|

बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ मा शुक्रबार बिहान ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका सबैको पहिचान खुलेको छ।

अमर ग्यास कम्पनीको सिलिण्डरबाट ग्यास लिक भई भएको आगलागीमा परी ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनिता थिङ गरी एकै परिवारका चारजना घाइते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ।

त्यसैगरी ५२ वर्षीया दिलमाया वाइबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया घाइते भएका छन्। घाइतेमध्ये ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले जानकारी दिए। घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ।

यसरी भयो दुर्घटना

प्रहरी नायब निरीक्षक शाहीका अनुसार रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र आगो बाल्दा ग्यास पड्किएको हो। नजरमानकी बुहारी ज्ञानीमायाले चिया पकाउनका शुक्रबार बिहान स्थानीय पसलबाट नयाँ सिलिन्डरमा रेगुलेटर जोडेकी थिइन्।

उनको घरमा छलफल गर्नका लागि छिमेकी आएका थिए। रेगुलेटर जोड्न नसकेपछि ज्ञानीमायाले सबैलाई जानकारी गराइन्। घरमा उपस्थित सबै भान्सामा पुगे। त्यतिबेलासम्म भान्सामा ग्यास लिक भइसकेको थियो। रेगुलेटर जोडेर ग्यास बाल्ने क्रममा आगो लागेको र ग्यास पड्किएको हो। ग्यास पड्किएलगत्तै स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पुर्‍याएका थिए । 

बारामा ग्यास सिलिण्डर लिक भएर आगलागी, सात जना घाइते

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.