विराटनगर : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्तालाई प्रहरीले विराटनगर महानगरपालिका ७ डाँफे चोकबाट आइतबार राति पक्राउ गरेको छ।
पैदल हिँडिरहेका बेला मोरङको सुन्दरहरैंचा नगरपालिका ८ का ५३ वर्षीय रुद्र पौडेललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।
पक्राउ परेका पौडेलमाथि ‘विप्लव’ समूहले विभिन्न समयमा आह्वान गरेको बन्द र हड्तालका बेला ठाउँ–ठाउँमा बम राखेर जनजीवन आतंकित पार्ने गतिविधिमा पनि संलग्न भएको आरोप लगाइएको छ।
प्रहरीका अनुसार उनी खोजी सुचीमा थिए। ‘विभिन्न ठाउँमा बम राखेर शान्ति सुरक्षाको अवस्थामा असर पुर्याउने र सर्वसाधारणलाई आतंकित पार्ने कार्यमा पौडेलको संलग्नता हुनसक्ने आशंका छ’ डिएसपी श्रेष्ठले भने, ‘पक्राउ गरेर हिरासतमा राख्दै विस्तृत रुपमा अनुसन्धान अघि बढाइएको छ।’
उनीमाथि अनुसन्धान अघि बढाउनकै लागि प्रहरीले सोमबार अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेको छ। अनुसन्धानका क्रममा बम राखेको पुष्टि भए त्यही अनुसार अन्य कारबाही अघि बढाउने प्रहरीको तयारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।