|

अहिले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ। विश्वकपमा एक टोली च्याम्पियन हुन्छ तर सबैले प्रतिष्पर्धात्मक खेल पस्किन्छन्। साँचिकै प्रतिष्पर्धाविहीन खेलहरू पनि हुन्छन्। तिनै मध्येका केहि खेलहरू यस्ता छन् जहाँ पत्याउनै नसक्ने स्कोर बने।

विश्वकपमा क्यानडालाई अहिलेसम्मकै कमजोर टोलीका रूपमा लिने गरिन्छ । सन् १९७९ मै विश्वकपमा डेब्यु गरेको क्यानडाले अन्तिमपटक सन् २०११ मा प्रतिस्पर्धा गरेको थियो। क्यानडा खराब इतिहास बनाउने क्रममा दुईपटक ५० रनभन्दा कम स्कोरमा आउट भयो। जुन एकदिवसीय खेलमा नै पत्यान नसकिने कमजोर स्कोर थियो।

सन् १९७९ को पहिलो सहभागितामा क्यानडा इंग्ल्यान्डविरुद्धको खेलमा ४५ रनमै अलआउट भयो। त्यसपछि सन् २००३ मा क्यानडा श्रीलंकाविरुद्ध केवल ३६ रनमै धराशायी भयो। क्यानडा १८.४ ओभरमै अलआउट हुँदा श्रीलंकाले ४.४ ओभरमै बाजी मार्न सफल भएको थियो।

नामिबिया २००३

अफ्रिकी राष्ट्र नामिबियाले सन् २००३ को विश्वकप सुखद बनाउन सकेन । साबिक विजेता अस्ट्रेलियासँगको प्रतिस्पर्धामा नामिबिया इतिहासकै दोस्रो कम योगफलमा अलआउट भयो।

अस्ट्रेलियन फास्ट बलर ग्लेन म्याग्राथले केवल १५ रन खर्चेर सात विकेट झार्दा नामिबिया १४ ओभरमै ४५ रनमा अलआउट भयो। अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दा ६ विकेट गुमाएर तीन सय एक रन बनाएको थियो। अस्ट्रेलियाले खेल दुई सय ५६ रनले जित्यो। 

बंगलादेश २०११

चालू विश्वकपमा बंगलादेशी ब्याट्सम्यानले सोचेभन्दा उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। तर, त्यही बंगलादेश टोली सन् २०११ को विश्वकपमा केवल ५८ रनमै समेटिएको सुन्दा पत्याउन गाह्रो लाग्न सक्छ।

बंगलादेशले वेस्टइन्डिजविरुद्ध गरेको प्रदर्शन इतिहासकै चौथो कम योगफल थियो। घरेलु मैदान सेरा बंगलामा बंगलादेश १८.४ ओभरमा अलआउट भयो । सोही संस्करणमा बंगलादेश दक्षिण अफ्रिकाविरुद्ध ७८ रनमा आउट भयो। बंगलादेश दक्षिण अफ्रिकासँग केवल २८ ओभरसम्म टिक्न सक्यो।

पाकिस्तान १९९२

कप्तान इमरान खानको नेतृत्वमा पाकिस्तानले पहिलोपटक विश्वकप ट्रफी सन् १९९२ मा उचालेको थियो। अचम्मलाग्दो पक्ष के भने पाकिस्तानले इंग्ल्यान्डलाई हराउँदै विश्व च्याम्पियन हुनुअघि सोही प्रतिद्वन्द्वीसँग समूह चरणमा अप्रत्यासित खेल खेलेको थियो।

लिग चरणमा पाकिस्तान इंग्ल्यान्डसँगको प्रतिस्पर्धामा ४०.२ ओभरमा ७४ रनमै अलआउट भएको थियो। पाकिस्तानले खडा गरेको यो योगफल इतिहासकै सातौैँ कम स्कोर हो।

स्कटल्यान्ड १९९९

एसोसिएट राष्ट्रका रूपमा स्कटल्यान्डले सन् १९९९ मै विश्वकपमा डेब्यु गरेको थियो। तर, स्कटल्यान्डले आफ्नो डेब्यु विश्वकप सुखद बनाउन सकेन।वेस्टइन्डिजविरुद्धको खेलमा स्कटल्यान्ड केवल ३१.३ ओभरमै ६८ रनमा अलआउट भयो।  स्कटल्यान्डले बनाएको योगफल विश्वकपकै पाँचौं कम स्कोरका रूपमा अंकित छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.