|

पाँचथर : बाहिर मानिसहरू चिच्याएपछि इन्दु जबेगूमगर दोकान कोठादेखि फुत्त बाहिर आइन्। भुँइचालो आयो कि भनेर हेर्दा आफ्नै अगाडि आगोको लप्का देखिन्। ‘हेर्दा हेर्दै कति छिटो आगो लाग्यो। एकैछिनमा दोकान सकियो’ उनले भनिन्, ‘कति रोएँ। कति कराएँ। लगानी सबै सकियो।’

बिहीबार दिउँसो पाँचथरको सदरमुकाम फिदिममा तारिणी साहको पाथिभरा मिष्ठान्न भण्डारदेखि सल्केको आगोले इन्दुको दोकान हेर्दा हेर्दै खरानी भयो। न नगद निकाल्न पाइन् उनले न सामान नै। विदेशदेखि काठमाडाैं आएका श्रीमानलाई फिदिम लिएर बिहीबार मध्यान्ह मात्रै आइपुगेका उनको एकैछिनमा भए भरको सम्पति स्वाहा भयो। 

उनीसँगै छिमेकी सीता योङहाङको सीता होटल पनि खरानी भयो। सीताले सुँकसुँकाउँदै भनिन्, ‘अरू सबै भागिसकेछन्। म तभित्र कोठामा फूल रोप्दै थिएँ। नानीहरू पनि थिए। हिडुँ भन्छु। हिड्न सकिन। बोलुँ भन्छु बोल्न पनि सकिन। बाटोमा कसले गाडी ठोकाएछ भनेर आएको त के को आगो टिभिमा आइपुगेको छ।’ उनले पर्स र चाबीबाहेक केही पनि निकाल्न पाइनन्। दिनरात दुःख गरेर कमाएको कमाई एकैछिमा आँखै अगाडि खरानी भएको हेर्नबाहेक उनीसँग अर्को विकल्प थिएन।

‘यत्रो होटलको केही निकाल्न पाइन। ग्याँस पड्किन्छ भनेर सबै भागेँ’ उनले भनिन्, ‘बचेको भनेको त यही जीउ मात्रै हो। के चाहिँ निकाल्न पाइयो र?’ इन्दु र सीतासँगै छिमेकमा दोकान गर्दै आएका हरिप्रसाद भट्टराईको पनि फलफूल पसल  जलेर नष्ट भयो। उनले पनि दोकानबाट न नगद निकाल्न पाए न त सामान नै। पाए त आफ्नै पसिना खरानी भएको हेर्न। अर्को दोकानमा पाथिभरा मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका साहको दोकानबाट सल्केको आगोले साहसँगै चार जनाको दोकान केही रहेन।

मिठाई बनाउन तताएको तेलमा आगो उठेर आगलागी भएको पाइएको प्रहरीले जनाएको छ। चारवटै दोकान संगीत राना मगर (घरचाहिँ श्रीमति इन्द्रकुमारी मगरको नाममा रहेको) र कर्ण थापा मगर (घरचाहिँ श्रीमति विना मगरको नाममा रहेको) मा थियो। दुवै घर र घरमा भएका दोकान जल्दा करिब अढाई करोडको क्षति भएको अनुमान गरिएको छ। यससँगै आगलागीले सावित्री केरूङ योङहाङको घरमा पनि आंशिक क्षति पुगेको छ।

इन्द्र ढकालको घरको अगाडिपट्टिको छाप्रोमा रहेको गुलाब मोहमदको कस्मेटिक पसलमा पनि आगलागीले सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। 

भर नभएको दमकल

फिदिम नगरपालिकाको दमकल आगो लागेको थाहा पाए लगत्तै आगलागी भएको क्षेत्रमा पुग्यो। दन्किरहेको आगोको लप्कालाई निभाउने प्रयास गर्‍यो। तर दमकलमा पानी सकिएपछि आगोले फेरि उग्र रूप लियो। दमकलविनै एकछिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँगै सयौंको संख्यामा भेला भएका बजार क्षेत्रका स्थानीयले आगो नियन्त्रणमा लिने प्रयत्न नगरेका होइनन्। तर सम्भव भएन।

धन्न फिदिममा सञ्चालित फिदिम दोस्राे साना सहरी खानेपानी आयोजनाको पाइपलाइनबाटै पानी तानेर निभाउन सकियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.