'औचित्य पूरा भइसक्यो, आपत्ति जनाउनुपर्दैन'

|

काठमाडौं : सभामुख कृष्णबहादुर महराले प्रक्रिया मिचेर प्रतिनिधिसभा बैठक राखेका छन्। प्रक्रिया मिचेर बिहीबार बैठकको कारबाही अघि बढाएपछि अर्थमन्त्री डा. युवराज खतिवडा अप्ठ्यारोमा परे।

संघीय संसद प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा सभामुखले प्रक्रिया मिचेर बैठक चलाएपछि अर्थमन्त्री डा. खतिवडा अलमलमा परेका हुन्। दोस्रो बैठकको कार्यसूचीमा मन्त्री खतिवडाले 'विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस् भने प्रस्ताव पेश गर्ने' कार्यसूची थियो। कार्यसूची मिचेर सभामुखले मन्त्रीलाई उक्त प्रस्ताव पेश गर्ने समय नै दिएनन्।

दोस्रो बैठक सुरु हुनेबित्तिकै सभामुख महराले भने, 'सर्वप्रथम् विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस् भन्‍ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। माननीय सदस्यहरू यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने ब्यहोरा जानकारी गराउँदछु।'

प्रस्ताव पेश गर्न तयार रहेका अर्थमन्त्री खतिवडा भने उक्त प्रस्तावमाथि छलफल सुरु भएपछि अलमलमा परे। सभामुखले भने छलफलमा भाग लिन चाहने सांसदहरूलाई संसद सचिवालयका कर्मचारीलाई नाम टिपाउन भनिसकेका थिए। सांसद प्रेम सुवालले पहिलो वक्ताका रूपमा छलफलमा भाग लिएका थिए।

प्रतिनिधिसभा नियमावली, २०७५ को परिच्छेद -१७, नियम १४२ मा 'विनियोजन तथा अर्थ विधेयकसम्बन्धी कार्यविधि'को व्यवस्था गरिएको छ। जसको उपनियम ५ लाई सभामुखले मिचेका हुन्। उक्त नियममा लेखिएको छ, 'बैठकमा वार्षिक अनुमानमाथि छलफल समाप्त भएपछि उपनियम २ बमोजिम भएको छलफलको आधारमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्नेछ।'

पढ्नुहोस्, प्रतिनिधिसभा नियमावलीको व्यवस्था:

सभामुखले आफूलाई 'विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस् भने प्रस्ताव पेश गर्ने' समय नदिई छलफलमा लगेपछि मन्त्री खतिवडाले प्रक्रियालाई लिएर चासो राखेका थिए।

उनले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग चासो राखेका थिए। बैठकमा सहभागी एक सांसदका अनुसार त्यो बेला मन्त्री खतिवडा असजिलो महसुस गरेको भावमा देखिएका थिए। यो विषयमा चासो राख्दा नेम्वाङले बोल्न चाहेनन्। उनले संसद प्रक्रियामा चल्नुपर्नेमा केही तलमाथि भएको हुनसक्ने मात्रै टिप्पणी गरे।

'सभामुखलाई सबै अधिकार'

प्रतिनिधिसभाको बैठकपछि प्रक्रिया मिचिएकोबारे सभामुख र कार्य व्यवस्था परामर्श समितिका संघीय संसद सचिवालयका पदाधिकारीबीच छलफल भएको थियो।

उक्त छलफलमा 'विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस् भने प्रस्तावमाथि छलफल भएको भन्दै प्रक्रिया मिचिएको विषय ठुलो नभएको निष्कर्ष निकालिएको बैठकका एक सहभागीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने।

'त्यो बेला प्राविधिक मिस्टेक भएको रहेछ। त्यो छलफलमा ल्याइयो र छलफल भयो। खास समस्याको विषय भएन', सभामुखसहितको बैठकमा निक्लेको निष्कर्षबारे ती अधिकारीले भने, 'प्रस्ताव पेश गर्न लगाएर छलफल गर्नुपर्ने हो। निर्णयार्थ प्रस्तुत गर्ने कुरा थिएन। त्यसैले त्यसको औचित्य पूरा भयो। यसमा धेरै आपत्ति जनाउनुपर्ने देखिँदैन।'

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई यो विषयमा जिज्ञासा राख्दा सदनको काम कारबाहीको अधिकार नियमावलीले नै सभामुखलाई दिएको बताए। उनले उनले सदनको छलफलमा आएको विषय स्वतः पेश भएको मान्‍न सकिने बताए। विरोधको सूचना नभएपछि प्रस्तावलाई छुट्टै पेश गर्नु नपर्ने उनको तर्क थियो। संसद बैठक संचालनका क्रममा यसअघि पनि  सभामुख महराका यस्ता कम्जोरी सार्वजनिक हुँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.