|

हेटौंडा : प्रदेश ३ को प्रदेश समन्वय परिषदको बैठक हेटौँडामा सुरु भएको छ।  बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले सरकार आफ्नै ढंगले मात्रै चल्दा समृद्धिको बाधक बन्ने बताएका छन्। 

तीन वटा सरकार तीनतर्फ फर्किँदा विकास हुन नसक्ने बताएका हुन्।  कार्यक्रममा बोल्दै पौडेलले तीनवटै सरकारले सह–अस्तित्व स्वीकार गर्नुपर्ने बताए। उनले संविधानमा सबै सरकार स्वतन्त्र रहेको भएता पनि साझा सहकार्य गर्ने कुरा उल्लेख रहेको बताए।

स्थानीय तहले बनाएको कानुन प्रदेश सरकारलाई थाहा नहुने भन्दै समन्वय गर्नुपर्ने धारणा राखेका थिए। उनले भने 'तीन तहको सरकार विच समन्वय नहुँदा समस्या आएको छ, यसरी अगाडि बढ्दा साझा कानुनहरुमा झन्झट आउँछ।' 

उनले देश निर्माण गर्न सबै मिल्नुपर्ने बताउँदै सरकार बीचमा भएका समस्याको छलफल र गरेर निष्कर्ष निकाल्नुपर्ने बताए। सरकारमा बस्नेहरूले ठूला राजनीतिक परिवर्तन गरेर आएता पनि  काम गर्ने शैली परिवर्तन हुन नसकेको बताए।  

उद्घाटन सत्रमा बोल्दै प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले अहिलेसम्म जनप्रतिनिधिले आफूले गरेको काम र परिणामको बारेमा समीक्षा हुनु पर्ने बताए।  यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले तीन तहको सरकार बीच तालमेल नहुँदा समस्स्या उत्पन्न हुन सक्ने बताएका हुन्। उनले सरकारहरुले निमुखा र गरिबलाई भन्दा पनि धनी वर्गलाई लक्षित गरि काम गरेकोमा आक्रोशसमेत व्यक्त गरेका छन् । 

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सुरु भएको बैठकमा  प्रदेश सरकारका मन्त्री,  प्रदेशसभा अन्तर्गतका संसदीय समितिका सभापति, जिल्ला समन्वय समितिका प्रमुख,  १ सय १९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उपस्थिती रहेको छ।

उद्घाटन सत्रमा प्रदेश ३ का स्थानीय तहको बस्तुस्थिती विवरणसमेत सार्वजनिक गरिएको छ।  बिहीबारसम्म चल्ने बैठकमा बुधबार ४ वटा कार्यपत्र प्रस्तुत हुँदैछ।  

आवधिक योजनाको सम्बन्धमा प्रदेश र स्थानीय तह बीचको पारस्परिक अन्तरसम्बन्ध र जवाफदेहिताको विषयमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.