|
File Photo

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–५ परशुराम धामस्थित मंगलबार महाकाली नदीमा बाढीको पूर्व सूचनाका लागि नेपाल–भारत सयुंक्त कृत्रिम अभ्यास गरिएको छ।

बर्खायाम शुरु हुन केही हप्ता मात्रै बाँकी रहेका बेला बाढीबाट प्रभावित हुनसक्ने महाकाली किनारका बासिन्दालाई सचेत गराउन विभिन्न निकायको अग्रसरतामा बाढीको पूर्वसूचनाका लागि कृत्रिम अभ्यास गरिएको हो।

नेपालको पश्चिमी सीमा महाकाली नदी क्षेत्रअन्तर्गत पर्ने समुदायमा सञ्चालित दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा), स्वीडेन स्भेरिज, रुडुक डडेल्धुरा, निड्स नेपाल र अक्सफामलगायतका साझेदार संस्थाहरुको सहयोगमा कृत्रिम अभ्यास कार्यक्रमको आयोजना गरिएको हो।

बर्खायाममा महाकाली नदिमा आउने बाढीबाट आफू कसरी बच्ने र नेपाल–भारत सीमा नदी महाकाली तटीय क्षेत्रमा अवस्थित समुदायका नागरिकलाई कसरी बचाउने भनेर कृत्रिम घटना अभ्यास गराइएको ट्रोसा परियोजनाका कार्यक्रम अधिकृत अमर साँउदले जानकारी दिए।

बाढी आउँदा नदीको सतह मापन गर्ने, माथिल्लो तटीय क्षेत्रका निकायले तल्लो तटीय क्षेत्रका निकायमा खबर गर्ने, साइरन बजाउने, सुरक्षित स्थानतर्फ सर्न खबर गर्ने, बहुमूल्य तथा अत्यावश्यक सरसामान झटपट झोलामा बोक्ने, उद्धार कार्यमा खटिन सम्बन्धित सुरक्षा निकायलाई खबर गर्नेलगायतका कार्यहरुको अभ्यास गरिएको थियो। 

महाकाली तटीय क्षेत्रमा अवस्थित समुदायका नागरिकले विगतमा महाकालीमा आउने बाढीबाट झेल्नुपर्ने जोखिम तथा समस्याको हकमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गरिदा जनधनको क्षति हुनबाट बच्न बेलैमा सजग गराइएको सहभागीको भनाइ  थियो।

साथै नेपाल–भारतका ५ वटै जिल्लाका विभिन्न क्षेत्रमा पूर्वसूचना प्रणालीमा कार्यरत सरोकारवाला व्यक्तिका बीच बाढीबाट प्रभावित हुने क्षेत्रका बारेमा नक्सांमनमार्फत छलफलसमेत गराइएको थियो। दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र भारतीय चम्पावत जिल्लाका विभिन्न सरोकारवाला निकायको सहभागितामा कृत्रिम अभ्यास गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.