|

रुकुम : मन्दिरमा भगवानलाई खुसी पार्न फलफूल, दूधलगायत विभिन्न मिष्ठान्न परिकारहरू चढाउने गरिन्छ। तर, आफूले पूज्ने देउतालाई जाँडरक्सी चढाइन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ।

तर, अचम्म नमान्नुस् रुकुमपूर्वमा परम्परा नै हो यो। रुकुमपूर्व मगर समुदायहरुको बाहुल्य जिल्ला हो। जहाँ देबी देउताको नाममा मात्र होईन अन्य पूजापाठ, अन्न बाली भित्र्याउने र लगाउने वा कामको सुरुवाती अनी अन्तिम दिनमा रक्सी तथा जाँड चढाउने गरिन्छ।

तन्त्रमन्त्र फाकफूक गरेर कामको शुभारम्भ र समापन गर्ने क्रममा जाँड रक्सी चढाउने चलन रहेको रुकुमपूर्व भूमे गाउँपालिका स्थानीय जयमान बु्ढामगरले बताए। ‘जस्तैः जन्म, विवाह, मृतकको सभाशुद्ध तथा पूजा र बलि दिने क्रममा पनि तन्त्रमन्त्र जपी रक्सी चढाउने गरिन्छ’ उनले भने, ‘परापूर्वकालदेखि रितिथिति त्यसैअनुसार रही आएको यहाँका वृद्धवृद्धा ज्येष्ठ अगुवा नागरिक सबैले त्यसैअनुसार गर्दै आएका छौँ।'

रुकुम पूर्वका अधिकांश घरहरुमा घरेलु मदिरा बनाउने गरिन्छ। तर उक्त जाँड रक्सी व्‍यावसायिक प्रयोजनका लागि भने होइन। कुनै पनि शुभकार्य गर्दा, काम समापन गर्दा र देउतालाई चढाउन लागि उक्त मदिरा सांस्कृतिक रुपमा नै बनाउने गरिएको हो।

उक्त मदिरा देउतालाई चढाईसकेपछि प्रसादको रुपमा सबैको एक/दुई गिलास चाख्ने पनि गरिएको छ। मगर समुदायहरुले साँस्कृतिक संस्कारको रुपमा बिहे ब्रतबन्ध लगायतका अन्य कार्यक्रमहरूमा पनि मदिरा इष्टमित्रको घरमा कोशेलीको रूपमा लिने गरिएको छ। रुकुम पूर्व पुथा उत्तरंगा गाउँपालिका १३, पद्मीका शान्त बुढा पितर पूजामा रक्सी अनिबार्य जस्तो रहेको बताउछन।

‘मृत्यु भएका आफ्ना सन्तानहरुको सम्झनामा कसैले वर्षमा कम्तीको १ र कसैले वर्षमा दुई तीनपटक पनि आफ्ना मृत सन्तानहरुलाई सम्झने गरिन्छ’ उनले भने, ‘उक्त बेला उहाँहरुको सम्झनामा बनेका बिसाउना र चौतारा लगायतका ठाउँमा गएर लिपपोत गरेर रक्सी चढाउने गरिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.