|

सप्तरीको पश्चिमवर्ती क्षेत्रमा पर्ने चुरेदेखि कोर मधेससम्म फैलिएको नगर हो सुरुंगा। स्थानीय तहको पुनःसंरचनासँगै २७ फागुन २०७३ मा साविक पिप्रा (पश्चिम), हर्दिया, दौलतपुर, मधुपट्टी, कुसहा, हरिपुर, मलहनमा, टिकुलिया, पटेर्वा गाविस सिङ्गो र मलहनियाको ५ र ६ नं. वडा मिलाएर कायम गरिएको सुरुंगानगरपालिकामा ११ वडा छन्।

भूगोलको आधारमा जिल्लाको तेस्रो ठूलो नगरका रूपमा रहेको सुरुङ्गाको क्षेत्रफल १०७.०४ वर्ग किमि र जनसंख्या ४४ हजार २ सय २१ छ।  स्थानीय निर्वाचनमा यस नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मुक्तिनाथ चौधरी विजयी भएका थिए। निर्वाचनको दुई वर्ष पुग्‍नै लाग्दा सुरुङ्गाको पहिलो नगर प्रमुख चौधरीसँग थाहा का मणिलाल विश्‍वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय तहको निर्वाचन भएको २० महिनामा के के काम गर्नुभयो?

निर्वाचनपछि आर्थिक वर्ष २०७४/०७५ को योजनासम्बन्धी काम सम्पन्न गरी आ.व.२०७५/०७६ को योजना कार्यान्वयनका लागि अन्तिम चरणमा छौं। चुरेको काखदेखि कोर मधेसम्म फैलिएको र पूर्वपश्चिम सडकले छोएको सुरुंगानगरलाई उज्यालो नगर बनाउने लक्ष्यअनुसार काम थालेका छौँ।

बिजुलीले दैनिक जीवन अस्तव्यस्त हुने भएकाले त्यसमा बढी जोड दिएका हौं। चालू आ.व.को १० औं महिनाभित्र सबै वार्डमा बिजुली बल्ने योजनासहित काम हुँदै छ।

सुरुङ्गा-१ का भित्री गाउँबस्तीमा बिजुली बाल्ने अन्तिम चरणको काम हुँदै छ। नगरको सबै वडालाई सडक सञ्जालमार्फत जोडेका छौँ। माटो भर्ने काम पछिल्लो आव. मा नै सम्पन्न भएकाले यो पटक प्रायः हरेक सडक ग्राभेल गरिएको छ भने केही खण्डमा आरसिसी ढलान गएिको छ। नगरले आगामी आवदेखि हरेक सडक आरसिसी ढलान, कालोपत्रे गर्नेगरी योजना र बजेट विनियोजन गर्दै छ।

चुरे क्षेत्रमा पर्ने नगरका वडाका गाउँमा हातेकल सम्भव नहुने भएकाले वडा नं. २ रकसाहामा पछिल्लो आ.व.मा पाँच वटा इनार निर्माण गरी खानेपानीको व्यवस्था गरिएको छ भने चालू आव.मा पनि पाँच वटा इनार बन्दै छन्। त्यसबाहेक ३ नं. को लक्ष्मीपुर, ४ नं. वीरनगर र १० नं. पटेर्वामा बोरिङ् गरी तानेको पानी ओभरहेड ट्यांकमा जम्मा गरी धारामार्फत खानेपानीको व्यवस्थापन गर्नेगरी काम चल्दै छ।

नगरपालिका केन्द्रको सुरक्षाका लागि पछिल्लो आवमा सातवटा सिसी क्यामेरा खरिद गएिको थियो तर जनताको मतबाट जितेको व्यक्ति बस्ने कार्यालयमा सिसी क्यामेरा नराख्दा पनि हुन्छ भन्ने लागेर सडक क्षेत्रमा हुने र हुनसक्ने दुर्घटना, आपराधिक घटना रोक्न प्रहरीको समन्वयमा पूर्वपश्चिम सडक क्षेत्रमा जडान गर्‍यौँ।

कदमाहा–गाईघाट सडक खण्डमा पर्ने भेडियामा दुई, कदमाहामा तीन, कुसहामा एक र कडरबोनामा एकसहित सातवटा सिसिक्यामेरा जडान गरिएपछि कतिपय आपराधिक घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गर्न प्रहरीलाई सजिलो भएको छ। 

तपाईंले निर्वाचनमा गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो कति बाँकी छन्?

