फिचर

आरतीसँगै पशुपतिमा जसले गुञ्जाउँछन् ॐकार धून
SHARES

भीमको जीवन : इलामदेखि बनारस हुँदै पशुपतिसम्म

जेठ २३, २०७६

    काठमाडौं :  साँझको छ बजे। पशुपति आर्यघाट। जीवनसँग पौठेजोरी खेलेर भौतिक दुनियाँबाट बिदा भएका केही लास चितामा छन। केही लास चितामा चढ्ने पर्खाइमा।  बाग्मती एकतमास आफ्नै सुरमा बग्दैछ। बाग्मतीमा पानी बग्छ या फोहोर छुट्टाउन सकिन्‍न। त्यही बाग्मतीमा मरेका मान्छेहरूका आफन्तको आँसु पनि मिस्सिएको छ। चितामा जलेको लास हेर्दै कोही जीवनका नयाँ परिभाषा खोज्न भौतारिरहेका छन।

    यहाँ दिनभर जागिर खाने र जागिरको खोजी दिभर भौतारिनेहरूको बिथोलिएका मनको बाक्लो उपस्थिति देखिन्छ। यतै केही प्रेमिल जोडीहरू एकान्त खोज्दै छन। कसैको हाँसो, कसैको रोदन, चिताबाट उठेको धुवाँ, भजनको ध्वनि, शिवमा समर्पित 'भजनको कक्टेल'को स्वाद पशुपति क्षेत्रले एकैचोटी दर्शनर्थीलाई चखाएको छ।

    कोही पशुपति क्षेत्रबाट अनुहारमा उज्यालो अनुहार बोकेर फर्कँदैछन, मानौं उज्यालो प्रकाशको एक अंश उनीहरूले सापटी मागेर पो आएका हुन की? निस्सार जिन्दगीलाई बाइबाइ गर्ने कुनै नयाँ सूत्र पो भेट्टाए की?  त्यहीँ एउटा साँझमा पशुपति क्षेत्रमा आरती सुरू हुन लागेको छ। आरतीमा तीनजना पुजारी देखा पर्छन। तिनै पुजारीले एकसाथ एकै सुरमा शङ्ख फुक्छन। त्यही बेला तितरबितर भएका आस्तिकदेखि नास्तिकसम्म एकीकृत हुन थाल्छन। पुजारीहरू दियो बाल्छन। पूजा गर्छन । धूप घुमाउँछन।  मन्त्रोच्चरण गर्छन। त्यसपश्चात संगीतको धून बज्न थाल्छ । अनुयायी झुम्न थाल्छन।

    'आदौ च तुस्पार तलैक देश दौं। नाभी देशे मुखपंक जैकम सर्वाङ्ग त्रिसप्तवांर आरतीकौ नवधा वदनती'

    अर्थात, चार पाउ चार पटक, सात पटक, माथि पूर्ण तीन पटक, पैरी सात पटक गरेर एक्काइस पटकको  परिक्रममा।

    तिनै पुजारीमध्ये एक हुन 'भीम प्रसाद भट्टराई वशिस्ट'। आरती भनेको एक भक्तिमार्ग हो। भगवानलाई ईश्वरीय तत्वलाई आरधना गर्ने नौ किसिमको भक्तिमध्ये एक हो। पशुपतिमा यसको सुरूवात २०६४ साउन  २१ गते सोमबारबाट भएको हो। सुरूवातबाटै उनी पुजारीको रूपमा यहाँ कार्यरत छन्। त्यसभन्दा भन्दा अघि बनारसमा हुने गर्थ्यो आरती। बनारसपछि पाश्वत क्षेत्र अर्थात् हिन्दुहरूको महान तीर्थस्थल पशुपतिनाथ मन्दिर परिसरमा पनि आरती थालनी गरिएको हो।

    यसको मुख्य उद्देश्य पाश्वत क्षेत्र र विश्वले धार्मिक,सांस्कृतिक र एैतिहासिक महत्वका हिसाबले नेपाललाई हेर्ने दृष्टिकोणमा अझ प्रगाढ बनाउनु हो।  आरती पनि थपिएमा अझै सुनमा सुगन्ध होस् भन्‍ने हेतुले यो काम थालेको भट्टराई बताउँछन। परिवारका सदस्यको जन्मदिन, विवाहोत्सव वा मृतकको आत्माको चिरशान्तिका लागि आरती गराउनेले केही रकम भेटी पनि चढाउँछन्।

