खुट्टो गुमाएर ल्याएको गणतन्त्रले बेवास्ता गरेको गुनासो

|

उदयपुर : २०५२ साल फागुन १ गतेदेखि २०६२ साल मंसिरसम्म सशस्त्र युद्ध अर्थात् 'जनयुद्ध' चल्यो। तत्कालीन नेपाल कम्युनिस्‍ट पार्टी माओवादीको 'जनयुद्ध' धेरैको नजरमा अहिले पनि फिल्मी रिलजस्तै फनफनी घुमिरहेको छ। १० वर्षे 'जनयुद्ध'कै बलमा देशमा गणतन्त्र आयो। संघीयतामा गयो।

तर, त्यही 'जनयुद्ध'का घाइते अपांग र शहीद परिवारलाई न गणतन्त्र, न संघीयता केही आएन। युद्धमा होमिएका परिवार र व्यक्तिमा परिवर्तन आएको छैन। जयुद्धका शहीद  परिवार आफन्त सम्झेर फोटो हेर्दै टोलाइरहेका छन्। अपांग र घाइतेहरू बेसहारा भएर 'जनयुद्ध' बिर्सिने कोशिसमा कोल्टे फेर्दै छन्।

आमबाबु, परिवार, छोराछोरी सम्पूर्ण आफन्त र साथीभाइ त्यागेर बन्दुक बोकेका योद्धाहरूलाई जनयुद्ध बिर्सनै नसकिने सपना जस्तो भएको पूर्वलडाकु फर्सबहादुर मगर बताउँछन्।

'जनयुद्ध'मा एउटा खुट्टा गुमाएर जीवनभरका लागि अपांग बनेका छन् उनी। तत्कालीन माओवादी र राज्यपक्षको अन्तिम युद्ध सर्लाहीको मलङ्गवा भएको बताइन्छ। तर त्यही अन्तिम युद्धमा उनले सदाका लागि देब्रे खुट्टो गुमाए। ‘मलङ्गवामै मेरो देब्रे खुट्टा गुम्यो। मैलेसमेत लडेको युद्धले देशमा गणतन्त्र आयो, संघीयता आयो', निराश हुँदै उनी भन्छन्, 'तर, हामीजस्ता निरङ्कुश राजतन्त्र र सामान्ती सत्ताविरुद्ध बन्दुक बोक्नेहरुका लागि केही परिवर्तन आएन।'

यसरी लागे 'जनयुद्ध'मा

बुवा लालबहादुर थापामगर र आमा तिलमाया थापामगरबाट २०४५ साल जेठ २ गते कटारी नगरपालिका-१० भालुखोलामा नवौँ सन्तानका रूपमा जन्मेका हुन फर्सबहादुर।

उनीसँग 'जनयुद्ध'का तीतामीठा सम्झना धेरै छन्। ‘म जन्मेको गाउँमा सोरुङ खोलाका थापाहरूको हालीमुहाली थियो,’ अहिले अपाङ्ग बनेका मगर भन्छन्, ‘तिनै थापाको काम गर्न जाँदा जुठो भात खाएर काम गर्नुपर्थ्यो, तिनैविरुद्ध माओवादी आन्दोलनमा होमिएको हुँ, जुठो भात दिने गाउँले समान्त मासिए। तर, देशलाई जुठो भात खुवाउनेहरू बढेर गए।’

२०६० सालमा गाँउकै विद्यालयबाट प्रवेशिका परीक्षा पास गरेर 'जनयुद्ध'मा लागेका फर्सबहादुरले धेरै उकाली ओराली गरे। ‘२०६० भन्दा अगाडि माओवादीकै विद्यार्थी संगठन अनेरास्वियु (क्रान्तिकारी) मा संगठित भएँ,’ उनले भने, ‘त्यहीँबाट आमूल परिवर्तन गर्ने 'जनयुद्ध'मा लामबद्ध बनेँ। माओवादीमा 'होलटाइमर' फर्सबहादुर २०६१ सालमा 'जनमुक्ति सेना'मा भर्ना भएको कथा सुनाउँछन्।

उदयपुरको पहाडी क्षेत्रका भालुखोलालगायत ठाउँमा तत्कालीन माओवादीको आधार इलाका थियो। त्यही आधार इलाकामा राज्यपक्षको दमन बढ्दै गएपछि फर्सबहादुर 'जनयुद्ध'मा होमिएको बताउँछन्।

