तीन तहबीच समन्वयन हुन नसक्दा डेंगु नियन्त्रण बाहिर

|

काठमाडौं : केही हप्तादेखि सुनसरीको धरान नगरपालिकासहित जिल्लाको विभिन्न ठाउँमा फैलिएको डेंगु मोरङमा समेत देखिन थालेको छ।

हाल मोरङको केराबारी, सुन्दर हरौचाँसहित विराटनगर महानगरापलिकाका केही स्थानमा डेंगु देखिन थालेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश १ का प्रमुख भोगेन्द्रराज डोटेल बताए। उनले भने ‘सुनसरीमा केही हप्तादेखि फैलिएको डेंगु हाल मोरङको केही स्थानमा समेत देखिन थालेको छ।‘

डेंगु ज्वरोका संक्रमित बिरामी देखिन थालेपछि बुधबारदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको समेत डोटेलले बताए। धरान उमहानगरपालिकमा सो रोगबाट संक्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा बुधबारदेखि मालाथिन फगि (स्प्रे) छर्केने कार्य शुरु गरिएको समेत बताइएको छ।

बुधबार वडा नम्बर १, २, ३, र १०, यही जेठ ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा औषधि छर्किने भएको छ। यसैगरी आगामी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा औषधि छर्किने तयारी भएको महानगरले जानकारी दिएको छ।

बैशाख ३१ गतेदेखि सुनसरीको विभिन्न ठाउँमा डेंगु फैलिएर महामारी रुप लिइसक्दा पनि  नियन्त्रणमा आउन सकेको छैन। हालसम्म डेंगुबाट तीन सय ३० जना संक्रमित भएको समेत प्रदेश स्वास्थ्य प्रमुख डोटेलले बताए।

स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकार बीच समन्वयन कम भएकाले पनि हालसम्म डेंगु नियन्त्रणमा आउन नसकेको डोटेलले बताए। ‘नियन्त्रणका लागि धेरै प्रयास गरिएको भए पनि नयाँ विरामीको संख्यामा कमी हुन सकेको छैन। दैनिक ३०/४० जना नयाँ विरामी थपिएको रिपोर्ट आएको छ' उनले भने 'पहिले पहिले यस्ता समस्या देखिन साथ संघमा रहेको स्वास्थ्य मन्त्रालयको रोग नियन्त्रण विभागले डाइरेकट काम गर्थ्यो र सजिलै नियन्त्रणमा आउँथ्यो। अहिले स्थानीय तह, प्रदेश सरकार हुँदै बल्ल संघमा लाग्नु पर्छ। यो तीनै तहको राम्रो समन्वयन नभएकाले पनि गाह्रो भएको छ।’

लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ, दुई तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिनासाथ चिकित्सकलाई चिकित्सकलाई देखाउनुपर्ने हुन्छ।

त्यस्तै घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ। राति सुत्दा सधैँ झुल लगाएर मात्र सुत्ने गर्नाले पनि डेंगु संक्रमणबाट बच्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.