    अहिले आरती गर्न तीन पुजारी नित्यरूपमा उपस्थित हुन्छन्। भट्टराईका अनुसार पशुपतिको क्षेत्रमा आरतीका लागि पाँचदेखि सातजना पुजारी हुनपर्ने हो। यो विशेष गरेर माता बाग्मती र पशुपतिलाई समग्रमा जोडिएको छ। यहाँ संस्कृतका वाङ्‍मयी वाणीहरू गाइन्छ। तीनैजनाले एकै मन्त्र उच्चारण गर्छन्। पशुपति र बाग्मतीको दुवैको आरती एकैसाथ गरिन्छ। शास्त्रका अनुसार आरतीको एउटा नियम हुन्छ। यो सांगीतिक वातावरणमा गरिने हुनाले संगीतको तालसँगै आरतीको ताल पनि चलेको हुन्छ। पुजारीले संगीतको धूनमा आरती गर्छन्, भक्तजन त्यसैमा झुम्छन्।

    अहिले आरतीका लागि काम गर्ने कर्मचारीको संख्या १२ छ। सांगीतिक फाँटमा तीनजना छन्। पुजारी पनि उत्ति नै। वैकल्पिक पुजारी दुईजना। व्यवस्थापनामा दुईजना र सरसफाइमा दुई कर्मचारी छन्। कतिपयलाई लाग्न सक्छ यो पशुपति क्षेत्र विकास अन्तर्गत पर्छ। तर यो पशुपति बाग्मती गंगा आरती समिति अन्तर्गत छ।

    एक घण्टा आरती

    भट्टराईका अनुसार आरतीको समय एक घण्टा लामो हुन्छ। यहाँ सात प्रकारका भजन गाइन्छ। सुरूमा भगवानको संकल्प पूजा हुन्छ। शंखध्वनि सुरू हुन्छ। अगरबत्ती बालेर ॐकारको आकारमा सजाइन्छ। त्यसपछि अस्टगन्ध र सालधुपयुक्त धुवाँको धुपले भगवानलाई प्रशन्‍न बनाइन्छ। त्यसपछि ५२ वटा बत्तीसहितको खण्ड खण्डको आरती सुरू हुन्छ। त्यसपछि ताण्डव आरती गरिन्छ।

    यो आरतीमा कपुरको बत्ती विशेष हुने गर्छ। ताण्डव आरती रावणले भगवान आशुतोष शंकरलाई यो भजन गाएर प्रशन्‍न पारेको विश्वासमा आधारित छ। यो आरतीसँगै भगवानसामु नृत्य गरेको शास्त्रले बताउँछ। आरतीपछि हातमा रूमाल लिएर भगवानको पसिना सफा गर्न चारैदिशा रूमाल घुमाइन्छ।त्यसपछि मयुर पङ्खाद्वारा हावा दिइन्छ। र, अन्त्यमा चमरीपुछ्यले भगवानलाई पूर्ण शीतल मिलोस् भन्दै चमरमार्फत् आरतीलाई समाप्त गरिन्छ।

    समग्रमा पहिलो अगरबत्ती, दोस्रो कपुर धुप घुमाउने, तेस्रोमा भगवानको विशेष आरती, चौथोमा ताण्डव आरती, पाँचौमा रूमालले शीतलता प्राप्ति, छैटौंमा मयुर पङ्खा घुमाउने र सातौं चरणमा चमर घुमाउँदै शंखध्वनी बजाएर आरती सकिएको घोषणा गरिन्छ।

    इलामबाट आरतीसम्मको यात्रा

    भगवानको भक्ति गर्न पढ्नै पर्छ भन्‍ने होइन। तर भट्टराईले शास्त्री गरिसकेका छन्। धर्म शास्त्रानुसार पूर्वमध्यमा, मध्यमा पढेकाले आरती गर्न सक्छन।आरती गर्न शैक्षिक योग्यताको बन्धन नतोकिएको भट्टराई बताउँछन। 

    भट्टराइले आरती गर्ने शैली बनारसमा सिकेका हुन्। उनले त्यहाँका नेपाली ब्राम्हणले यो विधि सिकाएको बताए। उनी इलामका स्थायी बासिन्दा हुन्। झापाको अर्जुनधारामा संस्कृत गुरूकुलमा अध्ययन गरेका थिए। त्यहाँ उनले बेद बेदाङ्‍गको अध्ययन गर्दै बनारसमा पुगेर एसएलसी गरे। बनारसको गर्मीले उनको शरीरलाई 'च्यालेन्ज' गर्‍यो। त्यो मौसमलाई उनले सहन सकेनन्। त्यसपछि हरिद्वार लागे। हरिद्वारमा अध्ययन गर्न चार वर्ष बसे। त्यसपछि घर फर्किए। घर फर्किएर अध्ययनको क्षेत्रलाई फराकिलो बनाउन उनी  वि.सं. २०६३ सालमा काठमाडौंको नाइट बस समाते। वाल्मीकि विद्यापीठमा भर्ना भए।

