लागुऔषध कारोबारीमाथि प्रहरीको गोली

|

पोखरा : बुधबार विहान ११ बजे पोखरा महानगरपालिका-१० को उत्तमचोकमा प्रहरीले गोली प्रहार गर्‍यो । उत्तम चोककै आवर उत्तम क्याफेमा लागुऔषध कारोबारी गोविन्द थापा रहेको सूचनाको आधारमा पुगेको प्रहरीमाथि आक्रमण गर्न थालेपछि थापालाई लक्षित गरी गोली हानिएको प्रहरीले जनाएको छ । 

पोखरा-१० कै बासिन्दा उनको दायाँ खुट्टामा गोली लागेको छ । उनको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । ३० वर्षीय थापा सन् २०१४ देखि २०१८ सम्म कतारमा पनि लागुऔषध मुद्दामै जेल जीवन बिताएर आएका हुन् ।  

लागुऔषध कारोबार गरेकै कारण चार वर्ष कतारको जेलमा पुगेका उनी छुटेर नेपाल आएलगत्तै पुरानै धन्दामा रहेको सूचना प्रहरीले पाएको थियो ।लामो अनुसन्धान गरेर पक्राउ गर्न सफल भएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।  

‘कतारमा पनि लागुऔषध कारोबार गरेकै कारण चार वर्ष जेलमा बसेर आएको हो,’ उनले भने, ‘यहाँ आएपछि उही धन्दा चलाएको थाहा पाएर प्रहरीले अनुसन्धान गरिरहेको थियो । उनीमाथि ज्यान मार्ने उद्योगमा एक वर्ष अघि मुद्दा पनि दर्ता भइसकेको थियो ।’  

थापालाई पक्राउ गर्नेक्रममा प्रहरी सहायक निरीक्षक सन्तोष सुबेदी सामान्य घाइते भएका छन ।  गोविन्दको साथबाट डाईजापाम ५०० थान नुर्फिन ५०० थान र फिनारगन ५०० थान गरि कुल १५०० थान प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरी स्रोतले बतायो । 

त्यस्तै घटनास्थलबाट ग १३ प ८२२८ नं को मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानले थापाले लागुऔषध कारोबारीहरुको ठुलो समुहसँग मिलेर पोखरा र आसपासका जिल्लाहरुमा लागुऔषध ओसारपोसार गर्नेगरेको देखाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.