फिचर

पञ्चेश्वर गुफा, जहाँका ढुंगामा मादल र डम्फुको आवाज निस्किन्छ
SHARES

पर्यटकीय केन्द्र बनाउन जुट्दै जनप्रतिनिधि

जेठ २७, २०७६

    उदयपुर : पर्यटकीय क्षेत्रले भरिभराउ कुनकन्दारमा अझै पनि धार्मिक, प्रकृति, ऐतिहासिक र संस्कृति धरोहरको अझै पनि पहिचान हुन सकेको छैन। देशमा भएका तीनै तहका सरकारले पर्यटन क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर पर्यटन वर्ष सन् २०२० मनाउने तयारी गरिरहेका छन्। तर, अझै पनि धेरै पर्यटकीय क्षेत्रको पहिचान हुन सकेको छैनभन्दा फरक पर्दैन।

    उदाहरणको लागि लिन सकिन्छ, उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा २ किलोमिटर दक्षिणको पञ्चेश्वर गुफा।

    हजारौँ वर्ष पुरानो बहुआकृतिको पञ्चेश्वर गुफालाई स्थानीय, प्रदेश र संघीय सरकारले अझै पत्ता लगाउन सकेका छैनन्। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चेश्वर गुफा उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा गुमनाममा छ। ‘कसैले पनि वास्ता गरेका छैनन् भनौँ भने धेरैले चुनावी घोषणा पत्रमासमेत अटाउने पञ्चेश्वर गुफा हो,’ एक स्थानीयले भने, ‘तर, अझै पनि पर्यटनको नजरमा पञ्चेश्वर गुफालाई हेर्न पाइएको छैन।’

    बहुआकृति सहितको गुफा दशकौंअघि फेला परे पनि आवश्यक प्रचारप्रसार र संरक्षण अभावमा अहिलेसम्म ओझेलमै गरेको छ। जसका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूको गनतव्य बन्न सकेको छैन।

    पञ्चेश्वर गुफामा कलात्मक आकृति

    नेपाली पहाडमा विभिन्न प्रकारका कलात्मक आकृतिहरु जताजतै भेटिन्छन्। तर, फरक आकृतिको रुपमा पञ्चेश्वर गुफामा छ। ‘गणेशको सुँढ, मयूर नाचेको प्रस्‍ट बुट्टा, कलात्मक आकृतिहरू छन्,’ गुफाको वर्णन गर्दै वडा अध्यक्ष कुरुङ राईले भने, ‘ओढारको ढुंगामा विभिन्न आकार पलाएको छ, जसलाई बजाउँदा मादलको आवाज निस्किन्छ, ओढारमै पलाएका ढुंगा बजाउँदा कुनै ठूलो र कुनै सानो आवाज आउँछ, मादल, तुङना र डम्फु बजाएझैं हुन्छ।’

    गुफा (ओढार)को दायाँबाँया दुवैपट्टि मान्छे छिर्न मिल्ने एक मिटर व्यास आकारको द्वार छ। जसबाट छिर्ने र अर्कोपट्टि निस्कन सकिन्छ। ओढारभन्दा बायाँपट्टि १५ मिटरजतिमाथि गएपछि गुफाको द्वार भेटिन्छ। दक्षिणी द्वारभन्दा केहीमाथि हात्ती आकारको मूर्ति गुफाभित्रै छ।

    अध्यक्ष राईका अनुसार सुतेर मात्र छिर्न सकिने गुफाभित्र छिरेपछि उत्तरतर्फको द्वारमा निस्कन सकिन्छ। कलात्मक र देवदेवीको झल्को दिने आकारका चित्रहरू प्राकृतिकरूपमै बनेका छन्।

    गुफाको देब्रेपट्टि भिरालो जमिन १०/१२ मिटर चढेपछि त्यसको बायाँ छेउ भएर केही समथर जमिन छ। जसको सम्मुख अर्को ओढारसहितको गुफा छ। त्यसलाई परिक्रमा गर्नेगरी अर्को २५/३० मिटर उक्लेपछि समथर जमिनमा पोखरी छ। नियमित उत्पत्ति भएर बगिरहने लगभग १० मिलिमिटर स्रोतको पानी जम्मा नगर्दा पनि पोखरी सुक्दैन।

    बगिरहने पानी संरक्षण गरे सुख्खा मौसममा पनि पोखरी भरिभराउ र मनमोहक हुने स्थानीय रामकुमार राई बताउँछन। ‘गुफा वर्षौंअघि फेला परे पनि त्यसको विषयमा गाउँलेहरूले सम्बन्धित निकायमा थाहा नदिएका कारण गुमनाममा परेको हो,’ त्रियुगा १४ का वडा सचिव रीतकुमार राउतले भने, ‘गुफाबारे गाउँलेलाई जानकारी भए पनि सम्बन्धित निकायलाई थाहा नदिएकाले संरक्षण र प्रचारप्रसार हुन सकेको छैन।’

