|

सिरहा : लहान नगरपालिका–१९ छर्रापट्टि गाउँकी छ महिने सुत्केरीको शङ्स्पद मृत्यु भएको छ। २२ वर्षीया नुरजहाँ खातुनको कुटपिट गरी हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। 

कुटपिटबाट गम्भीर घाइते भएकी खातुनलाई शुक्रबार बिहान करिब २ बजे विराटनगरस्थित विराट नर्सिङ् होम पुर्याएर उपचार गर्ने क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि शुक्रबार दिउँसो शव लहान ल्याइए पनि पोष्टमार्टका लागि पुनः धरान पठाइएको छ। 

सुखीपुर नगरपालिका–२ विद्यानगर गाउँबाट लहान आएका माइती पक्षले नुरजहाँको कुटपिटबाट हत्या भएको भन्दै पोष्टमार्टम गराउन माग गरेपछि प्रहरीले शव पोष्टमार्टमका लागि शुक्रबार साँझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको हो।

छर्रापट्टि गाउँका २५ वर्षीय समीर राइनले नुरजहाँलाई विवाहलगत्तै कुटपिट गर्दै आएको नुरजहाँका मामा जहाँगिर मियाँको दाबी छ। तीन वर्षअघि विवाह भएकी नुरजहाँका छ महिने छोरा र दुई वर्षकी छोरी समेत छन्।
  
नुरजहाँको उपचारका लागि विराटनगर गएका पति समीर र सासु बतुलिया खातुन शव ल्याउँदा ल्याउँदै शवबाहन रोक्न लगाई सुनसरीको इनरुवाबाट फरार भएका छन्। माइती पक्ष नुरजहाँलाई कुटपिट गरी हत्या गरेको आरोपसहित प्रहरीमा पुगेपछि सासु र पति बाटोबाटै फरार भएको हुन सक्ने आशङ्का गरिएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजेश थापाले माइती पक्षले कुटपिट गरी हत्या गरेको आरोपसहित पोष्टमार्टमका लागि निवेदन दिएपछि शव धरान पठाइएको बताए। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे यकिन विवरण आउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.