|

काठमाडौं : सरकारले २०७५/७६ को बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीलाई ऋण दिने योजनालाई अघि सारेको थियो। जुन अहिले पनि कार्यान्वयनमा छ। यस वर्षको बजेटमा ऋण दिने विषयलाई उठान नगरे पनि यसले निरन्तरता पाइरहेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले २०७५\७६ को बजेट र योजना अनुसार नै काम भइरहेको बताए। ‘अर्थमन्त्रालयले बनाएको ऋण उपलब्ध गराउने कार्यनीति अनुसार नै काम भइरहेको छ,’ उनले भने, ‘प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने प्रावधान अर्थमन्त्रालयको बजेट शीर्षकमा छ, अर्थमन्त्रालयबाटै सबै काम हुने हुँदा शिक्षा मन्त्रालयमा यस विषयलाई देखाइएको छैन।’ युवाहरुलाई उद्ययमशील बनाएर बेरोजगारीको दर घटाउने र राष्टिय उत्पादन बढाउने उद्देश्यले ऋण दिने व्यवस्थालाई अघि सारिएको हो। उनका अनुसार विद्यार्थीको अधययनलाई निरन्तरता दिनका लागि २०७५ को बजेट विनियोजनबाटै ऋण वितरणको काम सञ्चालन हुँदै आएको छ।

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यले यही जेठ २६ बाट भक्तपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यार्थीलाई शैक्षिक ऋण वितरणको काम सुरु गरेको छ। नगरपालिकाले ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको हो। आर्थिक अभावका कारण विद्यार्थी पढाईबाट बञ्चित भएर भविष्य नै ओझेलमा पर्ने वातावरणको सिर्जना हुन नदिन नगरपालिकाका ३५ विद्यार्थीलाई सहुलियत ब्याजदरमा प्रतिविद्यार्थी पाँच लाख रुपैयाँका दरले ऋण वितरण गरिएको छ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनील प्रजापतिले विद्यार्थीलाई ऋण सँगै उच्च शिक्षाको लागि छात्रावृत्ति समेत वितरण गर्ने बताए। उनका अनुसार एमबीबीएस पढ्ने दुई विद्यार्थीको उच्च शिक्षाको लागि पूर्ण छात्रावृत्ति समेत दिइने भएको छ। उनले भने, ‘हामी भक्तपुर नगरपालिकालाई पूर्ण बुद्धिजिवी बनाउने उद्देश्यमा छौं, साथै भक्तपुर नगरका विद्यार्थी आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित नहोस् भनेर नै ऋण दिने प्रक्रियालाई अघि बढाएका छौं।’ उनले पढ्नका लागि ऋण विद्यार्थीको हातमा नथमाई क्याम्पसको खातामा शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको बताएका छन्।

प्रमुख प्रजापतीका अनुसार ऋण लिएर अध्ययन गरेका विद्यार्थीले अध्ययन प्ररा गरेको एक वर्षमा २५ प्रतिशत, दुई वर्षमा ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षमा सबै ऋण चुक्ता गर्नुपर्ने छ। नगरपालिकाले भूगोल, इतिहास, नेपाली भाषा, संस्कृति पढ्ने विद्यार्थीलाई अझ आकर्षित गर्नका लागि अन्य छात्रावृत्तिको व्यवस्था समेत गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.