मन्त्रीलाई भने : तपाईंहरूको योग्यता हेरेर दया लाग्यो

|

काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकमा सहरी विकास मन्त्रालयका लागि विनियोजित वार्षीक विकास कार्यक्रममा बारेमा बोल्न सांसद झपट रावललाई समय मिल्यो। सभामुखको आसनमा बसेकी सांसद राधा ज्ञवालीले समय उपलब्ध गराएपछि रावल रोष्ट्रममा पुगे।

रोष्ट्रममा उभिएर रावलले सम्बोधन सुरु गरे, 'सभामुख महोदय, सहरी विकास मन्त्रालय अन्तर्गतको वार्षिक विकास कार्यक्रमबारेमा बोल्न चाहन्छु…।' यत्ति भनिसकेपछि उनी उनी चुप लागे।

बोल्नका लागि रोष्ट्रममा पुगेका सांसद मौन रहेपछि ज्ञवालीले भनिन् 'माननीयज्यू के भयो?' जवाफमा रावलले भने, 'माननीयज्यू, केही नभएकाले नबोलेकोले….।' उनी फेरि मौन रहे।

एकछिनको मौनतापछि ज्ञवाली बोलिन्, 'त्यसरी समयको सदुपयोग भएन कि!' जवाफमा गला अवरुद्ध पार्दै रावलले भने, 'पुस्तकमा नअटेको हुनाले सभामुख महोदय…।'

यो दृश्य देखेर प्रतिपक्षी र सत्तापक्षका सांसदहरू कोही मुस्कुराइरहेका थिए भने कोही मुखामुख गरिरहेका थिए। सहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राई भने असजिलो मानेर अर्थमन्त्रीको छेउमा बसिरहेका थिए।

रोष्ट्रममा उभिएका रावल भने एकछिन नाडीमा रहेको घडी हेर्थे भने अर्कोपटक भित्तातिर नजर कुदाइरहेका थिए।

फेरि केहीबेरको मौनतापछि ज्ञवालीले भनिन्, 'माननीयको सांकेतिक विरोध भइसक्यो, अब माननीयले समय लिनुहोस्। म अनुरोध गर्न चाहन्छु' जवाफमा रावलले भने, 'भए  पो बोल्नु…।'

फेरि घडी हेरेर उनले आफ्नो भनाइ सुरु गरे। 'सम्माननीय सभामुख महोदय, मै खाऊँ, मै लाऊँ, सुखसयल मै गरौँ। मै बाँचु, मै हाँसु, अरु सबै मरुन्, दूर्बलहरू! मजस्ताहरू।'

सांसद रावलले अगाडि भने, 'यो सहरी विकास मन्त्रालयको वार्षीक कार्यक्रम लगायत जुन कार्यक्रम छ यसको मैले पानापाना पल्टाएर हेरेँ। बजेट आउनुपहिला चैत १५ पहिले पनि मन्त्रालयको ढोका ढक्ढक्याएँ।' उनले कैलाली निर्वाचन क्षेत्र २ मा कुनै पनि आवास योजना नआएकामा विरोध गरेका थिए। उक्त क्षेत्रमा वादी बस्ती रहेको छ। त्यहाँ सुकुम्बासीको पनि बाक्लो बस्ती रहेको उनले जानकारी दिए। उनले भने, 'मेरो क्षेत्रका वादी समुदाय आकाशलाई सिरक र धरतीलाई डस्नाको रूपमा प्रयोग गरेर जीवन गुजारीरहेका छन्।'

मन्त्रालयको योजना आफ्नो क्षेत्रमा नपरेकामा उक्त विरोध रहेको उनको भनाइ थियो। 'अन्य ठाउँमा आवास योजना पर्छ, मेरो क्षेत्रमा आवास योजनाकालागि मन्त्रालयको आँखा पुग्दैन। हिजो मैले बजेट हेरेँ मन्त्री केन्द्रित, नेता केन्द्रित यो कार्यक्रम आएको हुनाले यो विभेदकारी छ।'

सरकारले जनतालाई भेगीय हिसाबले विभेद गरेको पनि रावलले बताए। २३ गतेको हावाहुरीबाट कैलाली र कञ्चनपुरमा भएको क्षतिको राहत दिन र घाइतेलाई उपचार गराउन पनि सरकारको ध्यानाकर्षण गराए।

अन्त्यमा मन्त्रीतर्फ हेर्दै रावलले भने, 'सत्तापक्षको सांसद भएकाले केही भन्न सक्दैन। मन्त्रीलाई ठीक छ, तपाईंको बाँकेको क्षेत्र मात्रै विकास गरेर संसार सहरीकरण हुने हो भने म बधाई दिन्छु। तपाईंहरूको योग्यता हेरेर दया लागेर आएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.