|
File Photo

सल्यान : सल्यानमा गर्भवती महिलालाई आयोडिनयुक्त नुन र साबुन दिन थालेपछि स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने संख्यामा वृद्धि आएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिकाले गर्भवती महिलाहरुलाई आयोडिन नुन र साबुन दिन थालेपछि गर्भ परीक्षण गराउनेको संख्यामा वृद्धि आएको हो।

सुरुमा दुईवटा वडामा लागू गरिएको अभियान प्रभावकारी भएपछि सबै वडामा कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ।   गर्भवतीको स्वास्थ्य सुरक्षा र सरसफाइमा सहयोग पुर्‍याउन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको हो।

नियमित रुपमा स्वास्थ्य संस्थामा आई गर्भ परीक्षण गराउन गर्भवती महिलालाई आकर्षित गर्ने उद्देश्यले यस प्रकारको अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अमरकुमार शर्माले बताए। उनले भने 'घरमै असुरक्षित सुत्केरी हुन निरुत्साहित गर्न पनि कार्यक्रम सञ्चालन गरिएको हो।' 

उनका अनुसार गाउँपालिकाले वडा ३ र ४ मा परीक्षणका लागि कार्यक्रम सञ्चालन गरेको थियो। ‘कार्यक्रम प्रभावकारी भएपछि गाउँपालिकाका सातवटै वडामा सञ्चालन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गराएका र सुत्केरी भएकाले यो सुविधा पाउने छन्।’

गाउँपालिकाले ६ सय ३१ गर्भवतीलाई आयोडिन नुन र साबुन उपलब्ध गराउने लक्ष्य लिएको छ। मातृ शिशु संरक्षण कार्यक्रम अन्तर्गत आयोडिन नुनले आमा-बच्चाको स्वास्थ्यमा फाइदा पुग्ने भएकाले कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए।

विकास निर्माणका साथै विभिन्न सामाजिक कार्यमा पनि गाउँपालिकालाई नमुना बनाउन खोजिएको अध्यक्ष सन्तोष केसीको भनाई छ। उनका अनुसार गाउँपालिकाले खरिद गरेको नुन र साबुन सबै प्रसूतिगृहलाई वितरण गरिसकिएको छ। ‘२ वडामा कार्यक्रम सफल भएपछि गाउँपालिकाभर लागू गरिएको हो,’ उनले भन्, ‘कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइनेछ।’ उनले नुन र साबुन कार्यक्रमले स्वास्थ्य संस्थामा गर्भजाँच गराउने र प्रसूति हुन आउनेको संख्या बढदै गएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.