|

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीका महिलाहरूको बाध्यता थियो, बिहान ३ बजे नै उठेर पानीको जोहो गर्न निस्कनु। गाउँका सीमित ठाउँमा रहेका इनार र कुवामा पालो बसेर एक गाग्रो पानी जसोतसो भर्नु। एक गाग्री पानी भर्न घण्टौं समय छुट्याउनु पर्दथ्यो।

यो बाध्यता बिहान मात्र होइन, साँझमा पनि उस्तै थियो। राति अबेरसम्म कुवा र इनारमा पालोमा बसेर पानी भर्दै आएका थिए। तर, अहिले उनीहरूको दैनिकी फेरिएको छ। पानीकै पीरमा राम्रोसँग निदाउन नपाउने उनीहरू अब ढुक्कले निदाउन पाएको छ।

शंकरपोखरीमा रहेको पानीको समस्या टार्नका लागि आकाशे पानी जम्मा गर्ने सिमेन्टका घैँटा निर्माण गरिएको छ। जसले शंखरपोखरीस्थित पुर्कोटमा रहेको दलित बस्तीमा राहत भएको छ। पुर्कोटमा खानेपानीको चरम अभाव रहँदै आएको थियो।

यस क्षेत्रका बासिन्दालाई खानेपानीको समस्या समाधानका लागि वर्षाको पानी संकलन गर्न सिमेन्टका घैँटाहरु निर्माण गरिएको छ। वडाध्यक्ष अर्जुनबहादुर कार्कीका अनुसार १३८ घरहरूमध्ये १३२ घरमा घैँटा निर्माण गरिएको छ। एउटा घैँटाको क्षमता कम्तीमा दुई हजार लिटर रहेको छ। घैंटा बनेपछि गाईभैँसीलाई पानी खुवाउन, भाँडा धुन, करेसाबारीमा सिँचाइ गर्न समस्या नभएको पुर्कोटकी पार्वती परियारले बताइन्। 

‘बिहान र बेलुका पानी भर्न कुवामा लाइनमा बस्नुपरेको थियो, अहिले घरमै आकाशे पानी जम्मा हुन्छ, पहिलेको जस्तो समस्या हटेको छ,’ उनले भनिन, ‘अहिले वर्षा पनि धेरै भइरहेकाले घैँटामा पानी भरिएको छ। तर खानेपानीका लागि भने समस्या उस्तै छ।’ 

गाउँमा खानेपानीको भरपर्दो र निरन्तरको स्रोत नहुँदा शंकरपोखरीका विभिन्न ठाउँका बासिन्दाहरूले वर्षौँदेखि समस्या झेल्दै आएका थिए। अधिकांश बासिन्दाको बिहान र बेलुकाको समय पानीको खोजीमै खर्च हुने गरेको थियो। बर्खा यामका जेठ, असार, साउन र भदौ महिनामा प्रसस्त वर्षा हुने भएकाले पानीको समस्या नहुने भए पनि हिउँदका महिनामा भने काकाकुलकै जिन्दगी जिउनुपर्ने बाध्यता रहेको स्थानीय रामप्रसाद रिजालले बताए। 

त्यस क्षेत्रका बासिन्दाको खानेपानीको संकट टार्नका लागि बोरिङ गरेर पानी निकाल्ने काम चलिरहेको छ। बोरिङबाट निकालिने पानी र आकाशे पानी जम्मा गर्दा घैँटाले शंकरपोखरीमा पानीको अभाव टार्न धेरै राहत भएको वडाध्यक्ष कार्कीले बताए। ‘वर्षैँदेखि यहाँका नागरिकले भोग्दै आएको ठूलो समस्या नै पानीको हो। पहिले पनि घैँटाहरु त यसरी नै निर्माण गरिएको थियो, त्यसैबाट काम चल्दै आएको थियो। अहिले पनि काँटा निर्माण गर्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘नगरपालिकाबाट पनि यहाँ रहेका पानीका कुवा र इनार संरक्षण गर्नका लागि बजेट विनियोजन गर्न आवश्यक पहल गरिरहेको छु।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.