चिकित्सक भन्छन्- जटिल अवस्थाका गर्भवतीलाई पनि सेवा दिन सक्छौँ

|

उदयपुर : उदयपुरको जिल्ला अस्पतालपछिको दोस्रो ठूलो कटारी अस्पतालले पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा दिएको छ। कटारी नगरपालिका र प्रदेशको व्यवस्थापनपछि अस्पतालले आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु गरेको हो।

शल्यक्रियाबाट प्रसूति गराउन परे गर्भवतीको रेफर नै गर्नुपर्ने बाध्यतालाई कटारी अस्पतालले समाधान गरेको छ। शल्यक्रिया गरेर कटारी अस्पतालमा प्रसूति शल्यक्रिया सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर पवनकुमार साहले जानकारी दिए।

डाक्टर पवन, गौरव साह र डाक्टर देवेन्द्र गौतमसहितको टोलीले सफलतापूर्वक जटिल अवस्थामा रहेका गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति गराउन थालेको बताए। २० गतेबाट सुरु शल्यक्रियाबाट प्रसूति गराउने सेवाले अहिलेसम्म तीनजनाले लिएको उनले बताए।

‘शल्यक्रियामार्फत प्रसूति गराउन परे सिरहाको लाहान विराटनगर पठाउनु पर्ने बाध्यता थियो,’ उनले भने, ‘हामीले शल्यक्रिया मार्फत प्रसूति गराएका दुईजना डिस्चार्ज भइसकेका छन् भने, एकजना बाँकी छन्।’

कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फूलकुमारी दनुवारले पहिलो सन्तान जन्माउँदा लहानको निजी अस्पतालमा शल्यक्रिया गरेकी थिइन्। दनुवारले त्यसको २५ महिनापछि दोस्रो सन्तान जन्माउँदा पहिलो पटक कटारी अस्पतालमै शल्यक्रिया भएको छ।

प्रसूति शल्यक्रिया सेवा सुरू भएसँगै छिमेकी जिल्ला सिन्धुली, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलाई समेत फाइदा पुगेको छ। अस्पतालको भवन हस्तान्तरण भएको साढे दुई वर्षपछि मात्र प्रसूति शल्यक्रियाको सेवा दिन सकिएको प्रमुख डा साहको भनाइ छ।

१५ बेडको यो अस्पताललाई हाल प्रदेश १ ले पनी उच्च प्राथमिकतामा राखी अस्पताललाई प्रदेश मातहत राख्नको लागि कटारी नगरपालिकाले पहल गरी पत्रचारसमेत गरिसकेको नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

कटारी नगरपालिकाका श्रेष्ठले प्रदेशकै नमुना अस्पताल बनाउन अस्पताललाई व्यवस्थापन गरिरहेको बताए। ‘नगरपालिकाले प्रदेश मातहतको लागि पहल गरिरहेका छौ,’ उनले भने, ‘१५ शय्याको कटारी अस्पताल स्तरोन्नति भए पनि आकस्मिक प्रसूति शल्यक्रिया सेवा दिन सक्ने रहेछौँ।’

कटारीमै सेवा नहुँदा यस क्षेत्रका सर्वसाधारण आकस्मिक प्रसूति शल्यक्रियाका लागि महँगो मूल्य तिरेर धरान, विराटनगर, काठमाडौंसम्म पुग्नु बाध्यता हटेको पनि बताए।

कटारी अस्पतालको मुहार डा गौरव साहले फेरेका हुन्। नेपाल सरकारको छात्रबृत्तिमा नेपाल मेडिकल कलेज नेपालगञ्जबाट एमबिबिएस गरेका उनले दुई वर्ष भेरी अञ्चल अस्पतालमा करारमा काम गरे। बिपी प्रतिष्ठान धरानमा एमडीमा नाम निस्किएपछि ४ महिना धरानमै पढेर लोकसेवाको आठौँ तह (मेडिकल अधिकृत) मा स्थायीमा नाम निकालेर कटारी अस्पताल आएसँगै उनले छोटो समयमा नै कटारी अस्पताललाई व्यवस्थित बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.