नेपाल-भारत रेल सेवा सहमति

|

काठमाडौः नेपाल-भारतबीच नेपालको रेल वीरगन्ज र विराटनगरबाट भारतको कोलकत्ता÷हल्दियासम्म संचालन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

दुई मुलुकबीचको रेल सेवा सम्झौता अन्तरगतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगन्ज र विराटनगरसम्म रेल संचालनका लागि सहमति जनाएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी त्यस सहमतिले छिट्टै लिखित रुप लिने पनि स्पष्ट पारेको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्ष भित्र भारतको कोलकत्तासम्म नेपालको रेल सञ्चालन हुने गरी सो सहमतिलाई अघि बढाउने योजना पनि सार्वजनिक गरे। बैठकमा नेपालको वीरगन्ज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाइन विस्तार गर्न भारतले सहमति जनाएको थियो ।

दुई मुलुकबीच पारवहन सन्धि अनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति पनि गरिएको छ । 

विराटनगर-जोगबनी, सुनौली-नौतनवा र कुर्था-इनरुवा-जयनगर रुटमा रेल सेवा संचालनमा आएपछि सो रुटमा कार्गाे ढुवानी गर्न पनि दुई मुलुकबीच सहमति जुटेको छ । सचिव अधिकारीले यो सहमतिसँगै दुई मुलुकबीचको माल सामान ढुवानीमा देखिदै आएको समस्या समाधान भएर जाने विश्वास पनि व्यक्त गरे।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले नेतृत्व गरेको सो बैठकले नेपाली बैङ्किङ च्यानलमार्फत् ढुवानी, दस्तुरलगायतका महशुल नेपाली व्यापारीहरुले गर्न पाउने अर्को सहमति गरेको छ ।

नेपाली व्यापारीहरुले विगतदेखि उठाउँदै आएको समस्यालाई भारत सरकारले समाधान गर्ने सहमति जनाएको सचिव अधिकारीले जानकारी दिए। बैठकमा दुई मुलुकबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिना भित्र नेपालमा बस्ने सहमति पनि भएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.