‘२०६० सालको अन्तिममा नेपाली सेना आएर गाउँभर दमन गर्‍यो,’ उनले भने, ‘त्यहीबेला मलाई पनि राइफलको कुन्दाले हिर्काएर मरनासन्‍न बनायो, एकजना बानियाँ थरका बाजेले मलाई बचाए। बाँचेपछि शोषक, समान्त, दलाल र निरकुंशताविरुद्ध माओवादी 'जनयुद्ध'को यात्रा सुरु गरेको थिएँ।'

'जनयुद्ध'को यात्रा

०६१ सालबाट जनमुक्ति सेनामा आबद्ध फर्सबहादुरले विभिन्‍न जिम्मेवारी सम्हाले। 'जनमुक्ति' सेनाको तीनवर्षे यात्रामा सोलुखम्बु, खोटाङ, भोजपुर, सर्लाही, उदयपुर, सिन्धुलीलगायत जिल्लामा पुगेर काम गरेको फर्सबहादुर सुनाउँछन्। पार्टीको संगठन विस्तारका काममा सुरक्षा दस्ता बनेर  पहरा दिएको उनीसँग अनुभव छ।

०६१ सालमा 'फ्रन्ट गार्ड लिडर' भएर हिँडेका उनले त्यसपछि सेक्सन भ्वाइस कमाण्डर, सेक्सन कमाण्डर, प्लाटुन भ्वाइस कमाण्डर र प्लाटुन कमाण्डरसम्मको जिम्मेवारी सम्हाले। ‘भोजपुरको घोडेटार र सर्लाहीको मलङ्गवाका युद्धमा प्रत्यक्ष सहभागी भएर लडेँ,’ उनले भने, ‘मेरो देब्रे खुट्टो पनि मलङ्गवाकै युद्धमा गुमेको हो।’

नाइटभिजनको बमले खुट्टा गयो

फर्सबहादुर भिडन्तमा धेरै दुस्‍मनलाई हराएको बताउँछन्। उनका नजरमा घोडेटार र मलङ्गवा युद्ध नै अविस्मरणीय बने। ‘घोडेटारमा सेनाको गोलीबाट भन्दा भीरबाट लडेर धेरै साथीहरूले साहदत प्राप्त गर्नुभयो। मलङ्गवामा म पछाडिबाट आक्रमण गर्ने साथीहरूले दुस्मनको नाइटभिजन खसाल्नुभयो', उनी भन्छन्, ‘नाइटभिजनले खसालेको एक घण्टापछि मेरो खुट्टामा जिपिएमजीको गोली लाग्यो, ढलेँ, बेहोस भएँ, होसमा आउँदा जंगलमा थिएँ, साथीहरू लडाइँ जितेको खुसियाली मनाइरहनुभएको थियो। लडाइँ जितेको सुनेर दुखाइ पनि कम भयो।’

शान्ति प्रक्रियामा नक्कली खुट्टा

मलङ्गवापछि युद्ध कमै भए। माओवादी पार्टीले युद्धविराम घोषणा गरेको थियो। ०६२ सालको अन्तिमतिर माओवादी र अन्य राजनीति दलबीच सहमति भएको थियो। ‘नभन्दै माओवादीकै युद्धको बलमा ०६२/०६३ सालको जनआन्दोलन सफल भयो', मगर भन्छन्, 'पार्टी शान्ति प्रक्रियामा आयो। पार्टीले खुला राजनीतिक अवतरण गरेपछि उपचार गरेर कृत्रिम खुट्टा लगाएँ।'

नेताले वचन पूरा गरेनन्

समाजमा अहिले पनि मगर जस्ता भोक, निद्रा, परिवार आफन्त, साथीभाइ त्यागेर युद्धमा होमिएका योद्धा भेटिन्छन्। तिनीहरूको आक्रोश एउटै छ, 'सेना समायोजन हुँदा नेताले बोलेको कुरा पूरा गरेनन्।' मगर आक्रोशित हुँदै भन्छन्, ‘जब शान्ति प्रक्रियामा आएपछि तत्कालीन नेपाली सेना र 'जनमुक्ति' सेनालाई समायोजन गर्ने कुरा आयो। त्यतिबेला तपाईंहरूलाई 'जनमुक्ति' सेनाको प्रमाणपत्रमा सेनानी पदले सम्मान गरिने भनिएको थियो। पछि त्यो भएन।'

