|

डडेल्धुरा : डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकामा नमुना युवा संसद् अभ्यास गरिएको छ। 

युवालाई नेतृत्व तहमा लिएर नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गराउने उद्देश्यका साथ नमुना अभ्यास गरिएको हो। जिल्ला युवा समिति डडेल्धुरा र राष्ट्रिय युवा परिषद् नेपालको समन्वयमा अमरगढी नगरपालिको आयोजनामा नमुना युवा संसद् स्थापना तथा अभ्यास कार्यक्रम गरिएको हो।  अमरगढी नगरपालिकाभित्रका ११ वटै वडाका युवालाई समावेश गरेर नमुना युवा संसद अभ्यास सोमबार सम्पन्न भएको छ।

नमुना युवा सांसदको पहिलो दिन शनिबार सहभागिहरुलाई संसदीय अभ्यास सम्बन्धि जानकारी तथा मन्त्री मण्डल गठन गरिएको थियो।  आइतबार र सोमबार थप अभ्यास गरि युवालाई संसदीय अभ्यासको बारेमा जानकारी गराइएको हो।  तीन दिन सम्म चलेको नमुना युवा संसदमा नेपालको संघिय तथा प्रदेश संसदमा हुने गरिएको काम कारबाहीको नमुना कार्य गरिएको छ। युवालाई नीति निर्माणमा तहमा जोड्नका लागि उक्त अभ्यास गरिएको जिल्ला युवा समिति डडेल्धुराका अध्यक्ष भरत मल्लले बताए।

१६ देखि २४ वर्ष उमेर समूहका विभिन्न समूहका युवाहरुको सहभागितामा प्रत्येक वडामा युवा क्लवको निर्माण गरी सरकारको जस्तो संसदीय अभ्यास मार्फत युवा लक्षित कार्यक्रम निर्माण गरी कार्यान्वयनमा लैजाने संसदिय अभ्यास गरिएको अध्यक्ष मल्ले बताए।

युवाहरुलाई राजनीतिप्रति अभिप्रेरित गर्ने र संसद्मा गतिविधिको अभ्यास गराउन उदेश्यले उक्त कार्यक्रम गरिएको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

अब युवालाई स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्न युवाको बढीभन्दा बढी सदुपयोग गर्ने बताए। उनले युवा देशको मेरुदण्ड भएको र यहाँ सिकेका कुरा अब देश निर्माणमा प्रयोग गर्नको लागि सहभागिलाई सुझाए। नगरप्रमुख ओझाले आफू पनि युवा भएकोले युवाको समस्या आफूले बुझेको उल्लेख गर्दै स्थानीय स्तरमा नै रोजगारी कार्यक्रम सिर्जना गर्न आफ्नो मुख्य उद्देश्य भएको बताए।

नगरका ११ वटै वडाका युवा क्लबबाट २÷२ जनाको प्रतिनिधित्व थियो। नेपालमा युवा र युवा संसद्को अवधारणा र अभ्यास, लोकतन्त्र र संसदिय प्रक्रियाको आवश्यकता र महत्व, संघीय, प्रादेशिक र स्थानीय सरकारको गठन तथा कार्य जिम्मेवारीबारे सिकाइएको थियो। 

साथै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको अन्तरसम्बन्ध, संसद्मा पालना गर्नुपर्ने नियम, संसद्मा उठान गर्न सकिने विषयवस्तुको पहिचान (स्थानीय, प्रादेशिक र संघीय तह), राष्ट्रपति, सभामुख, उपसभामुख, तथा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया, व्यावहारिक अभ्यास सिकाइएको थियो।

विधेयक निर्माण, दर्ता र पारित गर्ने प्रक्रिया, संसदीय समितिहरूको भूमिका, शून्य समय, विशेष समय, संकल्प प्रस्ताव, जरुरी सार्वजानिक महत्त्वको प्रस्ताव र प्रधानमन्त्रीसँग प्रश्नोत्तर, युवा विकासका लागि वार्षिक नीति तथा कार्यक्रम निर्माण र प्रस्तुतीकरण गराइएको अध्यक्ष मल्लले बताए।

नमुना युवा संसद् अभ्यासबाट संदद्मा हुने क्रियाकलापका बारेमा आफूहरु जानकारी भएको अमरगढी–१ भेटाका गणेश ऐरले बताए। सहभागीले युवाको मुद्दासँगै नगरभित्रको फोहोरमैला व्यवस्थापन, शुद्धखानेपानीको व्यवस्था, बाटोघाटो समस्या, महिला हिंसा र शिक्षामा हुने राजनीति रोक्न नगरपालिकाले पहल गर्नुपर्ने विषय उठाएका थिए।

सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरिएको थियो। नमुना संसद्मा युवाहरूले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता आदि बनाएर संसद्कै झल्को दिने गरी नमुना अभ्यास गरेका हुन्। जसमा संसदको प्रक्रिया अनुसारका सत्तापक्ष, प्रतिपक्ष, मर्यादापालकलगायतका व्यवस्थापन गरिनुका साथै युवा संसद्मा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.