|
File Photo

काठमाडौं : वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मत्स्येन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ।

मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए।

भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ। कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए।

त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति भण्डारी र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद ग्रहण गरिन्। भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मत्स्येन्द्रनाथको रथ यात्रा समापन भएको छ।

समापनसँगै मत्स्येन्द्रनाथको मूर्तिलाई रथबाट निकाली खटमा राखेर बाजागाजासहित बुङमति लगिएको छ। बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका एक जना ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ।

वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मत्स्येन्द्रनाथकै रहने कथन छ। यसै अवसरमा सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिएको थियो।

भोटेजात्रामा नृत्य प्रस्तुत गर्दै

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.