|

इलाम : महिला विश्वकप फुटबलअन्तर्गत शनिबारको खेलमा जर्मनी र स्पेन विजयी भएका छन्। पहिलो खेलमा जिउलिया गुइनको निर्णायक गोलको मद्दतले जर्मनीले चीनलाई पराजित गर्दै महत्त्वपुर्ण तीन अंक बटुलेको छ। 

खेलको ६६ औं मिनेटमा गुइनले डिबक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। खेलको सुरुवातबाटै जर्मनीमाथि दबाब बनाएको चीनको प्रहारले जाली चुम्न सकेन। खेलको १४ औं मिनेटमा जर्मनीकी गोलरक्षक अल्मुथ स्कल्ट विट भएको अवस्थामा याङ लीले पाएको अवसरलाई सारा दुरसनले क्लियर गरिदिइन्। 

५७ औं मिनेटमा लीको प्रहार पोस्टमा रिवाउन्ड भएपछि पाएको अवसरलाई रुइ झेङले हेडरमार्फत गरेको प्रयासलाई गोलरक्षकले पञ्च गरिदिइन्। पञ्चबाट पाएको मौकालाई पुनः लीले खेर फालिन्। खेलमा चीनका चार जना खेलाडीले पहेंलो कार्डको सामना गर्नुपर्‍यो भने जर्मनीकी एक जनाले पहेलो कार्ड पाइन्। 

४–४–२ को रणनीतिमा उत्रिएको चीनविरुद्ध जर्मनी टोली ४–५–१ को रणनीतिमा रहेको थियो। जितसँगै समूह बीबाट तीन अंकको साथ जर्मनी दोस्रो रहँदा चीन अन्तिम स्थानमा रहेको छ। जर्मनी विश्वकपको समूह चरणको पछिल्लो १७ वटा खेलमा अपराजित रहेको छ। उसले १३ जित र चार बराबरी खेलेको छ। विश्वकपको आठौं संस्करणसम्म आइपुग्दा जर्मनी टोलीले सात वटा पहिलो खेलमा बिजयी हासिल गरेको छ। 

त्यसैगरी दोस्रो खेलमा स्पेनले दक्षिण अफ्रिकलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो। खेलको सुरुवाती अग्रता जोगाउन नसक्दा पहिलो खेलमा अफ्रिका पराजित बनेको हो। खेलको २५ औं मिनेटमा थेम्बी गाल्टानले अग्रता दिलाएकी थिइन्। डि–बक्सबाहिरबाट गरेको उनको प्रहारले जाली चुमेको थियो। 

पहिलो हाफमा अग्रता कायम राखेको दक्षिण अफ्रिकाले दोस्रो हाफमा तीनवटै गोल व्यहोर्‍यो। ७० औं मिनेटमा कप्तान जानीन भेन विकले डि–बक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा स्पेनकी जेनिफर हरमोसोले खेल बराबरीमा ल्याइन्। ८१ औ मिनेटमा दक्षिण अफ्रिकाकी नोथान्डो भिलाकाजीले स्पेनकी खेलाडीलाई फाउल हानेपछि दोहोरो पहेलो कार्ड पाउँदै मैदान छाडन बाध्य भइन्। यसअघि ६० औ मिनेटमा पहिलो कार्ड पाएकी थिइन्।

८२ औ मिनेटमा हरमोसोले पेनाल्टी माफर्त दोश्रो गोल गर्दै आफनो टिमलाई अग्रता दिलाइन। १० खेलाडीमा सिमित बनेको अफ्रिका विरुद्ध अन्तिम १० मिनेटमा स्पेनले दबाब बनायो। सव्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेकी लुसिया गार्सियाले इन्जुरी समयमा गोल गरेपछि ३–१ को स्पष्ट जित निकाल्दै ३ अंक बटुल्न सफल भयो। जितसंगै स्पेन समुहको शिर्ष स्थानमा उक्लिएको छ। 

आइतबार विहान भएको समुह ए को खेलमा नर्वेले नाइजेरियालाई ३–० ले पराजित गर्न सफल भएको छ। सुरुवातबाटै दबाब बनाएको नर्वेले खेलको १७ औ मिनेटमा गुरो रेटिनको गोलबाट अग्रता लिएको थियो। ग्रेम हेन्सनको प्रहारलाई डिफ्लेक्ट गर्दै रेटिनले अग्रता दिलाएकी हुन। ३४ औ मिनेटमा लिस मारी कार्लसेन उटलेन्डले दोश्रो गोल थपिन। रेटिनको क्रसपासलाई उनले जाली चुमाएकी हुन।

नर्वेले तेश्रो गोल उपहार स्वरुप पायो। ३७ औ मिनेटमा नाइजेरियाकी ओहालेले बल क्लियर गर्ने क्रममा आफनै पोष्टमा जाली चुमाइन। खेल अवधीभर नाइजेरियाले २ वटा पहेलो कार्डको सामना गर्नुपर्‍यो। जितसंगै नर्वे समुहको दोश्रो स्थानमा रहेको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.