|

मनाङ : अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ जिल्लामा माघ महिनादेखि वैशाखसम्मको चौमासिकमा १० हजार बढी विदेशी पर्यटक भित्रिएका छन्।

विश्व पर्यटन बजारमा खुम्बु क्षेत्रपछि दोस्रो रोजाइमा पर्दै आएको अन्नपूर्ण पदयात्रा मार्गअन्‍तर्गत मनाङमा यसवर्ष चार महिनाको अवधिमा १० हजार ६ सय ७ जना विदेशी पर्यटक भित्रिएका हुन्।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको समर र विन्टर गरी दुई सिजन हुने गर्छ। यो सिजन जनवरीबाट सुरु भई मे महिनामा सकिने गर्छ।

हिउँदे र वर्खे मौसम गरी वर्षमा दुईपटक आन्तरिक तथा वाह्य पर्यटकहरु मनाङ र अन्नपूर्ण पदयात्रा मार्गको भ्रमण गर्ने गर्दछन्।

यसै अवधिमा यहाँ भारी हिमपात परेपछि यहाँ आउने पर्यटकको संख्या घट्ने अनुमान गरिए पनि गतवर्षको तुलनामा पर्यटकको संख्यामा गिरावट नआएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेक पोष्टका पर्यटक सहायक आसीस विश्वकर्माले बताए। तर, जुनरूपमा पर्यटकको संख्यमा बढ्नुपर्ने हो सोअनुरूप नभएको पर्यटक सहायक विश्वकर्माको बुझाइ छ। उनले भने, 'यो वर्ष हिमपातका कारण सिजन ढिलो सुरु  भयो' उनले थपे, 'पछि पनि केही समयसम्म हिमपात हुँदा सोचेजस्तो पर्यटक आउन सकेनन्।'

अन्‍नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्यांकअनुसार यस सिजनमा सबैभन्दा बढी इजरायली नागारिक ६ सय ७ जना भित्रिएका छन् भने सबैभन्दा कम भियतनामी २ सय १३ जना भित्रिएका छन्।

सिजनको पहिलो महिना जनवरीमा सबैभन्दा कम जम्मा ४ सय ७२ जना मनाङ भित्रिएका थिए भने सबैभन्दा बढि अप्रिल महिनामा ५ हजार ९८ जना पर्यटक मनाङ भित्रिएका धारापानी पर्यटक प्रहरीको भनाइ छ।

जनवरी  महिनादेखी मे महिनासम्म क्रमश: ४ सय ७२ जना, ५ सय १४ जना, २ हजार ५ सय ९५ जना, ५ हजार ९८ जना र सिजनको अन्तिम मे महिना १ हजार ९ सय २८ जना गरी कुल १० हजार ६ सय ७ जना विदेशी पर्यटक मनाङ भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्ट मनाङले जनाएको छ।

यसवर्षको पर्यटकीय बर्खे मौसममा जर्मनी, फ्रान्स, ब्रिटिस, रसिया, भियतनाम, इजरायल र अमेरिका गरी जम्मा ७ वटा देशका नागारिकले मनाङ हुँदै अन्नपूर्णको फन्को मारेका छन्। हिउँदे मौसममा भने अत्याधिक हिमपातले पर्यटक आवागमनमा बाधा उत्पन्न गरेको थियो।

प्रतिकूल मौसमका बावजुद पनि पर्यटक आवागमनको तथ्याकंले भने सकरात्मक अवस्था नै देखाएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.