समायोजनमा जान नसक्ने अपाङ्ग योद्धाहरुको पालनपोषण राज्यले लिने भनिएको थियो। तर अहिलेसम्म पनि त्यो पूरा नभएको मगरको बुझाइ छ। 'प्रचण्ड बाबुराम प्रधानमन्त्री बने, नन्दबहादुर उपराष्ट्रिपति बने। अन्य धेरै कमरेडहरु ठूलाठूला पदमा पुगे,' मगर भन्छन्, 'हामीजस्ता योद्धाहरुको सम्मान गर्ने कुनै कमरेड आएनन्।'

सम्मान पाउनुपर्छ

तत्कालीन माओवादी युद्ध विर्सजन भएको अहिले १६ वर्ष पुगेको छ। जसलाई शासनसत्तामा पुर्‍याउने र देशलाई गणतन्त्र नेपाल बनाउने योद्धाहरुले सम्मान नपाएको मगरको गुनासो छ। ‘अहिले माओवादी पार्टी सकिएको छ भन्दा फरक फर्दैन,’ उनी भन्छन्, ‘हामीले लडेको 'जनयुद्ध'को बलबाट अहिले अन्य पार्टीले फाइदा लिएका छन्। गणतन्त्र हामीले ल्यायौं भनिरहेका छन्। अनि हामीलाई सम्झनु पर्दैन?’

अहिले पनि जनमुक्ति सेनाका सिपाहीहरु विभिन्‍न संस्था बनाएर पूर्वलडाकु उपनाम लिएर हिँडिरहेको मगर सुनउँछन्। संघीय गणतन्त्र नेपाल बनाउने आफूहरूलाई राज्यले सम्मान नगरेको मगरको गुनासो छ। उनी भन्छन्, ‘राज्यले हामीलाई सेनानीको उपाधि दिएर सम्मान गर्नुपर्छ, उनी थप्छन्, 'सेनानीको दर्जा र सम्मानले  समाजमा हामीलाई जीवन जिउने आधार बनोस्।’

पार्टी र नेताका कुराले मनमा पीडा दिएको भन्दै उनले आक्रोश पोखे। ‘अहिलेको दुईतिहाइको कम्युनिस्‍ट सरकार पनि मेरै गुमेको खुट्टाले बनाएको हो, आदिवासी जनजातिको लागि समावेशी, समानुपातिकको व्यवस्था मैले लडेको युद्धले ल्याएको हो,’ उनी भन्छन्, ‘हामी कहिलेसम्म पूर्वलडाकु हुने? राज्यले नयाँ परिचय दिनुपर्दैन?’

जीवन चलाउनै सकस

उनी कटारी नगरपालिकाको भालु खोलामा ४/५ रोपनी जग्गा रहेको सुनाउँछन्। मगर अहिले चौदण्डी नगरपालिकामा-३ पाँच धुर ऐलानी जग्गामा सानो टिनको छाप्रो बनाएर बसिरहेका छन्। ०६८ सालमा गाउँमै विवाह गरेका उनका एक छोरा र एक छोरीसहित चारजनाको परिवार छ।

‘जीवन जिउने मुख्य आधार भनेको नेपाल सरकारले दिने जीवन निर्वाह भत्ता हो,’ उनले भने, ‘मासिक ६२ सय जति आउँछ, त्यसैले परिवार पाल्नुपरेको छ।'

सेना समायोजना हुँदा पाएको पाँच लाखले जग्गा किनेर घर बनाएका हुन् उनले। 'बुबाआमा धेरै सन्तान हामी, पुर्ख्यौली सम्पतिसमेत थिएन,’ उनले भने, ‘यहीँ आएर ऐलानी जग्गामा घर बनाएर पूर्वलडाकुको उपाधिले गुजारा चलाइरहेको छु।'

चौदण्डीगढी नगरपालिका-२ को कार्यालयमा करारमा कार्यालय सहयोगी नियुक्त भएका मगर ‘पार्टी र सरकारले क्षमताअनुसार काम दिनुपर्ने बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.