मैले निर्वाचनको समयमा सडक, पुल पुलेसा, धारा, बिजुली, रोजगारी दिन्छु भनेर त त्यस्तो कुनै प्रतिबद्धता नै गरेको थिइनँ तथापि मेरो लामो राजनीतिक सेवाको कारणले जनताले नगर प्रमुखको जिम्मेवारी दिए।

मेरो काँधमा जिम्मेवारी परेपछि जनताको आवश्यकता, चाहनाको आधारमा स्थानीयस्तरबाट नै योजना छनोट गरी बजेट विनियोजनसहित काम गरिरहेको छु। जनताको आधारभूत आवश्यकता भनेको खानेपानी, सडक, शिक्षा, स्वास्थ हुन्।

जनताको आधारभूत आवश्यकतासँग सम्बन्धित योजना कार्यान्वयनसँगै सुरुङ्गालाई पूर्ण विद्यार्थी भर्ना भएको नगरको रुपमा प्रदेश २ मा पहिलो र सिङ्गो मुलुकमा दोस्रो नगरको रूपमा स्थापित गर्‍यौँ। जनप्रतिनिधिसहितको टोलीले हरेक घरघर पुगेर बालबालिका नियमित विद्यालय गए नगएको नियमित अनुगमन गरिरहेको छ।

शिक्षालाई समृद्धिसँग जोड्ने प्रयास गरिएको छ। शिक्षकले सेवा प्रवेश पाएको विद्यालयबाट नै सेवा निवृत्त हुने प्रवृत्तिको कारणले पनि सामुदायिक शिक्षाको स्तर खस्किएको महसूस गर्दै नगरको आफ्नै कार्यविधि, ऐन बनाएर नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षहरूको वडान्तर सरुवा गर्ने नीति लिएको छ। सामुदायिक र संस्थागत विद्यालयको एउटै पाठ्यक्रम बनाएर लागू गर्दै छौँ।

छनोट भएका योजना कार्यान्वयन हुन नसक्नुका कारण के हो?

पर्याप्त समय, जनशक्ति तथा अर्थको अभावलगायत कारणले छनोट भइसकेकामध्ये केही योजना समयमा पूरा भएनन्। कतैबाट पनि बाधा अवरोध छैनन्। बरु सबैतिर उल्लेख्य सहयोग छ। नगरले आगामी आवदेखि सडकमा माटो भर्ने र ग्राभेल गर्ने कार्यलाई निरुत्साहित गर्दै आरसिसी ढलान र कालोपत्रेमा जोड दिने नीति लिएको छ।

विपक्षी दलले सहयोग/असहयोग के गरेका छन्?

‘स’ बाट सुरु भएको सुरुंगानगरले सहमति र सहकार्यलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेकाले बाधा अवरोध भन्दा पनि सहयोग नै पाएको छ। नगरलाई समृद्ध, समुन्नत, सुन्दर बनाउन जनप्रतिनिधिहरू जति प्रतिबद्ध छन्, त्यति नै विपक्षी दलका मित्रहरू पनि प्रतिबद्ध देखिन्छन्।

नगर क्षेत्रमा काम गर्न कांग्रेस कम्युनिस्‍ट सबै एकताबद्ध छौँ। नगरले हरेक विषयमा हरेक पक्षसँग पूर्वसंवाद गरी सहमति कायम गरेपछि मात्र कार्यपालिकाबाट निर्णय गरेपछि कार्यान्वयनको चणमा जाने भएकाले विरोधभन्दा सहयोग हुने गरेको छ। नगरले गरेका हरेक निर्णय सहमति र सहकार्यको आधारमा कार्यान्वयन गरिएको छ। स्थानीय सरकार सञ्‍चालन ऐनअनुसार सप्तरी जिल्लामै पहिलो हुनेगरी निर्धारित समयमै गरेका छौँ र गर्नेछौं। निर्णय मात्र होइन, काम पनि त्यसरी नै गर्दैछौं।

सामुदायिक शिक्षा स्वास्थ्यलाई सबल बनाउन नगरले के गर्दै छ?

