काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहीत गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्। शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७ औँ वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले शेयरबजारलाई नै प्रभावित पार्ने गरि हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिए।
मुलुकको अर्थतन्त्र उदयीमान रहेको भन्दै उनले बैकिङ प्रणाली लगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिबिम्ब नै शेयर बजार देखिने भएकाले शेयर बजारलाई उत्तेजित र गिराउने प्रवृति रोक्नका लागि बोर्ड सधै चनाखो हुनुपर्ने बताए। मन्त्री खतिवडाले रेमिट्यान्सबाट आएको पैसालाई शेयर बजारमा लगाउनका लागि बैक र बोर्ड आपसमा मिलेर योजना बनाउन पनि आग्रह गरे।
बैंकमा खाता नभई रोजगारीमा नपठाउने तथा तलबभत्ताको निश्चित रकम बैकिङ प्रणालीबाटै पठाउनुपर्ने र त्यसरी पठाएको रकमबाट शेयरमा सहभागी हुन चाहेमा स्वतः हुने व्यवस्था मिलाउन सके रेमिट्यान्सको केही हिस्सा शेयर बजारमा लगाउन सकिने तर्क उनको थियो।
लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास र नियमन गर्ने मुख्य उद्देश्यले सरकारले नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरेको हो । तर पूँजी बजारको विकास र नियमनमा बोर्डको भूमिका प्रभावकारी बन्न नसकेको गुनासो रहदै आएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।