    गुफाको धार्मिक आस्था

    साउने थुम्काकोमा अवस्थित पञ्चेश्वर गुफा चुनिया खोलादेखि झण्डै एक किलोमिटर ठाडो उकालो चढेपछि पुगिन्छ। पञ्चेश्वर गुफाका पूजारी ६७ वर्षीय खामबहादुर मगरका अनुसार ३०/३५ वर्षअघि स्थानीय बुढापाकाले बीचजंगलमा गुफा पत्ता लगाएका हुन्। उनका अनुसार गाउँलेहरू गाई बाख्रा चराउन जाँदा सँगै गएको कुकुरले जंगलमा चमेरा मारिदियो। त्यो दिन चराउन गएका सबै गाईबाख्रा हराए। ३/४ दिनसम्म नभेटिएपछि खोज्ने क्रममा गुफा फेला पर्‍यो।

    ‘शक्तिपीठ भन्ने ठानेर भाकल गरी एकजोर परेवा उडाएपछि सबै गाईबाख्रा भेटिका थिए,’ पूजारीले भने, ‘अर्को किम्बदन्तीअनुसार गाईबाख्रा चराउन तथा घाँसदाउरा गर्न गएका स्थानीयले भीषण वर्षा भएपछि ओत लाग्न छहारी खोज्दै जाँदा अनकन्टार भीरमा कलात्मक ढुंगासहितको ओढार फेला परेको थियो।’

    पञ्चेश्वर शक्तिपिठको पूजापाठ गर्नाले मनोइच्छा पूरा हुने जनविश्वास छ। विगत ३ वर्षदेखि भने हरेक शिवरात्रि र बाला चतुर्दशीमा वडा कार्यालयले मेला लगाउन थालेको छ।

    माघे वालाचर्तुदशीमा मेला लाग्ने गरेको छ। गणेश, शिवजी, पार्वती, नागदेवता, विष्णु भववान् रहेको पूजारी मगरको भनाइ छ। वडा सदस्य हेममगरले उक्त गुफाको धार्मिक पर्यटकीय सम्‍भावना अत्यन्त बढ्दै गएको बताए।

    कच्ची सडक

    बालाचतुर्दशीका दिन मेला लाग्न थालेपछि गतवर्ष वडाकै लगानीमा साउने बजारदेखि डेढ किलोमिटर खोलासम्मै कच्ची सडक पुर्‍याएको वडा अध्यक्ष राईले बताए। ‘डक पुगेसँगै खोला किनारको लगभग १५ रोपनी जमिन सम्याएर मेला लगाउन थालिएको हो,’ उनले भने, ‘खोला वारिपारिको जमिन सम्याएर बजारस्थल बनाइएपछि भक्तजनहरू थपिँदै गएका छन्।’

    वडा कार्यालयको आग्रहमा नगरपालिकाले गुफाको दिगो संरक्षण, व्यवस्थापन र आवश्यक प्रचारप्रसार अभियान थालेको छ। गुफाको उत्पत्ति र विकासबारे अध्ययन गर्दै संरक्षण, व्यवस्थापन र दीर्घकालीन महत्व दिन प्रचारप्रसारमा लाग्न समिति नै बनाएर आवश्यक छलफल सुरु गरिएको वडाअध्यक्ष राईको भनाइ छ।

    पर्यटकीय केन्द्र बनाउन जनप्रतिनिधि जुट्दै

    निर्वाचित भएर आएका जनप्रतिनिधिहरूको ध्यान अहिले पञ्चेश्वर गुफामा केन्द्रित हुन थालेको छ। ‘गुफाको संरक्षण, सम्बर्द्धन र विकास गर्नका लागि योजना अघिसारेको छ,’ वडा अध्यक्ष राईले भने, ‘त्यसका लागि जैविक कलाविज्ञ तथा आर्किटेक्ट कलाकार विक्रमश्रीलाई स्थलगत अवलोकन निरीक्षण गराएका छौँ।’

    कलाकार टोलीसहित स्थलगत अवलोकनका लागि गुफा क्षेत्र पुगेका विक्रम श्रीले पोखरी, गुफा, ओढार र रैथाने वनस्पति पाइएकाले सो ठाउँ परापूर्वकालमा मानवसभ्यता भएको अनुमान गर्न सकिने कलाकार विक्रीश्री बताउँछन्।

    ‘पुरातत्व तथा जैविक विविधाताले भरिपूर्ण छ,’ उनले भने, ‘कुनै समय मान्छेको लामो बसोबास भएको अनुमान गर्न सकिन्छ।’ पुरातात्विक, धार्मिक र पर्यावरणीय सम्‍भावनासहितको योजना बनाउनुपर्ने उनको भनाइ छ।

    त्रियुगा नगर प्रमुख बलदेव चौधरीले नगरपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीयस्थलहरूको विकास, संरक्षण र सम्बर्द्धनलाई प्रमुख प्राथमिक्ता दिएर योजना निर्माण भइरहेको भन्दै पञ्चेश्वर गुफा प्रथामिकतामा परेको बताए।

    ‘पर्यटनलाई मुख्य आधार बनाएर आधुनिक, समृद्ध र समुन्नत नगरपालिका बनाउन १६ वटै वडाका धार्मिक तथा पर्यटकीयस्थलहरूको पहिचान गरी विकास गर्न अध्ययन भइरहेको छ,’ उनले भने, ‘खासगरी ओझेलमा परेका धार्मिकस्थल, प्राकृतिक महत्वका सम्पदा र पर्यटन सम्‍भावना बोकेका ठाउँहरूको खोजी गरिसकेको छ, अब संरक्षण, विकास र प्रवर्द्धकतर्फ आगामी बजेट र नीति कार्यक्रमले सम्बोधन गर्ने तयारीमा छौँ।’

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]