपटक आवाज उठाउँदा पनि रोक्न कुनै पहल नभएको सांसद तथा जनप्रतिनिधि नै बताउँछन्।

‘लेटाङ नगरपालिकाको १ र ६ नम्बर वडामा रहेको चिसाङ खोलाको चुरे क्षेत्रमा ढुंगा गिट्टी उत्खनन र दोहन अत्याधिक छ,’ त्यस क्षेत्रका सांसद उपेन्द्र घिमिरे भन्छन्, ‘त्यस स्थानमा कसले ठेक्का लगायो, किन लगायो र कतिमा लगायो, थाहा छैन।’ लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला पनि चुरे उत्खनन भइरहेकोबारे आफूलाई जानकारी नभएको बताउँछिन्।

खनेको देखियो रोक्न सकिएन

अनुगमनमा गएको समयमा त्यस स्थानमा अत्यधिक दोहन भएको पाइएको उनको भनाइ छ। ‘१ मिटर खन्‍ने अनुमति दिएको भन्‍ने मलाई जानकारी छ, तर, यति माथिसम्म खन्‍न दिने भन्‍ने छ जस्तो लाग्दैन, बिहान अनुगमनमा जाँदा अढाई मिटर खनेको देखियो, रोक्न खोज्दा सकिएको छैन,’ रोक्ने जिम्मा तपाईंहरुको होइन भन्‍ने प्रश्नमा निरौलाले भनिन्, ‘जनप्रतिनिधिकै डोजर लगाइयो भन्‍ने पनि आएको छ, यस विषयमा मेयरसाबसँग छलफल गरेको छु।’

चुरेसँग नजिकमा पुलमा पुल छ, चुरेमा ठूला ठूला मेसिन हाल्न नहुने नियम छ। तर, त्यसस्थानमा आधा दर्जनबढी एक्साभेटर लगाएर खनिएको छ। खन्‍नेक्रम जारी छ।

त्यस क्षेत्रका सांसद घिमिरे त डिआइजी, सिडिओ, एसपी, जिल्ला समन्वय समिति सबैलाई भन्दा पनि रोक्न पहल कसैबाट नभएको भन्दै मिलेमतोको आशंका गर्छन्। ‘भन्‍नेजति सबैलाई भनिसकियो रोक्ने विषयमा कसैले चासो दिँदैनन्,’ उनको भनाइ छ।

लेटाङ नगरपालिकाले तेली खोलाको ३ वटा नाका र चिसाङको ७ वटा नाकाबाट खोलाजन्य वस्तु उत्खननको ठेक्का लगाएको छ। नगरपालिकाका अनुसार ४ करोड ५ लाखमा ठेक्कामा लगाएको हो।

यत्रो माल उठाउन यति सस्तैमा दिने नगरपालिका आफूहरूको मात्रै भएको बताउँछन् स्थानीय कृष्णप्रसाद लम्साल। ठेक्कामा लगाउँदा भनिएको परिणामको नदीजन्य वस्तु लगिसकिएको भए पनि अटेरी गरेर खोला नियमविपरीत उत्खनन गर्ने काम भइरहेको उनको भनाइ छ।

क्रसरले अत्याधिक खोला खनेको कारण पानी सुक्न थालेको छ। अनुगमनका क्रममा १ मिटर खन्नुपर्नेमा अढाइ मिटरसम्म खनिएको छ। नगरपालिकाले नै खोलाजन्य वस्तुको उत्खननमा ठेक्का लगाउने हो।

पैनी र पानीका मुहान सुक्दै गएको अवस्था छ। चुरे विनाश हुने अवस्था छ। नगर कार्यपालिकामा पनि यस विषयमा छलफल भएको छैन। ‘खोला ठेक्का लगाएर किसानको घाँटी निमोठियो। किसानले पानी कसरी उठाउने,’ जनविकास पैनी लेटाङका पूर्वअध्यक्ष सूर्य निरौलाको भनाइ छ, ‘खानेपानीको ट्यांकी बग्न सक्छ यसको जिम्मेवारी कसले लिने ?’

मेयरले मिलेमतो गरेको आरोप

खोलाको पुल माथिबाट हेर्दा पनि ठूला ठूला खाडल बनाइएको छ। नगरपालिकाका मेयर शंकर राईले मिलेमतोमा उत्खनन गर्न दिएको स्थानीय बताउँछन्। खोला उत्खननको विषयमा सरोकारवाला निकायले देखेको नदेखेझैं गर्नुले दालमा कुच कालाहे भन्ने उखान चरितार्थ भएको उनीहरूको भनाइ छ।

‘हामीले हेर्दाहेर्दै खोलामा पानी सुक्न थाल्यो,’ स्थानीय बचरीमाया मगर बताउँछिन्, ‘अब हाम्रो भोट पाएर गए खोला खन्न पो रहेछ।’

‘विकास निर्माणका लागि खोलाजन्य वस्तु आवश्यक हुन्छ। सरकारले उक्त वस्तु निकासीका लागि स्थानीय सरकारलाई खोला ठेक्कामा लगाउने अधिकार दिएको छ,’ स्थानीय भुपेन्द्र लावतीको भनाइ छ, ‘तर, स्थानीय तहकै जनप्रतिनिधिको मिलेमतोमा ठूलो सेटिङ गर्ने र प्राकृतिक सम्पदाको दोहन हुने परिपाटीले हाम्रो पर्यावरणमा ठूलो असर परिरहेको छ, यसले चुरे विनाश हुने र बाढी पहिरोको अझै उच्च जोखिम निम्त्याएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.