प्राकृतिक स्रोतको दोहन रोक्न माग

|

विराटनगर : प्रदेश १ प्रदेशसभाका सांसदले प्राकृतिक स्रोतको अस्वभाविक उत्खनन् र दोहन रोक्न प्रदेश सरकारसँग माग गरेका छन्।

प्रदेशसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सांसद उपेन्द्र घिमिरेले खोलाजन्य वस्तुको अवैध निकासी र तस्करी बढेको भन्दै प्रदेश सरकारले राजस्व मात्रै उठाएर नपुग्ने बताए। उनले प्रदेश सरकारले आवश्यक अनुगमन गरेर उत्खनन् र दोहन रोक्नुपर्ने बताउँदै आगामि आर्थिक वर्षमा लेटाङ, बेलबारीको चिसाङ खोला र केराबारीको खदम खोलाबाट खोलाजन्य वस्तु निकासीमा रोक लगाउनुपर्ने माग गरे।

यस्तै सांसद कूलप्रसाद साम्बाले मोरङको पूर्व-उत्तर क्षेत्र ढुंगा, बालुवा, वन र सुन तस्करीको हब बन्दै जाँदा सरकार रमिते बनेको भन्दै पशुपति शर्माको गीतमा जस्तै लुट भइरहेको दाबी गरे। ‘मोरङको पूर्वी-उत्तरी क्षेत्र ढुंगा, बालुवा, वन र सुन तस्करीको हब बनेको छ,’ साम्बाले भने, ‘तर, प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकार रमिते बनेको छ, मलाई त पशुपति शर्माले ठीकै गाएछन् कि जस्तो लागेको छ, लुट्न सके लुट कान्छा, नेकपाको सरकार लुट्न बनेको हो?’

सांसद वसन्त बानियाँले मेची नदी नियन्त्रणको काम नहुँदा त्यस खोला आसपासका जनता वर्षा लागेसँगै त्रसित भएको भन्दै उपर्युक्त कदम चाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराए। उनले भारतले दशगजा क्षेत्रमा सडक कालोपत्रे गरेर बाँध निर्माण गर्दा नेपाली भूमि जलमग्न हुने अवस्था आएको भन्दै सरकारले कुटनीतिक ढंगले समस्याको समाधानमा पहल गर्नुपर्ने, अनुगमन गर्नुपर्नेमा जोड दिए।

यस्तै, सांसद यशोदा अधिकारीले बाबुद्वारा छोरी बलात्कार हुने घटनाहरु बढेको भन्दै महिला माथि हुने यौन हिंसा अन्त्यका लागि प्रदेश सरकारले के कस्ता कार्यक्रम ल्याएको छ भन्दै जानकारी माग गरे। उनले प्रदेशमा संविधानले दिएको म्यान्डेटअनुसार प्रादेशिक महिला आयोग गठन गर्नुपर्ने र सोही अनुसारको कानून निर्माणमा ढिलाई भएको प्रति पनि असन्तुष्टि व्यक्त गरे।

यस्तै, सांसद राजकुमार ओझाले सडक १ नम्बर प्रदेशका ६ जिल्लामा लागू गर्ने भनिएको सडक सुशासनको कुरा कहाँ पुग्यो र के कसरी लागू भइरहेको छ भन्ने विषयमा जानकारी माग गरे।

सांसद होमकुमारी सावाले बाल शिक्षकले न्यूनतम पारिश्रमिक माग गर्दै गरेको आन्दोलन र धर्नाको विषयमा सरकारले चासो दिनुपर्ने बताइन्। उनले ताप्लेजुङका कतिपय स्थानमा असिना पानी परेर सर्वसाधरणका १ सय ८० घर परिवारको बालीनाली नष्ट गरेको, एउटा विद्यालय र ४ घर भत्किएको भन्दै प्रदेश सरकारले अनुभूति दिलाउने गरी राहत दिन माग गरिन्।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको विभिन्न बैठकमा शून्य समयमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए। सो क्रममा मन्त्री कार्कीले डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले संघीय सरकारसँग आवश्यक समन्वय गरिरहेको जानकारी दिए।

उनले पाँचथरको मिक्लाजुङमा भएको घटनापछि अशान्त बनेको जिल्लालाई शान्त बनाउने प्रयास भइरहेको बताए। उनले शान्ति सुरक्षा कायम गर्नका लागि प्रदेश प्रहरी कार्यालयबाट थप जनशक्ति थपिएको र बाहिर जिल्लामा दरबन्दी भएका सुरक्षाकर्मीलाई जिल्ला पठाइएको जानकारी दिए।

शून्य समयमा बोल्दै सांसदले डेंगु नियन्त्रणको पहल गर्नुपर्ने, धरान आसपासका क्षेत्रमा उपर्युक्त सतर्कता अपनाउनु पर्ने, वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको जंगल फडानी रोक्नु पर्ने, सरकारी जग्गा नीजि व्यक्तिहरुले कब्जा गर्ने र आफ्नो बनाउने क्रम तीब्र भइरहेको कारण त्यसलाई रोक्ने र फिर्ता ल्याउन पहल गर्नुपर्ने, कृषि उत्पादन वस्तुहरुको उचित भण्डारणको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.