|

भक्तपुर : नेवारी भाषामा वः अर्थात बारा। नेवारी लोकप्रिय परिकारमध्ये एक परिकार। सिठी नख (सिथिः नख) लगायत चाडपर्वमा यो परिकार नभई हुँदैन।बारा नेवार समुदायबाहेककालाई पनि मनपर्ने परिकार हो।

बारा मास वा मुगीको दालबाट बनाइने रोटी हो। बारालाई ताउमा तेल दलेर रोटी जस्तै पकाइन्छ। कसैले तेलमा तारेर पनि बारा तयार गर्छन्।भक्तपुरमा ५० वर्षदेखि बारा पसल सञ्चालन गर्दै आएकी बिकुमाया बज्राचार्यका अनुसार मास वा खोस्टा भएको हरियो मुगीको दालबाट तयार हुन्छ। पिसेको अदुवा, नुन मिसाएर तेलमा पकाएपछि तयार हुन्छ, स्वादिलो बारा।

यो स्वास्थ्यवर्धक परिकार पनि हो। बारामा कुनै हानिकारक मसला प्रयोग नहुने भएकाले पनि यो परिकार पुस्तौँदेखि लोकप्रिय र स्वास्थ्यवर्धक परिकारको रूपमा स्थापित हुँदै आएको मध्यपुर थिमि–६ बहाखाबजारस्थित बाराका लागि प्रख्यात कुँचा पसःका सञ्चालक मुकेश श्रेष्ठले बताए। 

संस्कृतिविद् एवं पुरोहित हरिशरण राजोपाध्ययका अनुसार बारा विभिन्न थरीका हुन्छन्। मासको बारा, मुगीको बारा, केराउको बारा, अमिलो बारा, दहीको बारा र मास, मुगी, बोडी, केराउको छाँटा तथा चामलको पिठोको मिश्रणबाट बनेको बारा। पछिल्लो समय मास, मुगी र केराउ छाताको बारा मात्र प्रचलनमा रहेको छ।
‘बारा’ परिकार मात्र होइन संस्कृति पनि

नेवार समूदायमा बारा जन्मदेखि मृत्युसम्मको संस्कार र अन्य शुभकार्यमा समेत नभइ नहुने परिकारमध्ये एक हो। मानिसको जन्मसँगै गरिने न्वारन, पास्नी, जन्मदिन, विवाह, व्रतवन्ध, गुफा निकाल्ने, ईहिँ (बेल विवाह) गर्ने बेलाका साथै मृत्यु संस्कार अन्तर्गत चार दिन, सातदिन, १२ औँ दिनको कर्ममा नेवार समुदायभित्र बारा अनिवार्य परिकार हो।

वर्षभर पर्ने चाडपवमध्ये बाबु आमाको मुख हेर्ने औँसी, भाइटीका, दशैँको अष्टमीको दिन मनाइने कुछि भ्वय्का साथै गुथि र विभिन्न बाजागाजा खलः, दाफा भजन खलःको भोजहमा बारा अनिर्वाय रूपमा चाहिन्छ।

बारा कुनै पनि शुभ कार्यमा अण्डासँगै सगुन दिन नभई नहुने परिकार हो। विशेषतः सिथि नखःको दिन बारा, चटामरी कुमारलाई चढाएपछि मात्र अरुले खाने चलन रहेको संस्कृतिकर्मी तथा पुरोहित राजोपाध्ययले बताए। नेवार समुदायमा बारालाई पृथ्वीको प्रतीकका रूपमा लिइने गरेको उनले जानकारी दिए। 

सृष्टिकर्ता ब्रह्माले पृथ्वीको पूजा गर्दा बारा चढाएर सबैको मंगल र रक्षाको कामना गरेकोले बारा नेवार समूदायमा संस्कृतिको रूपमा विकास भएको राजोपाध्यायले बताए।

नेवार समुदायमा बारा एउटा परिकार मात्र नभएर शुभ प्रतीकमा लिइने प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको भनाइ छ। उनका अनुसार नेवार समुदायमा बाराविनाको शुभ कार्य सफल नहुने विश्वास रहेको छ। उनले भने, ‘बारा छैन भने संस्कार छैन। बाराविना सगुन दिन मिल्दैन।’ 

बारालाई पञ्च ‘म’कारका तत्त्व मध्ये मुद्रकाको प्रतीकका रूपमा लिइन्छ भने बाराले मानिसलाई काम, क्रोध, मोह, लगायत नराम्रा कुरालाई नियन्त्रण राख्न सहयोग पुर्‍याउने प्रतिकका रूपमा लिइन्छ। यदि यी पाँच कुरालाई बसमा राख्न सक्यो भने संसार जित्न सकिने प्रा. डा. श्रेष्ठको भनाइ छ। बारालाई नेवारी संस्कारमा आँसु र हाँसोको पूजामा प्रयोग हुने प्रसादको रूपमा लिने प्रचलन रहेको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.