|
File Photo

रसुवा : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा बुधबारदेखि कन्टेनर संचालन सुरु भएको छ। आलोपालो प्रणालीबाट नाकामा कन्टेनर संचालन गर्न पाउनुपर्ने लगायतका पाँच बुदे माग राख्दै आन्दोलित व्यवसायीसँग स्थानीय प्रशासनले सहमति गरेसँगै बुधबार दिउँसोबाट नाकामा कन्टेनर संचालनमा आएको हो।

आलोपालोबाट पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’बाट आवतजावत गराइने मौखिक सहमतिपछि बुधबार दिउँसोबाट नाकामा कन्टेनर संचालनमा आएको व्यवसायी पेम्बा तामाङले बताए। 'हामी व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी, प्रशासनसँग नाका व्यवस्थापन गर्ने विषयमा नाकामा सहज रुपमा संचालन गराउने सहमति भएसँगै बुधबार दिउँसो तिन बजेबाट कन्टेनर आवतजावत सुरु भएको छ' उनले भने।

सिन्डिकेट सबै पक्ष मिलेर हटाउने, नाकाको व्यवस्थापनमा सबै ट्रक कन्टेनर व्यवसायीले सहयोग गर्ने, नाकामा कन्टेनर पार्किङ र लाइन ब्यवस्थापनमा सघाउने, नाकामा देखिएका समस्याहरू सबै मिलेर हल गर्ने बन्द गर्ने गराउने कार्य नगर्ने, नाका ब्यवस्थापनका असहमत पक्ष बीच छलफल सम्वाद गर्ने मौखिक सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले बताए।

त्यस्तै नाकामा पहुँच नहुनेहरूलाई पहुँच पुग्ने गरि समान तरिकाले कन्टेनर संचालन गर्ने सहमति भएको समेत तामाङले बताए।

रसुवागढी नाकामा डायल तथा सिन्डिकेट प्रणाली लागू भएको भन्दै केही व्यवसायीले शनिबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेपछि प्रशासनले नाकामा कुनै पनि सिन्डिकेट नभएको जनाउँदै सहज रुपमा कन्टेनर आवतजावत गराउनका लागि भन्दै सोमबारदेखि पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली लागू गरेको थियो।

प्रशासनले सोहि प्रणाली लागू गरेसँगै सोमबार टिमुरेमा पत्रकार सम्मेलन गर्दै रसुवागढी नाका व्यवस्थापन समितिले व्यवसायीको नेतृत्वमा आलोपालो प्रणाली लागु गर्ने व्यवस्था हुनुपर्ने, मेसवालाले आफूहरूलाई आवस्यक गाडी टिमुरेबाट जिम्मा लिएर लाने र केरुङमा सामान नपाई महिनौसम्म बस्नुपर्ने गाडीवालाहरूको समस्या समाधान हुनुपर्ने, टिमुरेस्थित ट्राफिक जामको अन्त्य गर्न प्रणाली लागू गर्न दिनुपर्ने र गाडी तथा व्यावसायको सुरक्षा हुनुपर्ने लगायतका पाँचबुँदे माग राख्दै कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका थिए।

नाका व्यवस्थापनका लागि प्रशासन, रसुवागढी नाका व्यवस्थापन समिति र सीमित व्यावसायी तीनतिर बाँडिएपछि समस्या सिर्जना भएको थियो।

पुरानो प्रणालीका कारण लामो समयसम्म केरुङ बस्नुपर्ने, पार्किङ खर्च बढ्ने तथा बसाई खर्च बढ्ने, बाटो साँघुरो भएकाले पहिरोको जोखिम मोल्नु पर्ने तथा सवारी जाम बढेको व्यावसायीले बताएका छन् ।

व्यवसायिको नेतृत्वमा संचालन गरिएको आलोपालो प्रणालीमा ८ सय ३५ ओटा कन्टेर आवद्ध भएको नेपाल चेम्बर अफ कमर्स रसुवाका अध्यक्ष संजिब अमात्यले बताए। नाकालाई तस्करमुक्त बनाउनुपर्ने र व्यवस्थित बनाउनुपर्ने व्यावसायीहरुले बताएका छन्।

सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आयात निर्यात बढ्दै गएको छ भने रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै नाकामा चहलपहल बढेको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

विसं २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सयभन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेको छ। चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपूर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.