|

काठमाडौं : सरकारले पढाउने विषय यकिन नभएका र आफ्नो स्वामित्वमा नभएका र भवन नै नभएका तीन प्राविधिक शिक्षालयलाई  सरकारले नमुना घोषणा गरेको छ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले चितवनको माडीमा दिवाकर प्राविधिक शिक्षालय, महोत्तरीको बर्दिबास खयरमारामा रहेको निर्मल लामा प्राविधिक शिक्षालय नमुना घोषणा भएका छन्। त्यस्तै दाङ जिल्लामा रहेको कृष्ण सेन प्राविधिक शिक्षालयलाई कक्षा सञ्चालन गर्न अनुमति दिँदै नमुना घोषणा गरिएको छ।

दाङस्थित दिवाकर प्राविधिक शिक्षालयको आफ्नो भवन नहुँदा एक विद्यालयको कक्षामा कक्षा सञ्चालन गरिएको छ। त्यस्तै कृष्ण सेन प्राविधिक शिक्षालयले नगरपालिकाले भोगचलन गर्नका लागि उपलब्ध गराएको जग्गामा रहेको स्कुलमा कक्षा सञ्चालन गर्दै आएको छ। महोत्तरीस्थित निर्मल प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल साइन्स इन्जिनियरिङ र जियो मेटिक्स, दिवाकर प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल साइन्स र भेटरिनरी डिप्लोमा अध्ययन अध्यापन गराइन्छ।

तीन प्राविधिक शिक्षालयलाई नमुना घोषणा गर्नुपर्नेमा राजनीतिक दबाब आएको स्रोतले जिकिर गरेको छ। सीटईभीटी स्रोतका अनुसार विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको दबाबमा निर्मल लामा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा दिवाकार शिक्षालय खोलिएको हो। त्यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलका सल्लाहकार जीवन गौतमको दबाबमा कृष्ण सेन प्राविधिक शिक्षालय खोलिएको जनाएको छ।

सरकारले स्वास्थ्य विषय पढाइ नभएका ८० प्रतिशत शिक्षालयलाई नमुना घोषणा गरेको छ। सीटीईभीटीले सिफारिस गरेको शिक्षालयमध्ये पोखराको गण्डकीलाई नमुना नबनाई गोरखा प्राविधिक शिक्षालय नमुना शिक्षालयका रूपमा घोषित भएको छ।

प्राविधिक शिक्षा परिषद्का अनुसार परिषद्ले यस चालू आर्थिक वर्षमा ४५ करोड रुपैयाँ विनियोजन गरेको छ। जसबाट नमुना घोषणा भएका शिक्षालयले पाँच\पाँच करोड पाउनेछन्।

निर्देशक भन्छन्, हामीलाई दबाब आएको छैन

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का प्रशासन निर्देशक महेश भट्टराईले गत चैत महिनामा सातवटै प्रदेशमा सात वटा प्राविधिक शिक्षालयलाई नमुना घोषणा गरेको बताए। उनका अनुसार प्राविधिक शिक्षालयको विस्तार गर्नका लागि सीटीईभीटीले नमुना शिक्षालय घोषणा गरिएको र यसमा कुनै पनि नेता र मन्त्रीको दबाब आएको छैन।

‘हामीले सम्पूर्ण प्रक्रिया अपनाएर नै ती तीन शिक्षालय सहित सात प्रदेशमा प्राविधिक शिक्षालयलाई नमुना घोषणा गरेको हौँ,’ उनले भने, ‘हामीले प्राविधिक शिक्षालयको विकास र विस्तार गर्न चाहन्छौँ, एक प्रदेशमा एक नमुना शिक्षालयको घोषणा गरेमा त्यसले अन्य प्राविधिक शिक्षालयलाई अघि बढ्न हौसला दिन्छ भन्ने उद्देश्यले नै नमुना घोषणा गरिएको हो, यो कसैको दबाबमा गरिएको होइन।’ उनका अनुसार ‘एक प्रदेश एक प्राविधिक शिक्षालय’ नामक नमुना पर्यटकीय बनाउन घोषणा भएको नीति अनुसार नै काम हुँदै आएको छ। यसमा कसैले हस्तक्षेप र दबाब दिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.