|

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको बुधबार जारी खेलमा अष्ट्रेलियाले पाकिस्तानसामू ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इंगल्यान्डको टाउनटोन शहरमा चलिरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको साविक विजेता अष्ट्रेलिया ४९ औँ ओभरमा ३०७ रनमा अलआउट भएको थियो।

अष्ट्रेलियाले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गरेको थियो। ओपनर डेभिड वार्नरले शतकीय पारी खेले। १११ बलको सामना गरेका उनले ११ चौका र एक छक्काको मद्धतमा १०७ रन बनाए। कप्तान आरोन फिन्चले ८२ रन जोडे। २२ ओभरको पहिलो बलमा फिन्च मोहम्मद आमिरको बलमा आउट भएका थिए।

अष्ट्रेलियाले दोस्रो विकेटका रूपमा २८ ओभर ४ बलमा स्टेभेन स्मिथलाई गुमाएको थियो। स्मिथले व्यक्तिगत १० रन मात्र बनाउन सके। ४८ ओभरसम्म आइपुग्दा ८ विकेट गुमाइसकेको अष्ट्रेलियाले त्यहीँ ओभरमा बाँकी दुई विकेट गुमायो।

पाकिस्तानका मोहम्मद आमीरले अष्ट्रेलियाका पाँचजना ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए। शाहीन साह अफ्रिदीले २ विकेट लिएका थिए।

पाकिस्तान ३०८ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्दैछ। 

दुवै टोली आज जित निकाल्दै शीर्ष चारको होडमा आफूलाई कायम राख्ने दाउमा छन्। अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेको छ। ३ खेलमा १ जित, १ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.