सामुदायिक शिक्षा र स्वास्थ्यमा सबैको पहुँचसँगै गुणस्तर कायम गर्न नियमित अनुगमनलाई निरन्तरता दिएका छौँ। नगर शिक्षा शाखा प्रमुख, विद्यालय निरीक्षक, सामाजिक समितिका संयोजकसहित सम्भव भएसम्म हरेक विद्यालयमा पुगिरहेका छौं।

विद्यार्थी संख्याअनुसार शिक्षक नपुग भएका विद्यालयमा नगरले नयाँ शिक्षक भर्ना गर्न नमिल्ने भएकाले नगर क्षेत्रकै शिक्षित युवा युवतीलाई नगरको शिक्षा कार्यविधिमार्फत स्वयंसेवक शिक्षकका रूपमा खटाउने योजनासहित एक करोड रुपैयाँ छुट्याएका छौं।

नगरका विभिन्न वडामा रहेका कक्षा ८ सम्मका आधारभूत तहका विद्यालयमा २९ जना स्वयम्सेवक शिक्षक खटाउने तयारीमा छौं। दलित, विपन्न परिवारका छोरीहरूलाई विद्यालय आवतजावत गर्न सहजताका लागि पछिल्लो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) देखि साइकल वितरण थालिएको छ। त्यसपछि १२ औं गणतन्त्र दिवससम्म १०१ विद्यार्थी छोरीहरूलाई साइकल बाँडिएको  छ।

नगर क्षेत्रका हरेक स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरू आवश्यकताअनुसार पर्याप्त भएकाले सेवा प्रवाहमा त्यस्तो समस्या छैन। दलित विपन्न परिवारका गर्भवती महिलाहरूलाई कुपोषित शिशु नजन्माउन् भन्ने उद्देश्यले गर्भ रहेको नौ महिनासम्म हरेक महिना सम्बन्धित स्वास्थ्य चौकीबाट एक हजार रुपैयाँ बराबरको पोसिलो खानेकुरा दिइने व्यवस्था गरेका छौंँ भने सुत्केरी भएको ६ महिना थप गरी एकजना महिलालाई गर्भ रहेदेखि १५ महिनासम्म पोषण आहार दिन थालिएको छ।

त्यसका अतिरिक्त मातृशिशु मृत्युदर घटाउन १ नं. वडाको पश्चिम पिप्रास्थित स्वास्थ्य चौकी र ६ नं. वडा कडरबोनास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्‍चालनमा छ। सुरुंगा४ कनकपुर, वडा नं. ९ प्रमाणपुरमा बर्थिङ सेन्टर सञ्‍चालनका लागि पूर्वाधार विकासको काम अन्तिम चरणमा पुगेको छ भने वडा नं. ८ समशेरपुर धाँती बजारमा नयाँ बर्थिङ सेन्टरको भवन शिलान्यास गरी निर्माणको काम अघि बढाइएको छ।

नगर क्षेत्रमा बालविवाह निरुत्साहित गर्न १, ३, ४, ५, ६ र १० नं. वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ। बाल विवाह मुक्त घोषित वडाहरूमा छोराछोरीको विवाह गर्नुपरे बाबु आमाले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएपछि वडा कार्यालयले उमेर छानबिन गरी सिफारिस दिएपछि मात्र विवाह हुन थालेको छ। नगरका बाँकी २, ७, ८, ९ र ११ नं. वडालाई पनि बालविवाह मुक्त गरी सिङ्गो नगरलाई प्रदेशकै पहिलो बाल विवाह मुक्त नगर बनाउने अभियान चलाएका छौं।

कर्मचारीको कत्तिको सहयोग पाउनुभएको छ?

नगरपालिकामा बहुमत संख्यामा वामपन्थीहरू हुँदाहुँदै सुरुङ्गामा तेस्रो नगरसभासम्म बहुमत अल्पमत छुट्टिएको छैन। हामी टिमवर्कमा विश्वास गर्छौं र त्यही मान्यताको आधारमा जनप्रतिनिधि तथा कर्मचारीहरू पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्छन्। नगरको समृद्धि, विकासका कालागि जुनसुकै दलबाट जितेको भए पनि जनप्रतिनिधिहरू एक ढिक्का छौं। जनप्रतिनिधि र कर्मचारीहरूको सम्बन्ध सौहार्द्धपूर्ण छ।

आवको अन्ततिर काम गर्ने प्रवृत्ति निरुत्साहितका लागि के गर्दै हुनुहुन्छ?

सुरुङ्गाको आ.व.२०७४/०७५ को बजेट चैत मसान्तभित्र र २०७५/०७६ को पनि त्यही अवधिमा योजना सम्पन्न गर्नेगरी योजना बनाइएको भए पनि कर्मचारी समायोजनको कारणले केही समस्या भयो। आगामाी आवदेखि चैतभित्र हरेक योजना सम्पन्न गरी १० असारमा नगरसभा गर्ने लक्ष्य लिएका छौँ। चालू आवको पनि प्रायः हरेक योजनाको काम ७० प्रतिशतको हाराहारीमा सम्पन्न भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.