    काठमाडौं आइसकेपछि भर्खर आरती थालनी हुदैँ थियो। सहकर्मीले उनलाई पुजारी बनेर आबद्द हुन हौसाए। फलस्वरूप १२ वर्षदेखि उनी आरती गरिरहेका छन।

    आरती गर्ने पुजारीको कमाइ ?

    संस्थाले पुजारीलाई तबल भन्दा दक्षिणा दिने गरेको बताउँनछन उनी। हाल संस्थाले उनीहरूलाई ४५ सय रूपैयाँ मासिक रूपमा प्रदान गर्दै आएको छ। शहरको महँगी हेर्दा यो दक्षिणाले केही टर्दैन। तर उनीहरु तीन वर्षदेखि यही रकममै चित्त बुझाएर बसेका छन्। 

    समयानुकूल मासिक नौं हजार हुनुपर्ने उनको भनाइ छ। दिनको एक घण्टा मात्रै हो पुजा गर्ने। तर चर्को हावाहुरी, पानी र चट्याङमा पनि आरती रोकिँदैन। यो त जोखिमपुर्ण काम हो। संस्थाले कर्मचारीको पनि समस्या बुझिदिनुपर्छ। यद्यपि भगवानको भक्तिमार्ग पथमा जोडिनु खुशीकै कुरा हो। उनी आफ्नो कहानीलाई यसरी बिट मार्छन।

    नेपालमा संस्कृत

    संस्कृत रूढवादी भाषा होइन। यो त सबै भाषाको मूल नै हो। पुरातन सोचको भाषा पनि होइन। संस्कृत भनेको सु-सभ्य भाषा हो। संस्कृत भाषाको जननी हो।  संस्कृत पढेर जजमानी नै गर्नुपर्छ भन्‍ने नभएको बताउँछन उनी। संस्कृत  पढेकाहरू सचिव भएका छन। प्राध्यापक भएका छन्। विभिन्‍न पदमा आसिन भएका छन्।

    संस्कृतको स्थिति संस्कृत र नेपाली भाषा साहित्यको प्रवर्द्धनमा अनवरत लागि परेका भीम संस्कृतप्रति संकुचित सोच रहेको बताउँछन्। संस्कृत परापूर्वकालदेखि नै बोलिँदै र लेखिदै आएको भाषा हो। लिच्छवीकाल वा मानदेवको अभिलेखसमेत संस्कृतमा पाइन्छ। शंकरदेवका अभिलेख, पशुपतिका अभिलेख, अंशुवर्माका अभिलेख पनि संस्कृतमा नै लेखिएका छन्। राजा त्रिभुवनसम्म आइपुग्दा संस्कृतको ज्ञान लिनेको संख्या बढ्दै गयो। 

    नेपालमा राजनीतिक परिवर्तनसँगै अन्य भाषाले स्थान लिँदै जाँदा संस्कृत केही गौण भएको छ। 'सायद पश्चिमा सभ्यताको बोलवाला बढी हुँदै जाँदा यसतर्फ मान्छेको आशक्ति घट्दै गएको हो कि?', संस्कृत भाषाका प्राध्यापक रामहरि दाहाल बताउँछन।

    उनका अनुसार नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका आंगिक १४ वटा क्याम्पसले संस्कृत पढाइरहेका छन्। आफ्नै लगानीमा ३०० भन्दा बढी गुठी नेपालभर सञ्चालनमा छन। संस्कृत सिक्न पछिल्लो समय सेवा निवृत्त सरकारी कर्मचारी तथा युवाको संख्या बढ्दो छ।

    यसको ज्वलन्त उदाहरण अहिले वाल्मीकि विद्यापीठ र देवघाट गयो भने देख्न सकिने दाहालको तर्क छ। संस्कृत नेपालमा मात्र नभएर विदेशका विभिन्‍न विश्वविद्यालयमा पनि पढाई हुने गर्छि। सयौँ विदेशीहरू नेपालमा आएर संस्कृत भाषा सिकिरहेका छन्।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]